‘सनम माया ला’को’ भन्दै दयाह्याङको यस्तो नृत्य (भिडियो) काठमाण्डौ। २०७५ को जेठ १८ गतेलाई रिलीज तय गरिएको चलचित्र ‘भैरे’ को दोस्रो गीत सार्वजनिक भएको छ । यसअघि सार्वजनिक भएको ‘सान्नानीलाई भेट्न आउँदा’ बोलको गीतले चर्चा बटुल्दै गर्दा निर्माण टिमले मंगलवार राजधानीमा एक कार्यक्रमकाबीच दयाहाङ राई र सुरक्षा पन्त फिचरिङ ‘सनम माया ला’को’ गीत सार्वजनिक गर्यो ।एभरेष्ट सूर्य बोहराको शब्द रहेको गीतमा यम बरालले संगीत भरेका छन् । यम र अञ्जु पन्तको स्वर गीतमा सुन्न सकिन्छ । गीतले प्रेमभाव बोल्छ । भिडियोमा दया र सुरक्षाको केमेष्ट्री कमालको देखिएको छ । कोरियोग्राफर बसन्त श्रेष्ठले भेषभुषामा विशेष ध्यान दिएका छन् ।
गीत सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता दयाहाङले सन्चो नभएको अवस्थामा पनि ‘भैरे’ मा काम गरेको स्मरण गरे । उनी भन्छन्, ‘मलाई नाच्न भनेपछि ज्वरो आउँछ । तर यस गीतमा म आफैं देखिनु पर्ने भएका कारण आफ्नो तर्फबाट गर्न सक्ने प्रयास गरेको छु ।’ यस्तै, अभिनेत्री सुरक्षाले ‘सनम माया ला’को’ गीतमा दयाहाङभन्दा आफूले धेरै टेक खाएको अनुभव सुनाइन् । उनी भन्छिन्, ‘दया दाईसँग नाच्न पाउँदा म फुरुङ्ग थिएँ । यसैले पनि हुनुसक्छ नाच्दा खेरि म नभर्स पनि भएँ ।’
उनी थप्छिन्, ‘दया दाईलाई नाच्न आउँदैन भन्ने कुरा सबै गलत हो । मलाई बरु नाच्न गाह्रो भयो । दयाजीले राम्रो नाच्नुहुन्छ । उहाँ परफेक्ट हुनुभइसक्यो ।’ उनले यसो भन्दै गर्दा दयाले हाँसो रोक्न सकेनन् । एभरेष्ट सूर्य बोहराको लेखन र निर्देशन रहेको फिल्मको निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी छन् । पुरुषोत्तम प्रधानले ‘भैरे’ को सम्पूर्ण दृश्य खिचेका हुन् । करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत फिल्मका सह-निर्मातामा छन् । नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित तथा लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’ को सम्पादनको जिम्मेवारी बनिष शाहले सम्हालेका छन् । सूर्य थोकरको द्वन्द्व रहेको यस चलचित्रमा बुद्धि तामाङ, वर्षा सिवाकोटी, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय छ ।