पहिलो चरणको निर्वाचन आइतबार हुँदैछ । हिमाली र उच्च पहाडी ३२ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाका लागि मतदान भोलि हुने भएको हो ।
निर्वाचन आयोगले पहिलो चरणमा हुने निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दएको छ ।
मंसिर १० अर्थात भोलि विहान ७ बजेबाट मतदान प्रक्रिया सुरु हुनेछ भने साँझ ५ बजेसम्म चल्नेछ । ३२ जिल्लाका ३७ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ७४ प्रदेशसभा निर्वाचनका लागि मतदानको कार्यक्रम तय भएको हो ।
प्रदेश नम्बर १ का ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु जिल्लामा मतदान हुने छ । यस्तै प्रदेश नम्बर ३ का सिन्धुपाल्चोक, रामेछाप, दोलखा, नुवाकोट, रसुवा, धादिङ रहेका छन् ।
प्रदेश नम्बर ४ का ६ वटा जिल्लामा पनि आइतबार विहान सातबजेबाटै मतदान हुनेछ । प्रदेश ४ का गोरखा, बागलुङ, म्याग्दी, मुस्ताङ, लमजुङ र मनाङ रहेका छन् ।
रुकुम पूर्व र रोल्पा प्रदेश नम्बर ५ का दुई जिल्लामा समेत पहिलोचरणमा मतदान हुँदैछ । यस्तै प्रदेश नम्बर ६ का सात जिल्ला रुकुम पश्चिम, जाजरकोट, हुम्ला, कालिकोट, जुम्ला, मुगु र डोल्पामा मतदान हुँदैछ । यस्तै प्रदेश नम्बर ७ का दार्चुला, बझाङ, बैतडी, बाजुरामा पनि पहिलो चरणमा भोलि नै मतदान कार्यक्रम रहेको छ ।