‘बान्नीकी चैतली’ मेलामा हजारौ दर्शक सहभागी – देउडामा रमाए विदेशी

– बसन्तप्रताप सिंह
बझाङ — सुदूर पश्चिमको प्रशिद्ध मेला बान्नीकी चैतलीमा हजारौं श्रदालु तथा दर्शनार्थीहरुले बान्नीको कांकर र बान्नी मष्टाको दर्शन गरेका छन् । पश्चिम नेपालकै विषिष्ठ परम्परा बोकेको यस मेलामा स्थानिय भेषभुषा र कला सस्कृतीको अवलोकन गर्नका विभिन्न जिल्लाका मानिसहरु चैतली पुगेका छन् ।

परापुर्वकालमा महिसासुर दानवले बान्नी मष्टा देवतासँग युद्ध गरी मष्टालाई पासोमा पारे पारेको र मष्टालाई दानवको पासोबाट मुक्त गर्नका लागि सुर्मा देवी प्रकट भै महिषाशुरको बध गरेको खुसियालीमा बान्नीकी चैतली मेला लाग्ने गरेको छ । चैत्र औसीको दिनबाट सुरु हुने यो मेला चैत्र शुक्ल पुर्णिमा सम्म लाग्ने गर्दछ । मेला सुरु भए पछि प्रत्येक रात मन्दिरमा बाजा बजाउने र मष्टाका करियाहरु चोखो निम्तो भएर ब्रत बस्ने गरेको बान्नी मष्टाका पुजारी देविराज पन्डितले बताए ।

सुर्मा देवीले भाला प्रहार गरी दानवको बध गरेको प्रतिकका रुपमा चैत्र औंसीका दिन काटेको कांकर (लिङ्गो) लाई चैत्र शुक्ल त्र्योदशीका दिन तोलेनी भन्ने खेतमा हिडाउने गरिन्छ । झण्डै ३० मिटरलामो कांकरलाई मानिसहरुले समाएर ३ सय मिटर जति हिडाउने गरिन्छ । यसरी हिडाएर ल्याएको कांकरलाई बान्नी मष्टाको मन्दिरमा चढाए पछि राक्षसको टाउकोको भकुन्डो बनाएर सुर्माले खेलेको सम्झनामा तल्लो छविस र मल्लो छविसका बासिन्दाहरुबीच भकुन्डो खेल्ने प्रचलन रहेको छ । यसरी काकंर हिडाएको र भकुन्डो खेलेको हेर्नका लागी बझाङ जिल्ला लगायत सुदूरपश्चिमका विभिन्न जिल्लाबाट हजारौं मानिसहरु कडेल गाउँपालिकाको बान्नी चौरमा आउने गर्दछन् ।

राक्षसलाई मारी सकेपछि सुर्मा देवीले पेटको छाला निकालेर दमाहा बनाएको र हातका औलाको नगरा (गजा) बनाइ विजय उत्सव मनाएको किवंदन्ती छ । चैतली मेला हेर्नकै लागी भनेर काठमाडौंबाट बझाङ आएका चिन्तन राज भण्डारीले आफुले कहिल्यै नदेखेको दृष्य चैतलीमा देखेको बताए । उनले भने ‘त्यति ठुलो रुखलाई मान्छेले समातेर हिडाएको आज सम्म देखेको थिएन । हेर्दा असाध्यै रमाइलो पनि लाग्यो । डर पनि लाग्यो ।’ बझाङको परम्परागत भेषभुषा पनि अद्धितिय खालको रहेको उनको भनाई छ । मेलाको अवसर पारेर आयोजना गरेको भलिबल प्रतियोगिता देउडा गीत प्रतियोगीता जस्ता कार्यक्रमले खेल क्षेत्रको विकास र स्थानिय संस्कृति प्रबर्द्धनमा पनि सहयोग पुगेको मेला क्षेत्र कडेलका वडाअध्यक्ष विकास अयडीले बताए । उनले मेलाको विशिष्ठतालाई देश विदेशमा प्रचार प्रसार गरेर पर्यटनको केन्द्र बनाउने उद्देश्य सहित वडापालिका र गाउँपालिकाले काम गरिरहेको जानकारी दिए ।

चैतली मेलामा देखिएको मानिसहरुको उल्लासपुर्ण सहभागीताले यहाँको संस्कृति प्रबर्द्धन हुने र पर्यटकहरुको आवागमन बढ्ने आफूहरुले आशा राखेको चैतली मेला व्यवस्थापन समितिका एक संयोजक नयन बोहराले बताए । यस वर्ष १५ हजार भन्दा बढी दर्शनार्थीले चैतली मेला हेरेको उनले बताए । मेला भर्नकै लागी दुर्गाथली र छविस पाथिभेरे गाउँपालिकाका सयौं मानिसहरु भारत लगायत विभिन्न देश र अन्य जिल्लबाट घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार