लण्डन । बेलायतबाट वर्षेनी आयोजना गरिने बडिबिल्डिङ (शारीरिक सुगठन) प्रतियोगिताको छैटौं संस्करण आगामी मे १२ मा हुने भएको छ ।
युनाइटेड किंगडम नेपाल फेडरेसन अफ बडिबिल्डिङ एण्ड फिटनेस (युकेएनएफबीएफ) ले स्यामुएलकोडी स्पोर्ट कलेज फार्नबारो, जीयू११/८ एसएसमा प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा मेन्स बडिबिल्डिङ, बिकिनी फिट्नेस, मेन्स फिजिक र ४० वर्षमाथिकाको लागि मेन्स मास्टर प्रतियोगिता हुने युकेएनएफबीएफका अध्यक्ष किशोर गुरुङले जानकारी दिए । प्रतियोगितामा भीआईपी टिकट २५ पाउण्डको रहेको छ भने सामान्य टिकट १० पाउण्डको रहेको छ ।
प्रतियोगितामा विजेताका लागि पुरस्कारको स्पोन्सर पनि भइसकेको गुरुङले जानकारी दिए । प्रतियोगितामा पहिलो हुनेले १ हजार पाउण्ड, दोस्रोले ५ सय, तेस्रोले ३ सय पाउण्ड पाउनेछ भने मेन्स मास्टरका विजेताले ३ सय पाउण्ड पाउनेछन् । ती सबैको प्रायोजन भइसकेको छ ।
प्रतियोगितामा सहभागीले अप्रिल २१ सम्म नाम दर्ता गर्न सक्नेछन् । २०१३ देखि सुरु भएको प्रतियोगिताले वर्षेनि राम्रो सफलता प्राप्त गर्दै आएको छ । प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ ।
कार्यक्रममा सुपर मोडल अनिता लिम्बूको नृत्य र गायक सुदन गुरुङले सांगीतिक प्रस्तुति दिने कार्यक्रम छ ।