– राजकुमार थापा
प्रारम्भ :
नेपाल अहिले चुनावमय छ, नयाँ संविधान जारी भएपछिको यो आम निर्वाचन भब्य र उत्सवमय देखिन्छ । पाँचबर्षकालागि केन्द्रीय र प्रदेश सरकार बनाउन छानिने प्रतिनिधिहरुको चुनाव निश्चय नै देशको नयाँ प्रस्थान बिन्दु भएकोले देशभित्र मात्र होइन संसारभरि छरिएर रहेका नेपालीहरुलाइ चासो, सरोकार , तर्क, बितर्क हुनु अत्यन्त स्वाभाविक र बान्छनीय छ । किनकि नेपाल सबै नेपालीको साझा हो । सामान्य अवस्थामा अब अर्को चुनाव पाँच बर्षपछि मात्र हुने भएकोले यसबेला दलहरू,उम्मेदवारहरु, घोषणापत्र र प्रतिबद्धताहरुका बारेमा तातो बहस हुनु वास्तवमै आबश्यक छ । यसै सन्दर्भमा आज यस आलेखमा झन्डै आधा करोड (पचास लाख) नेपाल बाहिर रहेका नेपालीहरुको चाहना र भावनाहरुको केही प्रतिबिम्बलाई समेट्ने वा उजागर गर्ने प्रयास गरिएको छ ।
चुनाव :
मंसीर १० र २१ गते अर्थात २६ नोभेम्बर र ७ डिसेम्बरमा दुई चरण गरि नेपालको प्रतिनिधि सभा(संघीय संसद) र प्रदेशसभाको निर्वाचन हुँदैछ । चुनावमा दलहरू, तिनका कार्यकर्ता, समर्थक, सुवेच्छुकहरु बीच मत र मान्यताहरु विभाजित हुनु, तीनमा बहस र विवाद हुनु कुनै अस्वाभाविक होइन, बरु त्यसलाई स्वस्थ्य, मर्यादित र शान्तिपूर्ण बनाउनु सक्नुपर्छ र त्यो आबश्यक छ ।
प्रतिक्रिया :
यो पंक्तिकारले विभिन्न देशहरुमा रहेका सामाजिक, संस्थागत, पेशागत लगायतका क्षेत्रहरुमा सम्लग्न र क्रियाशील मानिसहरुसंगको अन्तर सम्बादबाट देशका खातिर गैर आवासीय नेपालीहरुका के कस्ता चाहना र सपना रहेछन् भन्ने प्रतिबिम्बितलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरिएको छ।
रसियामा बस्दै आएका एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका महासचिव बद्री केसी भन्छन्,”यस निर्वाचनले एउटा स्थीर सरकार दिओस, देश विकास र समृद्धितिर अघि बढोस्, सहज र शान्तिपूर्ण वातावरण बनोस्, हाम्रो त्यही चाहना छ, हामी बैधानिकरुपमा गठन भएका सबै सरकारसंग काम गर्न तयार छौं” यसैगरी बेलायतमा नेपाली पत्रकारिता गरिरहेका नेपाल पत्रकार महासंघ बेलायत शाखाका उपाध्यक्ष ध्रुबराज अर्यालको बिचारमा, “एउटा स्थीर र स्वच्छ सरकार जसले जनतामा राम्रो “डेलिभरी” दिओस, अहिलेको गठबन्धन प्रयासहरुले त्यस्तो सम्भावनाको नजिक पुगेको देखिन्छ” ।
एनआरएनए अमेरिकाका बोर्ड अफ डाइरेक्टर सन्जय थापा भन्छन्,”आफ्नो देशमा चुनाव हुँदा परदेशमा भए पनि आफैं चुनाव उठे जस्तो लागेको छ, अब देश सुशासन र समृद्धिको बाटोमा जानैपर्छ, त्यसकोलागि कसै न कसैलको बहुमत आबश्यक छ, म चैं बाम गठबन्धनलाई शुभकामना दिन्छु, उनीहरु प्रति भरोसा छ। लामो समयदेखि जापानमा ब्यबसाय गर्दै एनआरएनए आन्दोलनमा सम्लग्न चीरन्जीवी थापाले भने, गैर आवासीय नेपालीको एउटै सपना विकास र समृद्ध नै हो, तर यो लोकतान्त्रिक गठबन्धनबाट सम्भव देख्छन् उनी । पोर्तुगलका एनआरएनए अध्यक्ष कुबेर कार्की भन्छन्,”जसले जितेपनि बिदेशमा बस्ने नेपालीहरुको भावनाको उचित कदर हुनुपर्छ, पुर्ण अधिकार सहितको दोहोरो नागरिकता ग्यारेन्टी गरिनु पर्छ, किनकि हामी सबै एउटै नेपाली हो ।”
