नेपाली संगीतकर्मीको लोभलाग्दो कमाई – जिउछन जिन्दगी रमाई रमाई

यस पटकको कन्सर्टबाट १ करोड रुपैयाँ जति कमाइ हुन्छ, अघिल्लो वर्ष दुई महिनाका लागि अमेरिकामा कन्सर्ट दिन जानुअघि गायक राजेशपायल राईले एउटा अन्तर्वार्तामा भनेका थिए— ‘एउटा कलाकारको दु:ख, मेहनत तथा सफलताको शिखरमा पुग्न उसले गरेको संघर्ष सम्झने हो भने यो रकम पनि कम हुन्छ ।’ राजेशपायलले त्यति बेला भनेका थिए—‘साढे दुई दशक हुन लाग्यो, यत्तिका वर्षसम्म म नेपाली गीत–संगीतमै लागिरहेको छु, त्यसैले यो रकम ठूलो हो भन्ने मलाई लाग्दैन ।’ राजेशपायलले औसत नेपाली कलाकारको तुलनामा उक्त पारिश्रमिक केही बढी भए पनि आफ्नो हकमा भने सामान्य भएको उल्लेख गरेका थिए ।


अघिल्लो वर्ष दसैंअघि अमेरिका पुगेका राजेशपायल राई अहिले फेरि अमेरिकामै छन् । आगामी सातादेखि उनी अमेरिकाका विभिन्न सहरमा सञ्चालन हुने कन्सर्टमा सक्रिय हुँदैछन् । स्वदेशका कन्सर्टमा पनि महँगो पारिश्रमिक लिने गायक राई एउटा गीत रेकर्ड गरेबापत औसत २० हजार रुपैयाँ पारिश्रमिक थाप्छन् ।

गायिका मेलिना राईले दुई वर्षअघि बेलायत तथा युरोपका कन्सर्टबाट करिब दुई महिनाको अवधिमै झन्डै १ करोड रुपैयाँ पारिश्रमिक प्राप्त गरेको प्रसंग सांगीतिक क्षेत्रमा चर्चाको विषय भएको थियो । पाश्र्व गायन तथा सुगम संगीतका केही गीत लोकप्रिय भएपछि मेलिनाको व्यस्तता ह्वात्तै बढ्यो । आजको मितिमा मेलिना राई नेपालकी महँगा गायिकाहरूमध्ये एक हुन् । स्वदेशका कन्सर्टमा उनी ५० हजार रुपैयाँ पारिश्रमिक लिन्छिन् भने विदेशका कन्सर्टमा २ देखि ५ लाख रुपैयाँसम्म बुझ्छिन् ।

गायक प्रमोद खरेलको भनाइ अनुसार असोज–कात्तिकदेखि वैशाख–जेठसम्म उनी कन्सर्टमै व्यस्त हुन्छन् । पछिल्ला दुई महिनादेखि अमेरिकाका विभिन्न सहरमा कन्सर्ट दिइरहेका खरेल असारदेखि भदौ सम्म भने रेकर्डिङमा सक्रिय हुन्छन् । झरी पर्ने मौसममा कन्सर्ट कम हुने भएकाले गायक खरेलले उक्त अवधि रेकर्डिङका लागि छुट्याएका हुन् । उनी एउटा गीत गाए बापत औसत २० देखि २५ हजार रुपैयाँ लिन्छन् । स्वदेशका कन्सर्टमा ५० हजार रुपैयाँ पारिश्रमिक बुझ्ने गायक खरेल विदेशका कन्सर्टमा बढीमा ५ लाखसम्म पारिश्रमिक लिन्छन् ।

कन्सर्टमा व्यस्त रहने अधिकांश गायक–गायिकाले एउटा गीत रेकर्ड गरेबापत २० देखि २५ हजार रुपैयाँ पारिश्रमिक लिने गरेका छन् । रामकृष्ण ढकाल, स्वरूपराज आचार्य, दीपक लिम्बू, युवराज चौलागाईं, इन्दिरा जोशी, अञ्जु पन्त, मिलन अमात्य आदि गायक–गायिका यो पारिश्रमिकको दायरामा छन् ।

नेपाली गायक–गायिकाका लागि स्वदेश तथा विदेशमा आयोजना हुने सांगीतिक कार्यक्रम आम्दानीको दरिलो स्रोत बन्दै गएका छन् । राजेशपायल राईसहित गायकहरू प्रमोद खरेल, रामकृष्ण ढकाल, स्वरुपराज आचार्य, दीपक लिम्बू, हेमन्त शर्मा, शिव परियार, हेमन्त राना तथा गायिकाहरू अञ्जु पन्त, मेलिना राई, इन्दिरा जोशी, मिलन अमात्य स्वदेश तथा विदेशका सांगीतिक कार्यक्रमहरूमा व्यस्त भैरहने कलाकार हुन् ।

यीमध्ये अधिकांश गायक–गायिकाले स्वदेशका कन्सर्टमा ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म तथा विदेशका कन्सर्टमा प्रति कन्सर्ट २ देखि ५ लाख रुपैयाँसम्म पारिश्रमिक लिन्छन् । लोकगायनतर्फ पशुपति शर्मा, कोमल वली, सुनिता दुलाल, मुना थापामगर, देवी घर्ती, टीका पुन, मञ्जु पौडेल, ज्योति मगर, रमिला न्यौपाने, जानकी तारमीमगर स्वदेश तथा विदेशका कन्सर्टमा व्यस्त रहने कलाकार हुन् । यिनीहरूको पारिश्रमिक पनि सुगम संगीतका गायक–गायिकाहरूकै हाराहारीमा रहेको कार्यक्रम आयोजकहरू बताउँछन् ।

संगीतकारहरूमा कालीप्रसाद बासकोटा, राजनराज तिमिल्सिना, अर्जुन पोखरेल, वसन्त सापकोटा व्यस्त मात्र छैनन्, संगीत सिर्जना गरेर लोभलाग्दो पारिश्रमिक समेत बुझ्छन् । गायकका रूपमा समेत स्थापित कालीप्रसाद तथा राजनराज त अहिले कन्सर्टमा समेत व्यस्त छन् ।

कालीप्रसाद यतिबेला यूरोपका सहरहरूमा छन् भने राजनराज अष्ट्रेलियाबाट फर्किएर कोरिया पुगेका छन् । कालीप्रसादले चलचित्रका लागि एउटा गीत संगीतबद्ध गरेको ८० हजारदेखि १ लाख रुपैयाँ पारिश्रमिक लिन्छन् भने राजनराज पनि औसत ८० हजार रुपैयाँ पारिश्रमिक बुझ्छन ।

राजनराज संगीतकार तथा गीतकारका चलचित्रकै लोकप्रिय संगीतकार अर्जुन पोखरेल एउटा गीत संगीतबद्ध गरेको १ लाख रुपैयाँ पारिश्रमिक लिन्छन् भने वसन्त सापकोटा एउटा गीत संगीतबद्ध गरेको ८० हजार रुपैयाँ लिन्छन् । नयाँबाटोबाट

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार