‘सिंहदरबारको मुख नताक्नुस, सिंह जस्तै गर्जेर काम गर्नुस’

– सुरेन्द्र काफ्ले
एक महिनामा वडासम्म कर्मचारी पुर्‍याउँछु: लालबाबु

काठमाडौँ: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले एक महिनाभित्र स्थानीय तहका सबै वडासम्म कर्मचारी पुर्‍याउने प्रतिवद्धता जनाएका छन् । प्रदेशदेखि स्थानीय तहसम्म कर्मचारी नपुगको गुनासो आइरहेका बेला मन्त्री पण्डितले एक महिना भित्र कुना कन्दराका वडासम्म कर्मचारी पुर्‍याउने प्रतिवद्धता जनाएका हुन् ।

गाउँपालिका राष्ट्रिय महासंघ, नेपालको राष्ट्रिय महाधिवेशन आएका स्थानीय तहका जनप्रतिनिधिलाई सम्बोधन गर्दै मन्त्री पण्डितले भने, ‘एक महिनाभित्र कुनै पनि कुना कन्दराका वडासम्म राष्ट्र सेवक मैले जसरी पनि पुर्‍याउँछु, काम गर्ने वातावरण बनाउने जिम्मा तपाईँ जनप्रतिनिधिको ।’

उनले मुलुकमा राजनीतिक संक्रमण सकिए पनि प्रशासनिक संक्रमणको अवस्था रहेको बताउँदै संरचना अनुसार कर्मचारी खटाउँदै जाने आश्वासन दिए । लालबाबुले सेवा करारमार्फत समेत स्थानीय तहलाई कर्मचारी राख्न पाउने व्यवस्था गर्न लागिएको जानकारी दिए ।

‘अहिले प्रकाशनिक संक्रमणकालिन अवस्था छ, यो बेला केही अठ्याराहरु छन्, तर यो सधैँ हुँदैन, ढुक्क हुनुहोस कर्मचारीले काम रोकिँदैन, स्थानीय तहलाई कमजोर पार्ने प्रयत्न पनि हुँदैन, तपाई सिंह जस्तो गर्जेर निर्णय गर्नुहोस, सिंहदरबार मुख ताक्ने काम छोड्नुस,’उनले भने, ‘शंका आशंका भुइँमा नै छोडिदिउँ, त्यसले विरामी बनाउँछ, तल दिएको अधिकार माथि ल्याइँदैन ।’

पण्डितले अहिले केन्द्रीकृत मानसिकता हराइनसकेको बताए । उनले स्थानीय तहका जनप्रतिनिधिलाई सेवा सुविधापछि नलाग्न समेत आग्रह गरे । ‘सुविधातिर अलि बढी केन्द्रीत भएजस्तो देखिएको छ’, उनले थपे, ‘तपाईँहरुले न्यूनतम् सेवासुविधामा लिँदा राम्रो हुन्छ ।’

स्थानीय तहका भवन निर्माणका लागि एक हप्ताभित्रै निर्णय हुने आश्वासन पनि पण्डितले दिए । ‘जहाँ भवन छैन, त्यहाँ निर्माणका लागि र भत्किएको ठाउँमा मर्मत गर्न एक हप्ता भित्र रकम उपलब्ध गराउने व्यवस्था गर्छौँ’, उनले भने ।

नजानेको राजीनामा

जनप्रतिनिधिको सेवा सुविधा एकरुपता समेत हुन नसक्ने बताए । उनले खटाएको ठाँउ नजाने कर्मचारीलाई राजीनामा दिएर जाने बाटो खुला रहेको बताए ।
मन्त्री पण्डितले नक्कली विदा लिएर कर्मचारी ठगिरहेको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिएका छन् । लाग्ने नलागेको रोग देखाएर कर्मचारीले विरामी विदा लिइरहेको समेत उनले बताए ।

‘ठगेर, ढाँटेर विदा लिएको पाइएमा सह्य हुँदैन, खटाएको ठाउँ नगएर नक्कली विदा लिएको समेत मैले थाहा पाएको छु’, उनले भने, ‘यदि जागिर खान मन छैन भने सरकारले पिजँडामा राख्दैन, निजामती सेवाले त्यसको लागि बाटो खुला गरिदिएको छ, आफुलाई रोगी देखाएर देखलाई ठग्न पाइँदैन । ’

उनले खटाएका ठाउँमा नगएर एक प्रथम श्रेणीका अधिकृतले विरामी विदा लिइ तीन महिनादेखि आईएनजीओमा काम गरिरहेको पाइएको जानकारी दिए । ‘कस्तो दुखद घटना, प्रथम श्रेणीको अधिकृतले पनि खटाएको ठाउँमा नगएर आईएनजीओमा काम गरेका रहेछन्’, उनले भने, ‘मैले थाहा पाएँ, कसले त्यो कुरा उनलाई सुइँको दिएछ, हतार हतार विदा स्वीकृत गराएछन् ।’

मन्त्री पण्डितले काजकिरिया विदा बाहेक अरु कुनै पनि बिदा स्वीकृत नगरिने बताए । विदा स्वीकृत गर्ने वा खटाएर ठाउँ नगएका कर्मचारीलाई हाजिर गराउने कार्यालय प्रमुखलाई समेत कारबाही गर्ने लालबाबुले चेतावनी दिए ।

खटाएको ठाउँ नजानेलाई हाजिर नगराउन र विदा स्वीकृत नगर्न प्रत्येक कार्यालयमा लिखित परिपत्र समेत गरिएको उनले जानकारी दिए । खटिएको ठाउँ नगएर सुविधाको कुरा गर्नेको सुनुवाई नहुने पनि उनले स्पष्ट पारे । ‘मेवा लिन सबैभन्दा पहिला, सेवा दिन चाहिँ पछाडि ? अब त्यो कुनै हालतमा सह्य हुदैँन’, उनले भने, काम भन्दा पहिला सुविधाको कुरै हुँदैन’, पण्डितले भने ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार