कलाकारलाई ओलीको सुझाव : कथाले मागे जस्तो होइन, देशले मागे जस्तो अभिनय गर्नुहोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारलाई देशले मागे जस्तो अभिनय गर्नुपर्ने बताएका छन्। नेपाल चलचित्र कलाकार संघले आयोजना गरेको फान अवार्ड २०७३ वितरण समारोहमा शुक्रबार प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।


प्रधानमन्त्री ओलीले चलचित्र क्षेत्रमा धेरै चर्चा हुने गरेको भनाइ ‘कथाले मागे जस्तो’ लाई अब कथाले होइन देश र समयले माग जस्तो भूमिकामा बदल्नु पर्ने बताएका हुन्।

प्रधानमन्त्री ओलीले देशले मागे जस्तो फिल्म बनाउन कलाकारलाई आग्रह गरे। ‘देश र समयले मागे अनुसार कथा बनाउनुहोस, कथाले मागे जस्तो अभिनय गर्नुहोस्’, प्रधानमन्त्री ओलीले भने, ‘कलाकारले मागे जस्तो सरकारले गच्छे अनुसार सहयोग गर्छ।’

चलचित्र निर्माणको लागि नेपाल उत्तम ठाउँ भएको भन्दै प्रधानमन्त्री ओलीले आफ्नो यहाँको प्राकृतिक सुन्दरतालाई छायांकन गरेर विश्वभर फैलाउनु पर्ने बताए।

प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणका क्रममा त्यहाँका कलाकारसँग आफूले पनि अन्तरक्रिया गर्ने बताए। केही समय पछि नै भारतका कलाकारलाई नेपाल मै बोलाएर यहाँका कलाकारसँग अन्तरक्रिया गराउने आफ्नो योजना रहेको ओलीले जानकारी गराए। कार्यक्रममा प्रधानमन्त्री ओलीले एक लाख रुपैयाँ राशीको फान अवार्ड २०७३ वरिष्ठ कलाकार निर शाहलाई प्रदान गरे।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार