मुख्यमन्त्री र धुर्मुस भेटिए एकै साथ – क्रिकेट स्टेडियमको जग्गा खोज्दै पुगे चाँगुनारायण

जग्गा हेर्न चाँगुनारायण पुगेका मुख्यमन्त्री र धुर्मुस । तस्बिर: अनुप पौडेल

चाँगुनारायणमा भेटियो १२४ रोपनी
काठमाडौं : अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउनका लागि प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल र कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेलले जग्गा खोजी अभियान तीब्र पारेका छन् ।

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ नेतृत्वको धुर्मुस-सुन्तली फाउन्डेसनले अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन पहल थालेलगत्तै प्रदेश ३ का मुख्यमन्त्री पनि जग्गा खोजी अभियानमा जुटेका हुन् ।

क्रिकेटमा एक दिवसीय मान्यता पाएपछि अन्तर्राष्ट्रियस्तरको स्टेडियम निर्माणका लागि प्रदेश नम्बर ३ का पौडेल र धुर्मुस-सुन्तली पाउण्डेसनले जग्गा खोजी अभियान सुरु गरेका हुन् ।

यो टोलीले शनिबार भक्तपुरको चाँगुनारायण नगरपालिका-४ स्थित पहेनडोलमा एक सय २४ रोपनी जग्गाको अवलोकन गरेको मुख्यमन्त्री पौडेलका स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए ।

यो जग्गामा अन्तर्राष्ट्रियस्तरको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट स्टेडियम निर्माणको सम्भाव्यता टोलीले अध्ययन गरेको हो । जग्गा अवलोकनपछि मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले अन्तराष्ट्रियस्तरको स्टेडियम बनाउन फाउण्डेसनसँग सहकार्य गर्ने बताए ।

‘नेपाली क्रिकेटको विकासका लागि क्रिकेट स्टेडियम कोशेढुंगो हुनेछ’, उनले भने, ‘अब यसको थालनी भएको छ, हामी निर्माण गरेरै छाड्छौँ ।’

जग्गा हेरेपछि फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले सबै नेपाली खेलप्रेमीका लागि स्टेडियम निर्माण जरुरी भइसकेकाले चुनौतीपूर्ण भए पनि आफूहरुले यसमा हात हालेको बताए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार