अष्ट्रेलिया — पश्चिम अष्ट्रेलियामा यही मार्च ३१ तारिखमा हुन लागेको नेपाल महोत्सवको तयारी पूरा भएको छ । नेपाली पर्यटन र कलासंस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको हो ।
प्रवासी नेपालीहरुको संगठन एनआरएन पश्चिम अष्ट्रेलियाले पर्थमा दोस्रो पटक नेपाल महोत्सवको आयोजना गर्न लागेको हो । नेपालको कलासंस्कृती, परम्परा र पर्यटनको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सवकाे अायाेजना गर्न लागिएकाे आयोजक संस्थाका अध्यक्ष तथा महोत्सव संयोजक दीपक शर्माले जानकारी दिए । शर्माका अनुसार महोत्सवको सांगीतिक आकर्षणका रुपमा नेपाली ब्याण्ड कुटुम्बको प्रस्तुति रहनेछ ।
‘एक देश–कथा अनेक’ नारा दिएर आयोजना हुन गइरहेको महोत्सवमा अष्ट्रेलियाका विभिन्न्न राज्यबाट नेपालीहरुले सहभागिता जनाउनेछन् भने पश्चिम अष्ट्रेलियाका राजनैतिक दलका मन्त्री, विपक्षी दलका नेता तथा सांसदहरुको समेत सहभागिता रहनेछ । पर्थको मुख्य क्षेत्र एलिजाबेथ क्यूमा आयोजना हुने कार्यक्रममा विदेशीहरुले समेत उल्लेख्य रुपमा सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ ।
महोत्सवमा नेपाली राष्ट्रिय पोशाक र झाँकी सहितको नेपाल परेडको समेत आयोजना हुनेछ । कार्यक्रमस्थलमा नेपालको झल्को दिने उद्देश्यले नेपाल हाउसको समेत आयोजना हुनेछ ।
महोत्सवमा करिब डेढ दर्जन नेपाली खानेकुराहरुका साथै व्यवसाय र पर्यटकीय जानकारी दिने विभिन्न स्टलहरु राखिने व्यवस्थापनको संयोजन गरिरहेका राज थपलियाले जानकारी दिए । उनले महोत्सवको अवलोकन गर्न आउने विदेशीहरुलाई मध्यनजर राखेर पर्यटकीय क्षेत्र, नेपाली हस्तकलाको जानकारी दिनका लागि एनआरएनले अलग स्टलको ब्यवस्था गर्ने बताए ।