विश्वकप फुटबल २०१८ खेल्ने यी ३२ टिम, कसरी र कहिले–कहिले भए छनोट?

सीताराम कोइराला

विश्व कपमा छनोट भएपछि खुसियाली मनाउँदै पेरुका समर्थक

काठमाडौं– आगामी फिफा विश्वकप फुटबल प्रतियोगिता खेल्ने ३२ टिमको टुंगो लागिसकेको छ। विश्व कप फुटबल सन् २०१८ को १४ जुन देखि १५ जुलाईसम्म रुसको विभिन्न ११ सहरका १२ रंगशालामा आयोजना हुँदैछ। यसका लागि ३२ टिमको समूह विभाजन यही मंसिर १५ मा हुनेछ।

टिमलाई ८ समूहमा विभाजन गरिने छ। प्रत्येक समूहमा ४–४ टिम रहनेछन्। छानिएका ३२ टिमलाई चार पोटमा विभाजन गरिएको छ। प्रत्येक समूहमा चार पोटका १–१ टिम पर्नेछन्।
विश्वकपमा छनोट भएका ३२ देशको इतिहास यस प्रकार छः

ब्राजिल

ब्राजिल दक्षिण अमेरिकाबाट रुसमा आयोजना हुने विश्वकपका लागि छानिने पहिलो देश हो। छनोटमा उत्कृष्ट प्रदर्शन गरेको ब्राजिल लगातार २१ पटक विश्व कप खेल्दै छ। यो सौभाग्य ब्राजिललाई मात्र प्राप्त छ। दक्षिण अमेरिकी छनोटमा ब्राजिलले शीर्ष स्थान हात पारेको थियो। सन् १९३० देखि ब्राजिलले लगातार विश्व कप खेल्दै आइरहेको छ। विश्व कपको सबैभन्दा सफल टिम मानिने ब्राजिलले सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ गरी पाँच पटक उपाधि जितेको छ।

उरुग्वे

उरुग्वे विश्व कप फुटबलको जन्मदाता हो। उरुग्वेले सन् १९३० मा विश्वकप फुटबल आयोजना गरेको थियो। दक्षिण अमेरिकी छनोटमा दोस्रो बनेर १३औं पटक विश्व कपमा सहभागी हुन लागेको उरुग्वे सन् २००२ यतादेखि अनवरत समावेश हुँदै आइरहेको छ। सन् १९३० पछि उरुग्वेले १९५०, १९५४, १९६२, १९६६, १९७०, १९७४, १९८६ र १९९० मा विश्वकप खेल्यो। यस्तै, उसले २००२, २००६, २०१० र २०१४ मा पनि प्रतिस्पर्धा गरेको थियो। उरुग्वे १९३० र १९५० को च्याम्पियन पनि हो।

अर्जेन्टिना

दक्षिण अमेरिकी छनोटको तेस्रो स्थानमा रहेको अर्जेन्टिनाले अन्तिम छनोट खेलपछि रुसको टिकट काटेको हो। अर्जेन्टिना १७औं पटक विश्व कप खेल्दै छ। डिएगो म्याराडोना र लिओनल मेसी जस्ता हस्तीहरू जन्मिएको यो देश सन् १९७४ देखि लगातार विश्व कपमा सहभागी छ।
अर्जेन्टिनाले १९३०, १९३४, १९५८, १९६२, १९६६, १९७४, १९७८, १९८२, १९८६, १९९०, १९९४, १९९८, २००२, २००६, २०१० र २०१४ मा विश्वकप खेलेको थियो। अर्जेन्टिना १९७८ र १९८६ मा विश्व च्याम्पियन भएको थियो।

कोलम्बिया

कोलम्बियाले दक्षिण अमेरिकी छनोटमा चौथो स्थान हात पार्दै रुसको टिकट काटेको हो। कोलम्बिया विश्व कपमा छनोट भएको यो छैटौं पटक हो। यसअघि कोलम्बियाले सन् १९६२, १९९०, १९९४, १९९८ र २०१४ को विश्व कप खेलेको थियो। कोलम्बियाको विश्व कपमा सम्झनलायक प्रदर्शन भनेको २०१४ मा क्वार्टरफाइनलसम्म पुग्नु हो।

पेरु

दक्षिण अमेरिकी छनोटमा पाँचौ भएपछि पेरुले अन्तर महादेशीय ‘प्लेअफ’ खेल्ने अवसर पाएको थियो। ‘प्लेअफ’मा क्यारेबियन क्षेत्रबाट छनोट भएको न्युजिल्यान्डलाई २–० ले पराजित गर्दै पेरुले ३५ वर्षपछि विश्व कपमा स्थान बनाएको हो। यसअघि पेरुले सन् १९८२ मा विश्व कप खेलेको थियो। पेरुले विश्व कप खेल्न लागेको यो पाँचौ पटक हो। १९३० को पहिलो विश्व कप खेलेको पेरुले १९७०, १९७८ र १९८२ मा पनि सहभागिता जनाएको थियो। पेरुको विश्व कपमा राम्रो प्रदर्शन १९७० र १९७८ मा हो। ऊ त्यति बेला दोस्रो चरणसम्म पुगेको थियो।

इरान

इरान एसियाको तेस्रो चरणको छनोटअन्तर्गत समूह ’ए’ को विजेता बन्दै विश्व कपका लागि छानिएको हो। इरानले विश्व कप खेल्न लागेको यो पाँचौ पटक हो। यसअघि उसले सन् १९७८, १९९८, २००६ र २०१४ मा पनि खेलेको थियो। विश्व कपमा इरानको खासै राम्रो प्रदर्शन छैन। ऊ दोस्रो चरण पनि पुग्न सकेको छैन।

जापान

जापानले एसियाको तेस्रो चरणको छनोटअन्तर्गत समूह ’बी’ को विजेता बन्दै रुसका लागि टिकट पक्का गरेको हो। जापान लगातार सन् १९९८ देखि विश्व कपमा समावेश छ। उसको यो पाँचौ सहभागिता हो। जापान सन् २००२ मा आफ्नै देशमा भएको र २०१० को दक्षिण अफ्रिकामा भएको विश्व कपमा अन्तिम १६ सम्म पुगेको थियो।

दक्षिण कोरिया

दक्षिण कोरिया एसियाको तेस्रो चरणको छनोटअन्तर्गत समूह ’ए’को उपविजेता बन्दै विश्व कपमा छनोट भएको हो। सन् १९८६ देखि लगातार विश्वकप खेल्दै आइरहेको कोरियाको यो दशौं सहभागिता हो। कोरियाले पहिलो पटक १९५४ मा विश्व कप खेलेको थियो। कोरियाको राम्रो प्रदर्शन भनेको २००२ मा आफ्नै देशले जापानसँग मिलेर संयुक्त रुपमा आयोजना गरेको विश्व कपमा सेमिफाइनलसम्मको यात्रा तय गर्नु हो।

साउदी अरेबिया

साउदी अरेबिया एसियाको तेस्रो चरणको छनोटअन्तर्गत समूह ‘बी’को उपविजेता बन्दै १२ वर्षपछि विश्व कप खेल्दै छ। सन् २००६ पछि छानिएको साउदीको विश्व कप सहभागिता यो पाँचौं पटक हो। साउदीले १९९४, १९९८, २००२ र २००६ मा प्रतिस्पर्धा गरिसकेको छ। साउदीको राम्रो प्रदर्शन भनेको १९९४ को पहिलो सहभागितामै अन्तिम १६ मा पुग्नु हो। त्यसपछि साउदी समूह चरणबाटै बाहिरिँदै आएको छ।

