बुढीगण्डकी जलविद्युतको निर्माण स्वदेशी लगानीमै गर्ने निर्णयले ल्यायो हर्ष, बुढीगण्डकीमाथि निरन्तर निगरानी आवश्यक

प्रदीपराज दाहाल
राष्ट्रिय गौरवको आयोजनामा समावेश बुढीगण्डकीमाथि निरन्तर निगरानी आवश्यक
विवादमा रहेको बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण अन्ततः सरकारले स्वदेशी लगानीमा नै गर्ने निष्कर्षमा पुगेको छ । चिनियाँ कम्पनी गेजुवासँगको ठेक्क प्रक्रिया रद्द गरेपछि आयोजनाको विषयमा देखिएको अन्यौलतालाई चिर्दै सरकारले विद्युत प्राधिकरणलाई नै ठेक्को जिम्मा दिने पक्का भएको छ ।

जनताबाट उठाइएको पूर्वाधार कर विदेशी कम्पनीलाई जाने विभिन्न आंकलनकाबीच र विदेशी कम्पनीको नेपालको गौरवशाली आयोजनामा देखिएको चासोलाई चिर्दै सरकारले ८ वर्षमा निर्माण सक्ने लक्ष्यका साथ बुढीगण्डकी आयोजनाको जिम्मा प्राधिकरणलाई सुम्पिएको छ । तर, प्राधिकरणको हालसम्मको पृष्ठभूमिप्रति भने जनता आशावादी भएपनि निराश नै छन् ।

सरकारको निर्णयसँगै नेपाली जनतामा खुसी छाएको छ । नेपालको पानी जनताको लगानी भन्दै सुरु भएको आयोजना निर्माणको जिम्मा विदेशी कम्पनीलाई दिँदा रुष्ट भएका जनताले अब निर्माण स्वदेशी लगानीमा नै हुने भएपछि दंग छन् । यसअघि सरकारले चिनियाँ कम्पनी गेजुवासँग ठेक्का पक्रिया रद्द गरेपछि रुष्ट बनेका राजनीतिक दलहरुले केही दिन आयोजनाको विषयलाई नै मुद्दा बनाएका थिए । त्यहि आडमा एकअर्काबीच जुहारी समेत गरेका दलहरुले अब स्वदेशी लगानीमा नै आयोजना निर्माण हुने भएपछि सबै मौन छन् । जसलाई शुक्रवार बसेको मन्त्रिपरिषदले निर्णय गर्दै लगानीको खाका निर्माण गर्ने जिम्मा राष्ट्रिय योजना आयोगलाई सुम्पिएको छ । यता यहि विषयमाथि भारतीय सञ्चारमाध्यमहरुले समेत टिप्पणी गरेका थिए । चिनियाँ कम्पनीसँग निर्माणको जिम्मा भारतले पाउने जिकिरका साथ समाचार सम्प्रेषण गरेकाहरुलाई समेत सरकारको निर्णयले ठूलो धक्का पुर्याएको होला नै ।

यद्यपी विभिन्न आशंकालाई चिर्दै अन्ततः जलविद्युत आयोजना निर्माण सरकारले स्वदेशी लगानीमा नै निर्माण गर्ने विषयले सरकारको यो निर्णयको प्रशंसा समेत भएको छ । तीन खर्ब रुपैयाँ लाग्ने १२ सय मेगावाट क्षमताको आयोजनाको सम्पूर्ण लगानी चिनियाँ कम्पनीले गर्ने उल्लेख गरिएको थियो । अझ आयोजना नेपाल सरकारले नै बनाउने भन्दै त्यसका लागि लगानी जुटाउन पेट्रोलियम पदार्थमा प्रतिलिटर पाँच रुपैयाँ पूर्वाधार कर समेत गत वर्षदेखि उठाएपछि निकै मर्माहत भएका नेपालीहरुले अब भने ८ वर्षको समयमा आयोजना निर्माण हुने आश गर्न पाउने भएका छन् । तर, प्राधिकरणले जिम्मा पाएका योजनाहरुको समेत काम समयमा सम्पन्न नभएको पृष्ठभूमि छर्लङग छ नै । चमेलिया जलविद्युत आयोजना निर्माणमा नै लामो समय खर्च गरेको प्राधिकरणले बुढीगण्डकी आयोजना निर्माण समेत तोकेको समयमा सम्पन्न हुनेमा आशंका भने यथावत छ । त्यसैले राष्ट्रिय गौरवको आयोजनामा समावेश बुढीगण्डकीबारे निरन्तर प्रयास जारी राख्न आवश्यक देखिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार