टिनको टहरामा गाउँपालिकाको कार्यालय

१२ कोठे टहरामा अध्यक्ष उपाध्यक्षदेखि गाउँपालिकाका विभिन्न शाखाहरु कायम

दयाराम पण्डित, बझाङ । बाजुराको गौमुल गाउँपालिकाको कार्यालय टिनको खोकाबाट हालै नवनिर्मित टिनको टहरामा सरेको छ । स्थापनाकालदेखि टिनको खोकामा रहेको उक्त गाउँपालिकाले घटाल निम्नमाद्यामिक विद्यालयको जग्गा अधिग्रहण गरी टिनको टहरा बनाएर त्यसमा सरेको हो । करिब अठार लाख रुपैंयाको लगानीमा निर्माण गरिएको उक्त टहरा गौमुलका सबै जनताको बीच केन्द्रमा परेको गाउँपालिकका अध्यक्ष हरिबहादुर रोकायाले बताए ।


१२ कोठे टहरामा अध्यक्ष उपाध्यक्षदेखि गाउँपालिकाका विभिन्न शाखाहरु कायम गरिएका छन् । टिनको टहरामा राखिएका शाखाका महत्वपूर्ण कागतपत्र र औजार उपकरणहरुको जतन गर्न समस्या छ । तरपनि, केही नहुनु भन्दा त टहराबाट भएपनि काम चलाउनका लागि टिनको टहरामा कार्यालय सारेको कर्मचारीले बताएका छन् । ’सुरक्षाका दृष्टिकोणले टहरा संवेदनशील छ । यहाँ सञ्चार सुविधा पनि छैन ।“ अध्यक्ष रोकायाले भने । सदरमुकाम मार्तडी देखि १३ किलोमिटर टाढा गौमुल गाउँपालिकको कार्यालय छ । यहाँबाट गाउँ बस्तीमा पुग्न २०/ २५ कोष पैदल दूरी हिड्नु पर्छ । त्यसैले यसलाई चुनौतीको रुपमा लिएका छौं ।’

बाजुरा स्थानीय तह सञ्चालनमा गौमुल गाउँपालिकालाई एक प्रतिनिधिको रुपमा लिन सकिन्छ । तर, सिंह दरबारको अधिकार गाउँसम्म आएको भनिए पनि बाजुरामा त्यस्तो महसुस हुन नसकेको स्वयम् जनप्रतिनिधिले बताउने गरेका छन् । ’बाजुराका नौ वटै स्थानीय तहको अवस्था विकराल छ“, समन्वय समितिका संयोजक जंगबहादुर थापाले भने,’बडिमालिका नगरपालिकामात्रै आफ्नो भवनमा छ । बाँकीको अवस्था उस्तै छन् ।’
छेडेदह गाउँपालिकको कार्यालय पुरानो गाविस भवनमा छ । हेर्दा भैंसीगोठ जस्तो देखिन्छ । विगतमा खच्चड पडाउका रुपमा थियो । हाललाई पलाष्टिक टांगेर गाउँपालिकाको कार्यालय राखिएको छ । यसैगरी, बुढिगंगा नगरपालिकाको कार्यालय सारेदेउ स्थित ईलाका वनकार्यालयको घरमा काम चलाएको छ । त्रिवेणी नगरपालिको कार्यालय तोली स्थित चैत्रेसैनको दुईकोठे पुरानो घर भाडामा लिएर काम चलाउ रुपमा सेवा प्रवाह गरिरहेको छ ।

कोल्टी स्थित बुढिनन्दा नगरपालिको कार्यालय पनि कोल्टी खानेपानीको साईड अफिसमा काम त्यसैगरी चलाउ अवस्थामा रहेको छ । स्वामी कार्तिक गाउँपालिकाको कार्यालय वाई कप्साडी स्थित महिला अधिकार मञ्चको सानो भवनबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ । हिमाली गाउँपालिकाको कार्यालय धुलाचौर बोल्डीखमा टिनको खोकामा छ । त्यहाँ पनि न यातायात सुविधा, न टेलिफोन छ । न त नजिकमा सुरक्षा व्यवस्था । जगन्नाथ गाउँपािलका जुड्ढीमा टिनका खोका हालेर कार्यालय सञ्चालन गरिरहेको छ । बाजुराको नौ वटा स्थानीय तह समस्यै समस्यामा गुज्रिरहेको जनप्रतिनिधिले बताएका छन् । कार्यालयमा पर्याप्त कर्मचारी पनि आउन सकेका छैनन् । स्थानीय तहमा कर्मचारी जाने गरेको तर, बस्ने ठाउँ नपाएर जिल्लामै फर्कने गरेको जिसस संयोजक थापाले बताए । ’भौतिक संरचना नहुँदा स्थानीय तहकै बेहाल छ ।“ उनले भने ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार