काठमाडौं । चिकित्सकहरुका अनुसार दुई वर्षदेखि धुलोबाट हुने संक्रमण र समस्याका बिरामी लगातार बढिरहेको छन् । पछिल्लो १० वर्षमा दम, निमोनिया, जटिल रुघाखोकी लगायत श्वासप्रश्वासका बिरामी ५० प्रतिशत बढेको चिकित्सकहरुले बताएका छन् ।
उपत्यकामा श्वासप्रश्वासका बिरामी बढ्नुको मुख्य कारण काठमाडौंको प्रदूषण मुख्य हो । वातावरण विभागको तथ्यांक अनुसार केही दिनयता काठमाडौंको प्रदूषण मापदण्ड भन्दा दोब्बर बढी छ । निर्माणस्थल, धुलाम्मे सडक, खेतबारी, आगो बालिएको वा धुँवा निस्किरहेको ठाउँमा यस्ता कण बढी सक्रिय हुन्छन् । हावामा उड्दै गर्दा यिनै कण पावर प्लान्ट, सवारी साधन तथा उद्योगबाट निस्कने सल्फर डाइअक्साइड र नाइट्रोजन (अक्साइडजस्ता ग्याससँग मिसिन्छन् ।
यो आम मानिसले फेर्ने श्वाससँगै सिधै फोक्सो र रक्तप्रणालीसम्म पुग्छ र, स्वास्थ्यका निम्ति हानिकारक भइदिन्छन्। हरेक बर्ष जाडो याममा काठमाडौको प्रदूषण बढ्ने गरेको छ । जाडो याममा वायुमण्डलको माथिल्लो तहमा चिसो हावाको बाक्लो तह जमेको हुन्छ ।
यो तह गर्मीमा पातलो हुन्छ र सजिलै बहन्छ । जाडोमा भने जमेरै बस्छ । चिकित्सकका अनुसार काठमाडौंको हावामा पाइने धूलोका कण चुरोटभन्दा हानिकारक छ । धूलोमा हुने कार्बन मोनो–अक्साइड, सल्फर –डाइअक्साइड जस्ता रसायनले सिधै फोक्सोमा असर गर्छ। सामान्य रूघाखोकीबाहेक फोक्सोमा दाग देखिने, सुन्निने र संक्रमणको एउटा मुख्य कारण यही प्रदूषण हो।
आँखा चिलाउने, छाला एलर्जी हुने, सास फेर्न गाह्रो हुने, छाती भारी हुनेजस्ता नयाँ बिरामी देखिएको र दम तथा मुटुरोगीको समस्या बढेको महाराजगंज शिक्षण अस्पतालका श्वासप्रश्वास रोग बिशेषज्ञ डा निरज बम बताउनु हुन्छ ।
त्यसो त प्रदुषणसंगै चिसो पनि बढ्दो क्रममा छ उपत्यकामा । चिसोमा रुघाखोकी, श्वासप्रश्वास मात्र नभई रक्तनलीमा रगत जम्ने समस्या पनि हुने भएकाले बेला बेलामा स्वास्थ्य जाँच गरिरहनुपर्छ । त्यसै बाहिर हिड्दा माक्सको प्रयोग गर्ने भिडभाडमा नजाने, शरीरलाई न्यानो राख्न तातो र बाक्ला लत्ताकपडा लगाउने गर्नु पर्छ ।