खोटाङ,– नेपाली कांग्रेस खोटाङको प्रदेशसभाका उम्मेदवार सुवास पोखरेलले मौन अवधीमा मतदाताहरुलाई रात्रीभोज गराई पैसा बाँडेको तस्बिर खिचेको भन्दै पत्रकारमाथि दुब्र्यवहार गरेका छन् । रुपाकोट मझुवागढी नगरपालिका– १ आचार्यगाउँमा कांग्रेस उम्मेदवार पोखरेलले मतदातालाई शुक्रवार राती रात्रीभोज गराउने कार्यक्रम आयोजना गरेका थिए ।
रात्रीभोज र पैसा बाँड्ने कार्यक्रम थाहा पाएर गएको पत्रकारहरुको टोलीमाथि कांग्रेस कार्यकर्ताहरुले आक्रमण गरेका हुन् । रात्रीभोज र पैसा वितरणको समाचार संकलन गर्न पुगेका जनबोली न्यूज डटकमका सम्पादक सइन्द्र राई, इन्द्र आचार्य र हलेसी साप्ताहिकका प्रधान सम्पादक हरिबोल आचार्यमाथि कांग्रेस कार्यकर्ताले सङ्घातिक आक्रमण गरेका हुन् ।
मतदातालाई प्रलोभनमा पार्न, भोज गर्न वा पैसा बाँड्न नपाईने आचार संहितामा उल्लेख छ । तर, मौन अवधी सुरु भएपछि कांग्रेस उम्मेदवार पोखरेलले रात्रीभोज र पैसा वितरण कार्यक्रम आयोजना गरेका थिए । तस्बिर खिचेको भन्दै पत्रकारलाई आक्रमण गरिएकोप्रति आपत्ती जनाउँदै प्रेस चौतारी नेपालले विज्ञप्ति मार्फत विरोध जनाएको छ । चौतारीका उपमहासचिव हिरामान लामाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ– ‘पत्रकारमाथि आक्रमणका साथै उहाँहरुका समाचार संकलनका सामग्रीहरु मोटरसाइकल, ब्लुबुक, लाइसेन्स्सहित एटिएम कार्ड, पर्स, तीन तोलाको सुनको सिक्री समेत लुटिएको छ । मौन अवधीमा भोज खुवाएको बेला आएको भन्ने नाममा गरिएको आक्रमण निन्दनीय र लोकतान्त्रिक आचरण विरुरुद्ध छ । हामी नेपाली कांग्रेसलाई लोकतन्त्रको आवरणमा यस प्रकारको गुण्डागर्दीमा नउत्रन आग्रह गर्दछौं ।’