लिस्बोन । ११ बर्षअघि अनलाइन मिडियाको रूपमा स्थापित नेपाल ब्रिटेन डट कम बाट अध्यक्ष चिरञ्जीवी ढकालसहित सम्पुर्ण ब्यबस्थापन पक्षले हिजो मार्च २९ तारिखबाट सामुहिकरूपमा उक्त अनलाइन परित्याग गरेका छन् । नेपाल ब्रिटेन डट कमका अघोषित प्रधान सम्पादक देबराज शर्मा (चिरन) लाई अध्यक्ष ढकालले एक पत्र लेखी अब उप्रान्त उक्त अनलाइन सग आफुहरुको कुनै संलग्नता र आबद्धता नरहेको जानकारी गराएका हुन् ।
सामुहिक भावनाका साथ चल्ने प्रतिबद्धता र अठोट पुरा नभएपछि आफुहरुले अलग्गिने निर्णय लिएको पत्रमा उल्लेख छ । नेपालमा दिनुपर्ने तलब बापतको साठी हजारपनि आफुहरुले नै भुक्तानी गरिदिने भनी अध्यक्ष ढकाले जानकारी गराएका छन् ।
शर्मा एक्लिए
नेपाल ब्रिटेन डट कम को वेबसाईटमा कतै आफ्नो नाम नलेखे पनि प्रधान सम्पादकको भूमिका निर्वाह गरिरहेका र सो अनलाइनका हर्ताकर्ता चिरन शर्मा सम्पुर्ण ब्यबस्थापन समूह अलग्गिएपछि एक्लो परेका छन् । स्थापनाकालदेखि नै आबद्ध रहेको ब्यबस्थापन पक्षको परित्यागसंगै सो अनलाइनको भविष्य पनि अन्योलग्रस्त हुन पुगेको देखिन्छ ।
शर्माले श्रोत र बिश्वासनीय आधार बिना नै समाचारहरु प्रकाशित गर्ने, एकलौटी रूपमा अनलाइनको दुरुपयोग गर्दै आफ्नो स्वार्थमा मात्र उपयोग गर्ने , बारम्बार बिबादास्पद तथा समाज भाड्ने कुराहरू मात्र प्रकाशित गर्ने जस्ता पत्रकारकारिताको मर्यादा बिपरित हर्कतले ब्यबस्थापन समुहका अध्यक्ष चिरञ्जीवी ढकाल, बोर्ड डाइरेक्टरहरु एनआरएनए अन्तर्राष्ट्रिय परिषदका उपाध्यक्ष कुल आचार्य, एनआरएनए अन्तर्राष्ट्रिय परिषदका पुर्व सल्लाहकार बिश्व आदर्श पन्डित, भण्डारी ब्रदर्श ग्रुपका कमल भण्डारी र किशोर सापकोटाले सामुहिकरूपमा परित्याग गरेको अध्यक्ष ढकालले शर्मालाई लेखेको पत्रमा जनाएका छन् ।
ब्यबस्थापन पक्षको परित्यागले चिरन शर्माले एकलौटी रूपमा जुलाई १५ का लागि घोषणा गरेको सो अनलाइनको ११ औं बार्षिकोत्सव पनि अनिश्चित भएको छ ।