अस्ट्रेलिया

एसिया छनोटमा सिरियालाई पराजित गर्दै अस्ट्रेलियाले अन्तरमहादेशीय ‘प्लेअफ’ मा स्थान बनाएको थियो। ‘प्लेअफ’ मा कंगारु टोलीले होन्डुरसलाई ३–० गोलले पराजित गरेर विश्व कपमा स्थान बनायो। अस्ट्रेलिया पनि पाँचौ पटक विश्व कप खेल्दै छ। अस्ट्रेलियाले सन् १९७४ मा पहिलो पटक विश्व कप खेलेको थियो। २००६ यता ऊ लगातार विश्व कप खेल्दै आइरहेको छ। अस्ट्रेलिया २००६ को विश्व कपमा अन्तिम १६ मा पुगेको थियो। यो नै उसको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो।

रुस

रुस यसपालि आयोजकको भूमिकामा विश्व कप खेल्दै छ। रुसको यो एघारौं विश्व कप सहभागिता हो। सन् १९५८, १९६२, १९६६, १९८६, १९९०, १९९४, २००२ र २०१४ मा विश्व कपमा समावेश भएको रुस १९६६ मा चौथो भएको थियो, यो नै उसको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो। १९९० सम्म रुस सोभियत संघको नामबाट विश्व कप खेल्ने गर्‍यो।

बेल्जियम

बेल्जियम युरोप छनोटको समूह ‘एच’को विजेता बनेर १३औं पटक विश्व कपमा सहभागी भएको हो। यसपालिको विश्व कपमा युरोपबाट छनोट हुने बेल्जियम पहिलो देश हो। बेल्जियम सन् १९३० मा भएको विश्व कपको पहिलो संस्करणमा पनि सहभागी थियो। यसपछि बेल्जियमले १९३४, १९३८, १९५४, १९७०, १९८२, १९८६, १९९०, १९९४, १९९८, २००२ र २०१४ को विश्वकप खेल्यो। बेल्जियमको विश्व कपमा अहिलेसम्मको उत्कृष्ट प्रदर्शन भनेको १९८६ मा चौथो हुनु हो।

जर्मनी

जर्मनी ब्राजिलपछि सर्वाधिक विश्व कप खेल्ने टोली हो। यसपालि उसले युरोप छनोट अन्तर्गत समूह ‘सी’ को विजेता बन्दै रुसको टिकट काटेको हो। जर्मनी १९औं पटक विश्व कप खेल्दैछ। सन् १९५४ पछि जर्मनी लगातार विश्व कपमा सहभागी हुँदै आएको छ। जर्मनीले १९५४, १९७४, १९९० र २०१४ मा गरी चार पटक विश्व कप उपाधि जितेको छ।

इंग्ल्यान्ड

इंग्ल्यान्ड १५औं पटक विश्व कपमा सहभागी हुँदैछ। फुटबलको जननी मानिने यो देश युरोप छनोट अन्तर्गत समूह ‘एफ’ को शीर्ष स्थानमा रहँदै छनोट भएको हो। इंग्ल्यान्डले १९८२ देखि लगातार विश्व कप खेलिरहेको छ। १९५० मा पहिलो पटक विश्व कप खेलेको इंग्ल्यान्डले १९५४, १९५८, १९६२, १९६६ र १९७० मा प्रतिस्पर्धा गरेको थियो। यसपछि उसले १९८२, १९८६, १९९०, १९९४, १९९८, २००२, २००६, २०१० र २०१४ मा पनि विश्व कप खेलिसकेको छ। इंग्ल्यान्ड १९६६ को विश्व विजेता पनि हो।

स्पेन

सन् २०१० को विश्व विजेता स्पेन लगातार १५औं पटक विश्व कप खेल्दैछ। यसपालि युरोप छनोट अन्तर्गत समूह ‘जी’ को विजेता बन्दै स्पेनले रुसको टिकट पक्का गरेको हो। स्पेनले सन् १९३४ मा पहिलो पटक विश्व कप खेलेको थियो। त्यसयता १९५०, १९६२, १९६६, १९७८, १९८२, १९८६, १९९०, १९९४, १९९८, २००२, २००६, २०१० र २०१४ मा प्रतिस्पर्धा गरेको थियो।

पोल्यान्ड

युरोप छनोटमा उत्कृष्ट प्रदर्शन गरेको पोल्यान्ड समूह ‘ई’ को विजेता बनेर विश्व कपमा छनोट भएको हो। पोल्यान्डको १९३८, १९७४, १९७८, १९८२, १९८६, २००२ र २००६ सहित यो आठौं विश्व कप सहभागिता हो। पोल्यान्डको विश्व कपमा उत्कृष्ट प्रदर्शन भनेको १९७४ र १९८२ मा तेस्रो स्थान हात पार्नु थियो।

आइसल्यान्ड

आइसल्यान्ड विश्व कपमा सहभागिता जनाउने पहिलो टिम हो। उसले निर्णायक खेलमा कोसोभोलाई २–० ले हराउँदै विश्व कपमा आफ्नो स्थान सुरक्षित गरेको हो। जनसंख्याको आधारमा आइसल्यान्ड विश्व कपमा छनोट हुने सबैभन्दा सानो देश हो। आइसल्यान्डको कूल जनसंख्या ३ लाख ३५ हजार मात्र छ। यसअघि विश्व कप खेल्ने सानो देश ट्रिनिडाड एन्ड टोबाको थियो। सन् २००६ को विश्व कप खेलेको ट्रिनिडाड एन्ड टोबाकोको जनसंख्या १३ लाख छ। आइसल्यान्ड गत वर्ष भएको युरो कपमा पनि पहिलो पटक छनोट हुने टिम बनेको थियो।

सर्बिया

सर्बिया युरोप छनोटको समूह ‘डी’ मा शीर्ष स्थानमा रहेर विश्व कपका लागि छनोट भएको हो। सर्बियाले पछिल्लो पटक सन् २०१० को विश्व कप खेलेको थियो। विश्वकपमा सर्बिया १२औं पटक मैदानमा उत्रिँदै छ। सर्बियाको नाममा भने ऊ दोस्रो पटक विश्व कपमा छनोट भएको हो। सर्बिया एन्ड मोन्टेनेग्रोको नाममा दुई पटक विश्व कपमा सहभागिता जनाएको यो देशको पुरानो नाम युगोस्लाभिया हो। युगोस्लाभियाले विश्व कपमा सात पटक सहभागिता जनाएको थियो। युगोस्लाभियाले १९३० र १९६२ मा चौथो स्थान हात पारेको थियो।

पोर्चुगल

सातौं पटक विश्व कप खेल्न लागेको पोर्चुगल युरोप छनोटको समूह ‘बी’ को विजेता बन्दै रुसमा सहभागी हुन लागेको हो। पोर्चुगलको उच्च प्रदर्शन सन् १९६६ मा तेस्रो स्थान हात पार्नु हो। पोर्चुगलले १९६६, १९८६, २००२, २००६, २०१० र २०१४ मा विश्व कप खेलिसकेको छ।

फ्रान्स

सन् १९९८ को विश्व विजेता फ्रान्स १५औं पटक विश्व कप खेल्ने तयारीमा छ। युरोप छनोटको समूह ‘ए’ को विजता हुँदै फ्रान्स विश्व कपमा छानिएको हो। फ्रान्सले १९३०, १९३४, १९३८, १९५४, १९५८, १९६६, १९७८, १९८२ र १९८६ को विश्व कप खेलिसकेको छ। सन् १९९८ को विश्व कप आयोजक फ्रान्सले २००२, २००६, २०१० र २०१४ मा पनि सहभागिता जनायो।

स्विट्जरल्यान्ड

युरोप छनोटको ‘प्लेअफ’ मार्फत स्विट्जरल्यान्डले विश्व कपमा स्थान पक्का गरेको हो। ‘प्लेअफ’ मा उत्तरी आयरल्यान्डलाई समग्रमा १–० ले पराजित गर्दै यो देश लगातार चौथो पटक विश्व कप खेल्दै छ। समग्रमा स्विट्जरल्यान्डले एघारौं पटक विश्व कप खेल्न लागेको हो। यसको राम्रो प्रदर्शन १९३४, १९३८ र १९५४ मा क्वार्टरफाइनल पुग्नु हो। स्विटजरल्यान्डले १९३४, १९३८, १९५०, १९५४, १९६२, १९६६, १९९४, २००६, २०१० र २०१४ को विश्व कपमा सहभागिता जनाएको थियो।

क्रोएसिया

क्रोएसियाले युरोपको ‘प्लेअफ’मा ग्रिसलाई समग्रमा ४–१ गोलले पछि पारेर पाँचौ पटक विश्व कपमा स्थान बनायो। क्रोएसियाले १९९८ मा तेस्रो स्थान हात पार्नु अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो। फ्रान्सले विश्व कप जितेको यो प्रतियोगितामा क्रोएसियाले तेस्रो स्थानका लागि भएको खेलमा नेदरल्यान्ड्सलाई २–१ ले पराजित गर्यो। युगोस्लाभियाबाट छुटिएपछि सन् १९९८ मा पहिलो विश्व कप खेलेको क्रोएसियाले त्यसपछि लगातार विश्वकप खेल्दै आइरहेको छ।

स्विडेन

युरोप छनोटको पहिलो चरणबाट विश्व कपमा स्थान बनाउन नसकेपछि स्विडेनले ‘प्लेअफ’ को सहारा लियो। ‘प्लेअफ’ मा स्विडेनले चार पटकको विश्व विजेता इटालीलाई १–० ले हराएर १२ वर्षपछि विश्व कपमा स्थान बनायो। स्विडेनले विश्व कप खेल्न लागेको १२औं पटक हो। यसअघि उसले १९३४, १९३८, १९५०, १९५८, १९७०, १९७४, १९७८, १९९०, १९९४, २००२ र २००६ मा सहभागिता जनायो। विश्व कपमा स्विडेनको राम्रो प्रदर्शन १९५८ मा दोस्रो हुनु हो। स्विडेन फाइनलमा ब्राजिलसँग ५–२ ले पराजित भएको थियो।

डेनमार्क

डेनमार्कले युरोप ‘प्लेअफ’मा आयरल्यान्ड गणतन्त्रलाई ५–१ ले हराएर विश्व कपमा स्थान बनाएको हो। ८ वर्षपछि विश्व कपमा फर्किएको डेनमार्क पाँचौं पटक विश्व कप खेल्ने तयारीमा छ। डेनमार्कले १९८६, १९९८, २००२ र २०१० मा सहभागिता जनाएको थियो। डेनमार्कको विश्व कपमा उत्कृष्ट प्रदर्शन १९९८ मा क्वार्टरफाइनल पुग्नु हो।

मेक्सिको

उत्तर अमेरिकी छनोटको विजेता बन्दै मेक्सिको १६औं पटकका लागि विश्व कपमा छनोट भएको हो। सन् १९३० मा भएको पहिलो संस्करणमा पनि मेक्सिको सहभागी थियो। त्यसयता उसले १९५०, १९५८, १९६२, १९७०, १९७८, १९८६, १९९४, १९९८, २००२, २००६, २०१० र २०१४ मा प्रतिस्पर्धा गरिसकेको छ। मेक्सिको विश्व कपमा अहिलेसम्म क्वार्टरफाइनलभन्दा माथि पुग्न सकेको छैन। मेक्सिको १९७० र १९८६ को विश्व कपमा अन्तिम ८ मा पुगेको थियो।

