काठमाडौं (एजेन्सी)– लिओनल मेसीलाई पहिलो हाफमा विश्राम दिएको खेलमा बार्सिलोना च्याम्पियन्स लिगको अर्को खेलमा युभेन्ट्ससँग पुनः गोलरहित बराबरीमा रोकिएको छ।
गत अक्टुबरमा ओलम्पियाकोसले पाँच वर्षको अन्तरालमा च्याम्पियन्स लिगको समूह चरणको खेलमा बार्सिलोनालाई गोलरहित बराबरीमा रोकेको थियो। टुरिनमा बुधबार राती भएको खेलमा बार्सिलोना फेरि गोलरहित बराबरीमा रोकिन बाध्य भयो।
गत सिजन च्याम्पियन्स लिगको क्वाटरफाइनलअन्तर्गत पहिलो लेगको खेलमा टुरिनको यात्रा गर्दा बार्सिलोना ३–० गोलले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिन बाध्य भएको थियो।
यसपालि समूह चरणमा युभेन्ट्ससँग अंक बाँडेको स्पेनिस क्लबले ५ खेलमा ११ अंक बटुल्दै आफूलाई अंग्र स्थानमा राखेर अन्तिम १६ मा स्थान पक्का गरेको छ। युभेन्ट्सको ८ अंक छ। यही समूहमा स्पोर्टिङ लिस्बनले ३–१ गोलले ओलम्पियाकोसलाई पराजित गरेपछि युभेन्ट्सको पनि अघिल्लो चरण प्रवेश गर्ने सम्भावना गाह्रो पर्ने देखिन्छ।
लिस्बनको ७ अंक छ। उसले ५ डिसेम्बरमा नेउ क्याम्पमा बार्सिलोनासँग भिड्नु पर्नेछ। ग्रीक क्लब ओलम्पियाकोसको भिडन्त भने युभेन्ट्ससँग हुनेछ।
बुधबार रातीको खेलमा बार्सिलोनाले ५६ मिनेटमा मैदानमा उतारेको थियो। यो सिजन निकै व्यस्त रहेका मेसीलाई केही विश्राम दिने उद्देश्यले दोस्रो हाफमा मात्र उतारिएको प्रशिक्षक इर्नेस्टो भाल्भेर्डेले जानकारी गराए।
उनको स्थानमा इभर्टनका पूर्व विङ्गर गेरार्ड डेउलोफूलाई पहिलो हाफमा बार्सिलोनाले मैदानमा उतारेको थियो। आउँदो आइतबार स्पेनिस ला लिगाको दोस्रो स्थानमा रहेको भेलेन्सिया विरुद्ध खेल भएका कारण पनि बार्सिलोनाले मेसीलाई विश्राम दिएको थियो।