पहिलो चरण अन्तर्गत आइतबार ३२ जिल्लामा प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ सिटमा मतदान सम्पन्न भएको छ । मतदान सामान्यतः शान्तिपूर्णरुपमा सम्पन्न भए पनि केही ठाउँमा चाहिँ गठबडी र तमासाहरु देख्न पाइयो ।पहिलो चरणअन्तर्गत ४४६५ मतदान केन्द्राबाट छिटफुट घटनाहरु भए । मतदानका क्रममा केही ठाउँमा मतपत्र जलाइयो भने केही ठाउँमा बामपन्थी र कांग्रेस कार्यकर्ताहरुको झडपबीच चुनाव सम्पन्न भयो ।चुनावका क्रममा केही ठाउँमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले मतदाता तर्साउन बम बिस्फोट गराएका छन् । हामीले यहाँ ८ वटा घटना संश्लेषण गरेका छौंः
१. रुकुमका दुई केन्द्रमा चुुनाव स्थगित
प्रदेश नं. ६ को पश्चिम रुकुमको बाफिकोट गाउँपालिकाको काँडास्थित रत्न आधारभूत विद्यालयको (क) केन्द्रको चुनाव स्थगित भएको छ ।प्रयत्क्षतर्फका २५० मतपत्र अज्ञात व्यक्तिहरुले जलाइदिएपछि प्रतिनिधिसभाको प्रत्यक्षतर्फको चुनाव स्थगित गरिएको हो । स्थगित भएको चुनाव अब दोस्रोचरणको चुनावसँगै यही मंसिर २१ गते हुने भएको छ ।
विप्लवको कार्यकर्ताहरुले मतपत्र जलाएको शंका गरिए पनि उनीहरुको पहिचान भने भएको छैनन् । घटनामा संलग्न भएको आशंकामा प्रहरीले तीनजनालाई सोधपुछ गरी छोडिदिएको छ ।यस्तै रुकुमको आठवीससकोट नगरपालिका-११ को नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा एजेन्ट बसेका व्यक्तिले नै समानुपातिकतर्फको मतपेटिकामा एसिड खन्याए पनि त्यहाँ पनि समानुपातिकतर्फको चुनाव स्थगित भएको छ ।स्थगित भएको चुनाव कहिले गर्ने भन्ने निर्णय नभएको प्रमुख जिल्ला अधिकारी वंशिकुमार आचार्यले बताए ।
२. बुथ कब्जा गर्ने प्रयास
यसपटक पनि केही ठाउँमा बुथ कब्जा गर्ने प्रयास भयो । कांग्रेस-राप्रपाको लोकतान्त्रिक गठबन्धनले धादिङको खनियावास गाउँपालिका-४ झार्लाङमा रहेको मतदान केन्द्र कब्जा गर्ने प्रयास गर्यो ।कांग्रेस र राप्रपाका कायृकर्ताहरुले विहान वामपन्थी समर्थित व्यक्तिहरुलाई केन्द्रमा प्रवेश गर्न नदिएपनि मतदान हुन सकेको थिएन । उनीहरुले ढुङगा मुढा प्रहार गरेका थिए ।थप सुरक्षाकर्मी परिचालन गरी त्यहाँ केही ढिलो गरी मतदान सुरु गरिएको थियो ।सधै बुथ कब्जा हुने दोलखामा पनि यसपटक पनि प्रयास भएको थियो । तर, सुरक्षाकर्मीले असफल बनाइदिएको छ ।नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दन काफ्लेको नेतृत्वमा बाहिरबाट गएको समूहले दोलखाको तामाकोशी गाउँपालिका जफेमा रहेको जामुने बुथ कब्जा गर्ने प्रयास गरेको थियो ।
३. एजेन्टले मतपेटिकामा एसिड खन्याए
पश्चिम रुकुमको आठवीसकोट नगरपालिका-११ स्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयको -ख) मतदान केन्द्रमा एक जना एजेण्टले नै समानुपातिकतर्फको मतपेटिकामा एसिड खन्याइदिए ।कांग्रेसका तर्फबाट एजेन्ट बसेका सोही नगरपालिका वडा नं. ११ का केशव खड्काले एसिड खन्याएको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको छ ।खड्काले मतपेटिकामा एसिड खन्याएर भागेपछि नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायरसमेत गरेको थियो । आठबीसकोटकै नगरपालिका ३ मा रहेको अर्काे मतदान केन्द्रमा पनि एकजना महिलाले मतपेटिकामा पहिचान हुन नसकेको रसायन पदार्थ खन्याएकी छन् । उनलाई प्रहरीले पक्राउ गरेको छ ।
४. रोल्पामा करिब दर्जन ठाउँमा बम
मतदान सुरु हुनुअगावै रोल्पाका विभिन्न मतदान केन्द्र र स्थानहरुमा अज्ञात व्यक्तिले बम राखेर मतदाता आतंकित बनाउने प्रयार गरेका थिए । तर, बम विस्फोट भएर यहाँ पनि कुने अपि्रय घटना हुन पाएन ।जिल्लाका थवाङसँगै दुम्ला, सेरम, इरिवाङ घोडागाउँ लगायतका ठाउँमा अज्ञात समूहले बम विस्फोट गराएको थियो ।यहाँ माओवादी केन्द्रका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुन, निवर्तमान सभामुख ओनसरी घर्ती मगर लगायतलाई लक्षित गरी बम विस्फोट गराइएको थियो ।
अज्ञात व्यक्ति र समूहले मतदाता तर्साउने प्रयासगरे पनि मतदाताहरुको उत्साहपूर्वक उपस्थितिमा रोल्पामा पनि मतदान सम्पन्न भएको छ ।रोल्पामा चुनावको मिति नजिकिँदै गर्दा सुरुदेखि नै बम बिस्फोटका घटनाहरु भइरहेका थिए । त्यो क्रम मतदानको दिन आज पनि जारी रहृयो ।
५. सिन्धुपाल्चोकमा झडप, प्रहरीद्वारा हवाई फायर
सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. १ का विभिन्न दुईवटा मतदान केन्द्रमा झडपकावीच मतदान सम्पन्न भएको छ । स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले हवाई फायरसम्म गर्नुपर्यो । झडपमा केही कार्यकर्ताहरु घाइते भएका छन् ।सुनकोशी गाउँपालिकाको देउराली प्राथमिक विद्यालयको मतदान केन्द्रमा वामपन्थी र कांग्रेस कार्यकर्ताहरुवीच झपड भएको थियो ।यस्तै क्षेत्र नं. १ कै बलेफी गाउँपालिकाको माखास्थित कालिकादेवी प्राविको केन्द्रमा पनि वामपन्थी र कांग्रेस कार्यकर्ताहरुवीच झडप भएको यभो । यहाँ पनि प्रहरीले हवाई फायर गर्नुपरेको थियो ।झडपमा वडा सदस्य लक्ष्मण अधिकारी घाइते भएका छन् ।
६. थवाङमा ‘नो भोट’को अपील अस्वीकार
दोस्रो संविधानसभाको चुनावमा शून्य भोट गरेर चर्चामा आएको थवाङका मतदाताले यसपटक मतदान गरेका छन् ।चुनाव नजिकिएका बेला नेकपाका महासचिव विप्लवले थवाङमै पुगेर ‘नो भोट’ को अपील गरेता पनि थवाङका मतदाताले विहानै मतदान केन्द्रमा पुगेर मतदान गरेको निर्वाचन कार्यालय रोल्पाले जनाएको छ ।थवाङमा मतदातालाई तर्साउन बिहानै-बिहानै विभिन्न ठाउँमा बम बिस्फोट गराइएको थियो । बम बिस्फोट गराएर आतंकित पार्ने प्रयास भए पनि यसपटक थवाङवासीले विप्लवको ‘नो भोट’ अपील अस्वीकार गरिदिए ।स्थानीय तहको चुनावमा भने थवाङमा विप्लवका तर्फबाट पनि स्वतन्त्र उम्मेदवारी दिइएको थियो । तर, पराजित भएका थिए ।
७. थवाङको स्थान तिङलाले लियो
नो भोटबाट चर्चामा आएको रोल्पाको थवाङमा यसपटक मतदान भयो । तर, स्थानीय तहको चुनावदेखि मतदान अस्वीकार गरेको सोलुखुम्बुको तिङलामा भने यो चुनावमा पनि मतदान शून्य रहृयो ।स्थानीय तहको पुनरसंरचनाबाट असन्तुष्ट बनेका तिङलावासीले यसपटक मतदान गरेनन् । साविकको तिङ्ला गाविसमा यसपटक पाँच वटा मतदान केन्द्र राखिएको थियो । तिङलावासीको संयुक्त निर्णय अनुसार शून्य मतदान गरिएको हो ।
८. डोल्पाका मतदान केन्द्र दिनभर सम्पर्कविहीन
डोल्पाका केही मतदान केन्द्रहरु मतदान सम्पन्न भइसक्दा समेत सम्पर्कविहीन भए ।उपल्लो डोल्पाका शे-फोक्सुन्डो, डोल्पो बुद्ध र छार्काताङसोङ गाउँपालिका अन्तर्गतका केही मतदान केन्द्रहरुमा ५० प्रतिशत मतदान भएपछि सम्पर्कमा आए ।
शे-फोक्सुन्डोका याङजेर गुम्बा, फोद गाउँ, कु गाउँ केन्द्र र डोल्पो बुद्धको पुरानो कलाङ, छार्काताङसोङ गाउँपालिकामा पर्ने सप्तकोशी, कागकोट र घेराङ मतदान केन्द्रमा सम्पर्क हुन नसकेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।यसमध्ये कलाङ, घेराङ र फोद गाउँ केन्द्र मतदान सम्पन्न भएपछि मात्रै सम्पर्कमा आएको थियो । फोदमा जम्मा २३ मतदाता मात्रै रहेका थिए ।