कोस्टारिका

उत्तर अमेरिकी छनोटमा दोस्रो हुँदै कोस्टारिकाले पाँचौ पल्ट विश्व कपको टिकट पक्का गरेको हो। उसले १९९०, २००२, २००६ र २०१४ मा प्रतिस्पर्धा गरिसकेको छ। कोस्टारिकाले २०१४ को विश्व कपमा क्वार्टरफाइनलमा स्थान बनायो। यो नै उसको उच्च प्रदर्शन हो।

पानामा

पानामाले उत्तर अमेरिकी छनोटमा तेस्रो हुँदै पहिलो पटक विश्व कपको यात्रा तय गरेको हो। पानामाले अन्तिम खेलमा कोस्टारिकालाई २–१ ले पराजित गरेपछि अमेरिका भने ३० वर्षपछि विश्व कप खेल्नबाट वञ्चित भयो। विश्वकपमा पहिलो पटक छनोट भएको भोलिपल्ट पानामा सरकारले सार्वजनिक विदाको घोषणा गरेको थियो।

नाइजेरिया

नाइजेरिया अफ्रिका छनोटको तेस्रो चरण अन्तर्गत समूह ‘बी’ को विजेता बन्दै छैटौं पटक विश्व कपमा छानिएको हो। सन् १९९४ मा पहिलो पटक विश्व कपमा सहभागी भएको नाइजेरियाले १९९८ देखि लगातार भाग लिँदै आएको छ। पहिलो सहभागितामै अन्तिम १६ मा पुगेको नाइजेरिया १९९८ र २०१४ मा पनि प्रिक्वाटरफाइनमा पुगेको थियो।

इजिप्ट

इजिप्ट सन् २०१८ को विश्व कपमा अफ्रिकाबाट छनोट हुने दोस्रो देश हो। अफ्रिकी छनोटको समूह ‘ई’ मा पहिलो भएको इजिप्टले तेस्रो पटक विश्व कप खेल्दैछ। उसले १९३४ र १९९० मा पनि विश्व कप खेलेको थियो। दुवै पटक इजिप्ट पहिलो चरणबाटै घर फर्किएको थियो।

सेनेगल

सेनेगल विश्व कपमा छनोट भएको दोस्रो पटक हो। अफ्रिकी छनोटको समूह ‘डी’ अन्तर्गत शीर्ष स्थानमा रहेर सेनेगल १६ वर्षपछि विश्व कपमा फर्किएको हो। यसअघि सेनेगल २००२ को विश्व कपमा छानिएको थियो। त्यति बेला यो अफ्रिकी मुलुकले क्वार्टरफाइनलको यात्रा तय गरेको थियो।

मोरक्को

मोरक्को २० वर्षपछि विश्व कपमा फर्किएको हो। सन् १९९८ को विश्व कपयता मोरक्कोले स्थान बनाउन सकेको थिएन। अफ्रिकी छनोटको समूह ‘सी’मा शीर्ष स्थानमा रहेको मोरक्कोले पाँचौ पटक विश्व कप खेल्दै छ। विश्व कपमा मोरक्कोको उत्कृष्ट प्रदर्शन १९८६ मा अन्तिम १६ मा पुग्नु हो। मोरक्कोले यसअघि १९७०, १९८६, १९९४ र १९९८ मा विश्व कप खेलेको थियो।

ट्युनिसिया

ट्युनिसियाले पनि पाँचौ पटक विश्व कपमा स्थान बनाएको हो। अफ्रिकी छनोटको समूह ‘ए’ को शीर्ष स्थान हात पारेपछि ट्युनिसियाले २००६ पछि विश्व कपको टिकट पक्का पर्यो। ट्युनिसियाले विश्व कपमा खासै प्रभाव जमाउन सकेको छैन। सन् १९७८ मा पहिलो पटक विश्व कप खेलेको ट्युनिसिया १९९८, २००२ र २००६ मा समूह चरणबाटै घर फर्किएको थियो।

एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार