–विवाह पञ्चमीमा सहभागि हुने नाममा धनुषा ३ मा विमलेन्द्र निधिको चुनाव प्रचारमा जानु भएका भारतीय राजदूत मञ्जिभसिंह पुरीले निधिलाई भेटेर चुनावी रिपोर्ट बुझाउनु भएको छ । भारतीय राजदूत पुरी यसपटकको चुनावी अभियानमा खुलेरै मैदानमा उत्रिनु भएको हो ।
गत नाकाबन्दी ताका सरकारमै बसेर भारतलाई सघाएका कारण सिमानामा धर्ना बस्ने राजेन्द्र महतो भन्दा सुशील कोइरालाको सरकारमै बसेर सघाउने सघाउने निधिको गुन भारतले ठूलो मानेको छ । यसअघि भारतीय राजदूत पुरी रामायण सर्किटको आकर्षक योजना लिएर एक साता जनकपुर बस्नु भएको थियो । एक सातासम्म जनकपुर बस्दा राजदूत पुरीले निधिको चुनावी माहौल बनाउनमै आफूलाई केन्द्रित गर्नुभयो । भारतीय नाकाबन्दीप्रति सिंगो कांग्रेसलाई मौन समर्थनको भूमिकामा राख्न निधिले महत्वपूर्ण भूमिका खेल्नु भएको थियो । नाकाबन्दीको पक्षमा खुलेरै लागेका कांग्रेसका एक दर्जन नेतालाई जसरी पनि चुनाव जिताउन भन्दै भारतीय दूतावास सक्रिय छ ।
शुक्रवार जनकपुरबाट फर्केर भारतीय राजदूत पुरी निधिलाई भेट्न सिधै अस्पताल जानुभयो । चुनाव प्रचारमा रहंदा अस्वस्थ भएपछि निधि काठमाडौंको ओम अस्पतालमा उपचार गराइरहनु भएको छ । निधि मैदानमा नभए पनि राजदूत पुरीले नै सिधै उहाँको चुनावी कमाण्ड सम्हाल्नु भएको छ । शुक्रवार जनकपुरबाट फर्कनासाथ पुरी एयरपोर्टबाट सिधै निधिलाई भेट्न जानु भएको थियो । ‘काठमाडौं फर्कने क्रममा भारतीय राजदूत पुरी एयरपोर्टबाट सिधै चाबिहलको ओम अस्पताल जानु भएको थियो’ निधिको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ, ‘स्वास्थ्य अबस्थाबारे जानकारी लिने क्रममा भारतीय राजदूत पुरीले कांग्रेस नेता निधिको निर्बाचन क्षेत्र धनुषा–३ को चुनावको माहोल अबलोकन गरेको बताउनु भएको थियो ।’
अस्पतालमा कांग्रेस नेता निधिलाई पेटरोग विशेषज्ञ डा. राहुल पाठक र छाती रोग विशेषज्ञ डा. सुबोधसागर ढकाल लगायतको टोलीले रेखदेख गरिरहेको छ ।