सोमबार जेलबाट छुट्दै गरेका गधा
एएनआइ
भारतको उत्तर प्रदेशस्थित जलावन जिल्लामा बिरुवा खाइदिएको अभियोगमा ८ ओटा गधालाई ४ दिनसम्म जेलमा थुनिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सुरु गरेको स्वच्छ भारत अभियानका क्रममा ती बिरुवा रोपिएका थिए।
ओराइ जेलमा बन्द भएको चार दिनमा भारतीय जनता पार्टीका एक स्थानीय नेताको हस्तक्षेपपछि ती गधा मुक्त भएका छन्।
‘यी गधाहरुले करिब ६० हजार रुपैँया पर्ने महंगा बिरुवा खाइदिए। बारम्बार चेतावनी दिँदा पनि यिनीहरुका मालिक कमलेशले यिनीहरुलाई खुला छोडिदिने गर्छ। नोभेम्बर २४ मा वरिष्ठ अधिकारीहरुको निर्देशनमा यिनीहरुलाई जेल हालेका हौँ,’ ओराइ जेलका हवल्दार आरके मिश्राले भनेका छन्।
गधा हराएपछि कमलेश खोज्दै जेलका अधिकारीसमक्ष पुगेका थिए। उनले जेलका निरीक्षक सीताराम शर्मालाई गधा छोडिदिन बिन्ती गरेका थिए। तर पछि आउन भन्दै उनलाई फिर्ता पठाइएको थियो।
आफ्नो गुहार जेलका अधिकारीहरुले नसुनेपछि कमलेस भाजपाका नेताहरुसँग सहयोग माग्न पुगेका थिए। भाजपा नेताले कमलेशको आग्रहमा जेल पुगेर गधा छुटाइदिएका थिए।
‘गधालाई गिरफ्तार गर्ने कुनै कानुन छैन। तर तिनका मालिकलाई पाठ सिकाउन गधालाई चार दिन थुनामा राखेका हौँ,’ ओराइ जेलका निरीक्षक सीताराम शर्माले भने, ‘सोमबार पनि आइन्दा गधालाई खुला नछोड्ने कागज गरेपछि मात्रै हामीले कमलेशलाई गधा लैजान दिएका हौँ।’ एजेन्सी