१३ करोड ७ लाख लागतमा बारपाकमा ‘भूकम्प स्मृति पार्क’

१२ वैशाख ०७२ मा गएको भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाकमा भूकम्प स्मृति पार्क निर्माण प्रक्रिया सुरु भएको छ । भूकम्पमा परी ज्यान गुमाएकाहरूको सम्झनामा पार्क निर्माण गर्न लागिएको हो । आजको नयाँ पत्रिकामा खबर छ ।

‘पार्कभित्र देशभरबाट भूकम्पमा ज्यान गुमाउनेको नाम ताम्रपत्रमा लेखी स्तम्भमा राखिनेछ,’ भवन डिभिजन कार्यालयका प्रमुख रोशन श्रेष्ठले भने । भूकम्पमा परी ज्यान गुमाउनेको जिल्लाअनुसार नाम राख्ने तयारी गरिएको छ । ‘सबैको नाम प्राप्त गर्न नसकिने हो कि भन्ने चुनौती छ,’ श्रेष्ठले भने ।

पार्क निर्माणका लागि १३ करोड ७ लाख लाग्ने अनुमान गरिएको छ भने पार्क निर्माणको जिम्मा स्वच्छन्द होम निर्माण सेवाले पाएको छ ।

बारपाकलाई पर्यटकीय स्थलको रूपमा परिचित गराउन पनि पार्क निर्माण गर्न लागिएको हो । साँढे दुई वर्षभित्र पार्कभित्रको संरचना निर्माणको काम सक्ने लक्ष्यका साथ काम सुरु भएको श्रेष्ठको भनाइ छ ।

पार्क निर्माणका लागि चालू आर्थिक वर्ष ०७४-७५ मा ४१ लाख ५० हजार प्राप्त भएको श्रेष्ठको भनाइ छ । सरकारी स्वामित्व र निजी स्वामित्वमा रहेको बारपाकको २ सय १६ रोपनी जग्गामा पार्क निर्माण गर्न लागिएका हो । सो जग्गामध्ये ६ रोपनी जग्गा व्यक्तिगत पर्ने भएकाले स्थानान्तरणको तयारी भइरहेको छ ।

पार्कभित्र ज्यान गुमाउनेको नामावलीसहितको स्तम्भ, चमेनागृह, प्रतीक्षालय र संग्रहालय रहनेछ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार