चुनावविरोधी गतिविधिमा सक्रिय अज्ञात समूहले झापामा उम्मेदवारलाई लक्षित गरी बम विष्फोटका घटना तीब्र पारेका छ । तर, प्रहरीले कसैलाई पक्राउ गर्न सकेको छैन ।
अज्ञात समूहले एमाले अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरअगाडि बम विष्फोट गराएको छ । शनिबार बिहान ४ बजेतिर दमक नगरपालिका–५ मा रहेको ओलीको घरको पूर्वी गेटमा बम विस्फोट भएको हो । प्रहरीका अनुसार, विष्फोटबाट सामान्य क्षति भएको छ । गेटनजिकै फेला परेको अर्काे बम भने नेपाली सेनाको टोलीले निस्कृय पारेकाे छ ।
एमाले अध्यक्ष ओलीले आफ्नो निवासमा बम विस्फोट भएको जानकारी बिहानै पाए पनि यसबारे हालसम्म केही धारणा सार्वजनिक नगरेको ओलीका राजनीतिक सल्लाहकार देवेन्द्र दाहालले जानकारी दिए ।
यस्तै झापा क्षेत्र नम्बर २ का उम्मेदवार तथा कांग्रेसका झापा सभापति उद्वव थापाको घरमा पनि शुक्रबारराति बम विस्फोट भएको छ । मध्यरात भएको विस्फोटबाट थापाले निर्वाचन प्रचारप्रसारका लागि प्रयोग गर्दै आएको बा. ७च ६८९५ नम्बरको बोलेरो जिपमा क्षति पुगेको छ ।
अर्जुनधारा नगरपालिका–७ स्थित थापाको घरमा पार्किङ गरिएको जीपमा बम विस्फोट भएको हो । बम विस्फोटबाट जिपको अगाडिको भाग पूर्णरूपमा क्षति भएको छ । विस्फोटबाट जिप पार्किङ गरेको घरमा पनि क्षति पुगेको सुरक्षास्रोतले जनाएको छ । उम्मेदवार थापा भने नजिकैको अर्काे घरमा बस्दै आएका थिए ।
कुनै बट्टामा खाँदेर सुतली बम विस्फोट गराएको हुन सक्ने इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी कृष्णप्रसाद कोइरालाले बताए । विस्फोट भएको स्थानमा बमको कुनै अवशेषसमेत नभेटिएकाले बमको प्रकृति थाहा पाउन प्रहरीलाई गाह्रो भएको हो ।
बम विस्फोटपछि शनिवार बिहान नेपाली सेना, जिल्लास्थित राजनीतिक दल र आसन्न निर्वाचनका उम्मेद्वारहरू घटनास्थलमा उपस्थित भएर विस्फोटको निन्दा गरेका थिए ।
कांग्रेस उम्मेदवारको घरमा बम विष्फोट भएको थाहा पाएपछि एमालेकी सोही क्षेत्रकी उम्मेदवार पवित्रा निरौला खरेलसमेत घटनास्थल पुगेकी थिइन् ।
उम्मेदवार थापाका घरमा पुगेका राजनीतिक दलका नेता तथा कार्यकर्ताले लोकतन्त्रको रक्षाका लागि सबै एकजुट हुनुपर्ने बताए । कृषि राज्यमन्त्री सरिता प्रसाईंले यस्ता घटनाबाट हतोत्सायित नहुन सबैमा आग्रह गरिन् ।
पूर्व सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले नेपाली जनता अब बम बारुदबाट नडराउने बताए । निडर भएर निर्वाचनमा लाग्न उनले उम्मेदवारहरुलाई आग्रह गरे ।
उम्मेदवार थापाले आफ्नो घरमा भएको विष्फोटबाट आफू दुःखी भएको बताए । उनले अब वमसँग आफू नडराउने बताए । ‘वम, वारुद्ध, हिंशाले निकास निस्किँदैन,’ उनले भने, ‘अझै पनि केही समूह वम वारुद लिएर हिँड्दैछन्, यस्ता कार्यले मुलुकलाई निकास दिन सक्दैन ।’ वम पड्काएर निर्वाचन अवरोध हुनै नसक्ने उनले दाबी गरेका छन् ।
घटनासँगै जिल्लास्थित सुरक्षा निकायले उम्मेदवार र उनीहरूको भौतिक सम्पतिको सुरक्षाका लागि प्रभावकारी कदम चाल्ने बुझिएको छ । विस्फोट कस्ले गराएको भन्ने खुलेको छैन । सुरक्षास्रोतले अनुसन्धान सुरू गरेको जनाएको छ ।
‘यो विप्लव समूहकै कार्यकर्ताले हो भन्ने हाम्रो ठम्याइ छ,’ इप्रका बिर्तामोडका डिएसपी कोइरालाले भने, ‘पहिलो चरणको निर्वाचनका लागि मौन अवधि सुरु भएकाले उनीहरु यता लागेका हुन सक्छन् । विष्फोटको घटनामा सम्लग्नलाई पक्राउ गर्नका लागि प्रहरी परिचालन गरिसकिएको उनले जानकारी दिए ।