काठमाडौं : काठमाडौंको फर्पिङमा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। फर्पिङ बस सेवा समितिको बा २ ख ९९९९ नम्बरको बस दक्षिणकाली नगरपालिकाबाट रत्नपार्क आउँदै थियो।
दक्षिणकाली नगरपालिका वडा नम्बर ३ स्थित भन्ज्याङमा बस पल्टिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले जानकारी दिए। दुर्घटनामा दक्षिणकाली नगरपालिका ५ की ४२ वर्षीय मञ्जु बस्नेत र वडा नम्बर ३ का २५ वर्षीय सुनिल श्रेष्ठको घटनास्थलमै ज्यान गएको हो।
दुर्घटनामा ३२ जना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय फर्पिङले जनाएको छ।* ती मध्ये २ जना जना गम्भीर घाइते भएका छन्। एकजनाको स्थिति चिन्ताजनक छ। दुर्घटनामा परेकाहरू अधिकांश दक्षिणकाली नगरपालिकाका बासिन्दा छन्। कतिपय दक्षिणकाली मन्दिर दर्शन गरेर फर्कनेहरू पनि छन्।
घाइतेहरूको मनमोहन सामुदायिक अस्पताल, बयोधा अस्पताल, स्टार अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि लगिएको नगर प्रमुख बस्नेतले जानकारी दिए। २० जनाको मनमोहन सामुदायिक अस्ताल फर्पिङमा उपचार भइरहेको छ। चार जनालाई वयोधा लगिएको छ।
‘बस सडकमै पल्टिएको रहेछ। दुर्घटना नै नहुने खालको सडकमा बस के कारणले पल्टियो प्रहरीले अनुसन्धान गर्दैछ’, उनले भने।
* यसअघि प्रहरीले दिएको विवरणअनुसारको समाचार पछिल्लो प्रहरी विवरणअनुसार अपडेट गरिएको। यसअघि प्रहरीले ३५ भन्दा बढी घाइते भएको भनेको थियो। तर दुर्घटनामा कुल ३२ घाइते रहेको र दुईजनाको मृत्यु भएको पछिल्लो विवरणमा छ।