नृत्यसम्बन्धी अन्तर्राष्ट्रिय स्तरको ‘डान्स रियालिटी सो बुगीवुगी’ एपी वान टेलिभिनजबाट बिहीबारबाट प्रसारण सुरु भएको छ। बुगीवुगीको निर्णायकमा अहिलेकी व्यस्त अभिनेत्री प्रियंका कार्की, अभिनेता एवं कुशल नृत्यकार दिलीप रायमाझी र अर्का नृत्य निर्देशक कविराज गहतराज छन्। ‘नेपालको पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज सिंगिङ रियालिटी सो नेपाल आइडलको सफलतापछि अर्को अन्तर्राष्ट्रिय फ्रेन्चाइज डान्स रियालिटी सो बुगीवुगी सुरु गर्न लागेका हौं’, एपी वानले जनाएको छ।
चैत १५ गते बिहीबार बेलुकी ८ बजे प्रिमियर भएको बुगीवुगीको पहिलो भागमा देशभरबाट छानिएर आएका हजारौं सहभागीबाट अडिसनमा उत्कृष्ट सय प्रतिस्पर्धी प्रस्तुत हुँदैछन्। अब सयबाट उत्कृष्ट भएका १८ प्रतिस्पर्धीले आफ्नो नृत्यकला प्रस्तुत गर्नेछन्। बुगीवुगीको निर्देशन एलिन श्रेष्ठले गर्दैछन्। बुगीवुगीको नेपाली संस्करणका विजेताले कार, १५ लाख नगद तथा विभिन्न कन्ट्र्याक्ट पुरस्कारस्वरूप प्राप्त गर्नेछन्।