शिव भण्डारी /लन्डन
अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) को आयोजनामा युरोप स्तरीय नृत्य तथा गायन प्रतियोगिता बेलायतमा हुने भएको छ । आगामी अप्रिल २२ तारिखमा लण्डनमा प्रतियोगता हुन लागेको हो । ईनासले छैठौं यूरोप महादेशस्तरीय एकल नेपाली नृत्य प्रतियोगिता एवं तेश्रो इनास यूरोप महादेशस्तरीय एकल नेपाली गायन प्रतियोगिता गर्न लागेको हो। साथै छैठौं यूरोप क्षेत्रीय बैठकको पनि आयोजना गर्ने भएको छ ।
युरोपमा प्रतिभा प्रस्फुटनका लागि चर्चित बन्दै गएको ईनासको कार्यक्रममा कलाकारहरुले बिभिन्न देशहरुबाट सहभागिता जनाउने भएका छन्। स्विट्जरल्याण्ड, जर्मनी, स्पेन, लक्जेम्बर्ग, पोल्याण्ड, ईटाली, बेलायत, फिनल्याण्ड, फ्रान्स, बेल्जियम, डेनमार्क, नेदरल्यान्ड्स, पोर्चुगल, चेक रिपब्लिक जस्ता युरोपियन मुलुकहरुबाट नेपाली कलाकारहरुले भाग लिने भएका हुन्।
नृत्य प्रतियोगितामा लोक, झ्याउरे, टप्पा, मारुनी, सोरठी, चुट्का, देउडा, हुट्क्यौली आदि लगायतका नेपालका सबै लोक नाचहरु तथा मन्जुश्री, कुमारी, भैरव, साकेला, घाटु लगायतका परम्परागत लोक नाच तथा लोक भाकामा बनाइएका नेपाली चलचित्रका लोक गीतहरु ईत्यादि र आधुनिक नेपाली पप, आधुनिक, ज्याज, ब्रेक र रिमिक्स जस्ता आधुनिक गीतहरु गरि दूई ओटा फरक विधाका गीतहरुमा नृत्य प्रस्तुत गर्नेछन।
प्रतियोगितामा बिजेता कलाकारलाई इनास युरोप महादेशको लागि एक वर्षे कार्यकाल रहने गरि इनासको अवैतनिक मानार्थ सदभावना दूत नियुक्त गरिनुका साथै “इनास युरोप नेपाली डानसिङ्ग स्टार र सिङ्गिङ स्टार २०१८” को उपाधि सहित ७ सय १ युरो नगद पुरस्कार ट्रफी र प्रमाणपत्र प्रदान गर्ने आयोजकले जनाएको छ।
त्यस्तै, दुवै विधा तर्फको उपबिजेता र तेस्रो हुनेले क्रमश ५ सय र ३ सय युरो सहित पुरस्कृत हुने भएका छन्। आयोजकका अनुसार प्रतियोगितामा १३ बर्षभन्दा माथि उमेर समूहकाले मात्र प्रतियोगितामा भाग लिने पाउनेछन्।