हेटौँडा: दिनदिनै बलात्कारका घटना बढिरहेका यसले संसदमै प्रवेश पाएको छ । प्रदेश नं ३ को मंगलबार बसेको प्रदेश सभा बैठकमा बोल्ने सांसदहरुले बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने माग गरेका छन् ।
आजको बैठकमा विशेष समयमा बोल्दै नौजना सांसदले भूकम्पपीडितका समस्या, प्रदेश राजधानीको स्थान र नामकरणका विषयलाई समेत उठान गरेका थिए ।
नेपाली कांग्रेसका सांसद जीवना डंगोलले बालिका बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय दिन माग गरे । ‘बालिका बलात्कार जस्तो अमानवीय क्रियाकलाप गर्ने अपराधीलाई मृत्युदण्डको सजाय हुनुपर्छ’, उनले विशेष समयमा बोल्दै भने ।
डंगोलले नेपालमा पछिल्लो समयमा सांस्कृतिक विचलन बढेको भन्दै चिन्तासमेत व्यक्त गरे । उनले राजधानी तोक्ने विषयलाई समेत चाँडै टुंगो लगाउन आग्रह गरेका छन् ।
राप्रपाका सांसद रीता माझीले गाई काट्न हुन्छ भनी सञ्चार माध्यममा आएको विषयमा सदनको ध्यानाकर्षण गराइन् । माझी र नेपाली कांग्रेसका सांसद बलराम पौडेलले यस विषयमा उपसभामुख राधिका तामाङबाट जवाफको माग गरेका थिए ।