अस्ट्रेलियामा बसेपनि नेपाली राजनीतिलाई नजिकबाट नियालिरहेका आरआर क्यापस काठमाडौका पुर्व स्वबियु सभापति सक्रिय सामाजिक कार्यकर्ता राजन बस्नेतको बिचारमा, अब देश अघि बढ्यो बढ्यो, मानिसलाई विकास चाहिएको छ, भ्रष्टाचारमुक्त शासन देशले खोजेका छ, बिगत र आगत नियाल्दा बामपन्थी सरकारले जनताको इच्छा पूरा गर्ला भन्ने उनलाई बिश्वास छ, यस्तै बिश्वास ब्यक्त गर्दछ्न, एनआरएनए जर्मनीका पुर्व अध्यक्ष नवराज रोस्यारा, मलेसियाबाट चित्र थापा, इजरायलबाट रोसनी सापकोटा, दक्षिण अफ्रिकामा श्रम बेचिरहेका सानुभाइ बि क पनि । तर पोर्तुगलमा क्रियाशील नेपाली पत्रकार गणेश पान्डेयको भने अलि फरक विचार छ, उनी भन्छन् “पुराना कांग्रेस, कम्युनिस्ट जस्ता पार्टीहरुको समय सकियो,उनीहरुले दिने जति योगदान दिए, अब यिनबाट आशा छैन, त्यसैले नयाँ विकल्प र नेतृत्वतिर जानु पर्छ, त्यसबाट मात्र देशको समृद्धि सम्भव छ ।”
चाहना :
माथिका केही प्रतिनिधि पात्रहरु बाहेक पनि यो पंक्तिकारले धेरै गैर आवासीय नेपालीहरुसंग विभिन्न माध्यमहरुबाट सम्पर्क गर्दा आम एन आर एन हरुको साझा चाहाना र भावना भनेको देशमा स्थीर सरकार बनोस,विकास र समृद्धितिर देश अगाडि बढोस,देशमै अवसरहरु सृजना हुन्, गरिखाने बाताबरण बनोस्, जुनसुकै गठबन्धनले भएपनि पुर्ण बहुमतको सरकार बनाओस्, भ्रष्टाचार नातावाद, कृपावाद अन्त्य होस् , यो चाहाना र सपना बिदेशिएकाहरुको मात्र होइन स्वदेशीहरुको पनि हो र हामी सबैको हो ।
संजाल :
नेपालको चुनावको सन्दर्भमा अहिले स्वदेश तथा बिदेशमा रहेका नेपालीहरुबाट विभिन्न सामाजिक संजालहरुमा प्रचारप्रसार र आफ्ना मत अभिमतहरु अभिब्यक्त गरिरहेका छन्, सामाजिक संजालमा पनि मुलतः नेपालीहरुले सबैभन्दा धेरै प्रयोग गर्ने फेसबुक मार्फत चुनावमा चासो र जिज्ञासा राख्नेहरुका लागि बिश्वब्यापी बनाएको वा भएको छ । द्रुत र आकर्षक सञ्चारका लागि अहिले उम्मेदवारदेखि कार्यकर्ता र आम समर्थक शुभचिन्तकहरु सामाजिक संजाललाई भरपुर उपयोग गरिरहेका छन् । यिनै सामाजिक संजालहरुका कारण देश भित्र नै बस्ने भन्दा बिदेशमा बस्ने नेपालीहरुले देशको कुनाकाप्चाको खबर क्षणभर मै थाहा पाइरहेका छन्, किनकि बिदेश बस्ने नेपालीहरु सामाजिक संजालमा निक्कै सक्रिय देखिन्छन् ।
अन्त्यमा, संघीय लोकतान्त्रिक र गणतान्त्रिक नेपालको नयाँ संविधान घोषणा पश्चात यो पहिलो आमनिर्वाचन हो, अत्यन्त न्यून असन्तुष्टि बाहेक नेपालमा क्रियाशील अधिकांस दलहरू, समाजको सबै तह, तप्का र आम नेपालीहरु आफ्नो सुन्दर, समृद्ध भविष्यको कल्पना, चाहना र आशाकासाथ यो महायज्ञमा सहभागी भइरहेका छन्, देश-बिदेशमा रहेका सम्पुर्ण नेपाली मनहरु यस चुनावको पुर्ण सफलताको शुभकामना र सुवेच्छा ब्यक्त गरिरहेका छन् । जय मातृभुमि !!
(थापा युरोपमा नेपाली पत्राकारितामा आबद्ध भएर लेख्दै आएका छन्- email : rkthapa@hotmail.com )