पाल्पा । प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै सार्वजनिक कार्यक्रममा बोल्दा कुनै न कुनै कुराहरु निकै भाईरल हुने गरेका छन् । त्यस्तै आज पाल्पाको कार्यक्रममा पनि भएको छ ।
नेपाली काँग्रेसका सभापति समेत रहेका देउवा जब पाल्पाको क्षेत्र नम्बर २ मा भएको चुनावी सभालाई सम्बोधन गर्दै थिए । तब माईकमा ईको बढी भएर आवाज नै नचिनिने भयो ।
माईक मिलाउँदै गर्दा माईकमा झन ईको बढेर बोल्ने बेला चुईचुई आवाज आउन थाल्यो । उसैपनि झनक्क रिसाईहाल्ने देउवाले माइक बिगारेको भन्दै प्राविधिकलाई गाली नगरि छाडेनन् ।
दर्शकले प्रधानमन्त्रीले बोलेको कुरा नबुझेको गुनासो गरेपछि प्राविधिकले माइक मिलाउने क्रममा च्वाईच्वाई ,चुईंचुर्इंको आवाज आएको थियो । ‘ए भाइ के गरेको ? खाली बिगारेछ, बिगारेछ’, प्रधानमन्त्री देउवाले आदेश दिदै भन्नुभयो–‘अलि मिलाउ, म बोल्दैछु ।’
निकै रिसाएको आवाजमा प्रधानमन्त्रीको आदेश आएपछि चुनावीसभाको सुरक्षामा खटिएका पाल्पाका प्रहरी प्रमुख डिल्लीराज पन्तलगायतका सुरक्षा टोली प्राविधिकसम्म पुगेका थिए ।
पटकपटक घडी हेर्दै पार्टीका जिल्ला सभापति वीरबहादुर रानामार्फत छिटो कार्यक्रम सकाउन आग्रह गरिरहनुभएका देउवाले पार्टी उपसभापति रामचन्द्र पौडेलले बोलेपछि सभालाई सम्बोधन गर्नुभएको थियो ।
बोलेको तीन मिनेट नहुँदै माइकमा समस्या आएपछि देउवाले प्राविधिकलाई सच्याउन निर्देशन दिनुभएको हो ।