काठमाडौं । गत १५ कात्तिकमा अत्याधुनिक पेस्तोल र एक झोला गोलीसहित पक्राउ परेका दुई भारतीय नागरिकमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । पक्राउ परेलगत्तै प्रहरीले उनीहरु कसैलाई गोली हान्न आएका ‘सार्पसुटर’ भएको बताएको थियो । तर, बिस्तृत अनुसन्धानका क्रममा अर्कै तथ्य खुलेको छ ।
पक्राउ परेकामध्ये एक जना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टीका स्थानीय स्तरको नेता भएको खुलेको छ । पक्राउ परेका जसवन्त सिंह भाजपाका स्थानीय नेता भएको अनुसन्धानमा खुलेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंले जसवन्त र उनका साथी देवेन्द्र सिंहलाई हिरासतमा राखी अनुसन्धान गरिरहेको छ ।
बिस्तृत अनुसन्धानको क्रममा उनीहरु कसैलाई गोली हान्न नआएको पुष्टि भएको छ । घुम्नकै लागि उनीहरु नेपाल आएका थिए । जसन्वतसँग बरामद भएको पेस्तोल लाइसेन्स प्राप्त भएको र उनी त्यहाँको धनी व्यक्ति भएको खुलेको छ । एक अधिकारीका अनुसार भाजपाबाट उनले केही वर्षअघि लुधियानामा चुनाव समेत जितेका थिए ।
उनी करोडौं सम्पत्तिका मालिक हुन् । धेरै जग्गा भाडामा लिएर उनले फार्म चलाउँदै आएका छन् । गुन्डागर्दीमा पनि संलग्न भएकाले उनले केही स्थानीयसँग दुश्मनी पनि थियो । सोही कारण उनी सधैं पेस्तोल बोकेर हिंड्दथे । पहिलोपटक उनीहरु नेपाल आएका थिए । उनी गुगल म्याप हेर्दै काठमाडौं आएका हुन् ।
ठमेलको एक होटलमा बसेका उनीहरु रमाइलो गर्न डान्सबार गएका थिए । सुरुमा डान्सबारका केटीहरु उनीहरुसँग जाने बताएका थिए । सोही आश्वासनमा प्रशस्त वाइन पिएर बिल बढाए । उनीहरुले बिल मागे । २२ हजार बिल आएको थियो । उनीहरुले जुसमात्र खाएका थिए । बिल देखेपछि लफडा सुरु भयो । उनीहरुले नतिर्ने अडान लिए । भारतीय भनेर डान्सबारका कर्मचारीहरुले हेप्न थाले । चक्कु नै देखाएर धम्काए । त्यसपछि उनले पेस्तोल निकालेर एक राउण्ड फायर गरेका थिए । आफूहरु सीबीआईको प्रहरी भन्दै धम्काएर गाडी लिएर निस्किए । रेष्टुरेन्टका एक कर्मचारीले प्रहरीलाई फोन गरिसकेका थिए । निस्किएर कमलादी गणेश मन्दिरमै जाममा फसे र प्रहरीको फन्दामा परेका हुन् ।
पक्राउ परेका देवेन्द्र भने भारतको केन्द्रीय बिद्युत् प्राधिकरणका तल्लो तहका कर्मचारी हुन् । उनीहरुविरुद्ध प्रहरीले हातहतियार तथा ज्यान मार्ने उद्योग मुद्दामा कारबाही अघि बढाएको छ ।