चन्द्रमामा पहिलो पाइला टेकेका जीवित अन्तरिक्षयात्री एवं नासाका चारजना वैज्ञानिकहरुले संयुक्त रुपमा विश्वशान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्विनीको भ्रमण गरेका छन्।
चन्द्रमामा मानवको पहिलो पाइला टेक्ने जीवित अन्तरिक्ष यात्री ८७ वर्षीय बज अल्ड्रिनको नेतृत्वको ६ जनाको टोलीले लुम्विनीको स्थलगत अवलोकन गरेको कोषका प्रशासन एवं लेखा प्रमुख भिम वस्नेतले जानकारी दिए।
चन्द्रमामा पहिलो पाइला टेकेका बज एड्रिन २०७३ भदौ २० गते सोमबार लुम्बिनी अवलोकनको क्रममा / तस्बिर : कृष्णप्रसाद ढकाल
काठमाडाैंबाट बिहान बुद्ध एयर ८५१ नम्बरको उडानबाट गौतमबुद्ध विमानस्थल भैरहवा आएका वैज्ञानिकहरु सुटुक्क लुम्बिनी पुगेका छन्। मंगल ग्रहमा बस्ती बसाउने योजनाका अध्यक्षसमेत रहेका अल्ड्रिनका छोरा डा. एन्ड्रयु अल्डिभ, नासाका अध्यक्ष एलिजावेथ लेवल्याङ र वरिष्ठ वैज्ञानिक जोसेफ लेवल्याङले संयुक्त रुपमा लुम्विनी अवलोकन गरे।
कोषका पूर्व वरिष्ठ पुरातत्वविद् वसन्त विडारीले निजी भ्रमणमा आएका वैज्ञानिकहरुलाई बुद्धको जीवनी र विश्व सम्पदा सूचीमा सूचीकृत लुम्विनीको विकासक्रमबारे जानकारी दिएका छन्। विमानस्थलमा खटिएका सुरक्षाकर्मीहरु, रुपन्देहीका सुरक्षा अधिकारी तथा लुम्विनी विकास कोषका पदाधिकारी कसैलाई पनि चन्द्रामा पुगेका व्यक्तिहरु भैरहवा लुम्विनी आएको पतै पाएनन्।
सन् १९६९ मा अपोलो११ अन्तरिक्ष यानमार्फत अमेरिकी नागरिक निल आर्मस्टङको नेतृत्वमा नासाको टोली चन्द्रमामा पुगेको थियो।
अन्नपूर्णपोष्ट (२० भदौ २०७३) बाट