अब नगमाको कथाको पालो।’
दर्शकदीर्घातर्फ देब्रे लहरको अग्रपंक्तिमा बसेका रंगकर्मी राजन खतिवडा जुरुक्क उठ्छन्।
दोस्रो पंक्तिमा बसेकी नगमा माली लजाउँछिन्। अनुहारमा संकोचका रेखा नाच्न थाल्छन्।
राजन उनको छेवैमा आएर बस्छन्। मनोबल बढाउन उनको ढाडमा धाप मार्छन्।
नगमा लामो सास फेर्छिन्।
दुवैका आँखा मञ्चतिर सोहोरिन्छन्।
आकांक्षा कार्की मञ्चमा उक्लिसकेकी छन्। उनी नाटककी अभिनेत्री हुन्। नगमाको जीवन मञ्चन गर्दैछिन्।
‘रिहर्सल’ सुरु हुन्छ।
नगमा बनेकी आकांक्षा जिल्ला प्रशासन कार्यालयमा छिन्। लामबद्ध।
एउटा पात्रले सोध्छ, ‘बाबुको नाम?’
नगमा जवाफ दिन्छिन्।
फेरि सोध्छ, ‘आमाको नाम?’
उनी जवाफ दिन्छिन्।
‘घर–ठेगाना?’
‘हजुरबा–हजुरआमा?’
नगमा सबै जवाफ दिन्छिन्।
फेरि सोधिन्छ, ‘बा खोई? बा नभई नागरिकता बन्दैन!’
नगमा भन्छिन्, ‘ए हजुर! मलाई नागरिकता चाहिएको होइन, बाबु चाहिएको हो।’
‘अनि आमा?’
‘आमा यो संसारमै हुनुहुन्न।’
नगमाका आँखा नाटकबाट हटेकै छैनन्।
अघिसम्म आँखाका नानीमा मात्र सिएफएल चिमको उज्यालो टल्किरहेको थियो। अब आँखाका कोसमै टल्किन थाल्छ। र, विस्तारै चहकिलो बन्दै जान्छ।
म अर्को लहरमा बसेर सुरुदेखि उनैलाई नियालिरहेको छु। बेलाबेला मञ्चतिर हेर्छु, बढीजसो नगमालाई नियाल्छु। उनी र मबीच मुश्किलले पाँच मिटरको दुरी छ।
म प्रस्टै देख्छु, आँशुका केही ढिक्का उनका आँखाबाट झर्छन्।
राजन सान्त्वना दिँदै अघिझैं धाप मार्छन्। नगमा घोप्टो पर्छिन्। उनको काखमा ब्याग छ। एउटा हातमा मोबाइल च्यापेकी छन्। उनलाई पछाडिबाट कसैले न्यापकिन दिन्छ। उनी त्यही न्यापकिनले आँशु पुस्छिन्। र, फेरि नाटकतिरै आँखा लगाउँछिन्।
उनलाई हेर्नु पनि छ, हेर्दा घाँटीमा गाँठो पनि पर्छ।
जीवन आफैंले भोग्नु र आफूले भोगेको जीवन दर्शक बनेर हेर्नुमा अन्तर हुँदो रहेछ! एउटाले त त्यो क्षणको पीडा मात्र दिन्छ, अर्कोले त भरिसकेको घाउ पनि कोट्याई कोट्याई बल्झाइदिँदो रहेछ।
सशस्त्र द्वन्द्व क्रममा सेनाद्वारा बेपत्ता पारिएका बाबुको खोजीमा १४ वर्षदेखि भौंतारिरहेकी छोरी हुन्, नगमा। उनको यही जीवनकथामा आधारित नाटक ‘आधा सत्य’ मण्डला थिएटरले आज मंगलबार मञ्चन गर्दैछ।
बेपत्ता नागरिक दिवसका अवसरमा प्रदर्शन हुन लागेको यो नाटकले द्वन्द्वमा आफन्त गुमाएका छ जना पात्रको कथा भन्छ। ‘हामीले उनीहरूसँग अन्तर्वार्ता गरेर सकेसम्म महत्वपूर्ण घटना समेट्ने गरी नाटक डिजाइन गरेका छौं,’ निर्देशक राजन खतिवडाले सेतोपाटीसँग भने।
अन्तर्वार्ता लिइएका तिनै पात्रलाई मण्डला थिएटरले गत बिहीबार रिहर्सल हेर्न निम्ता गरेको थियो।
तिनैमध्ये एक थिइन्, नगमा माली।
वर्ष, १९।
ठेगाना, ललितपुर, ठेँचो।
…
मण्डलामा नगमालाई भेटेको पर्सिपल्ट म ठेँचोस्थित उनकै घर पुगेँ।
घरमा ७० वर्षीय हजुरआमा छिन्, जसलाई दमको ब्यथा छ। १४ वर्षीया बहिनी छिन्, जो आठ कक्षा पढ्छिन्। यति हुँदा पनि उनलाई घरिघरि एक्लोपन महसुस भइरहन्छ।
यसको कारण छ। कलिलो उमेरमै नगमाको जीवनबाट आफन्तको साथ किस्ता–किस्तामा छुट्दै गयो। सबभन्दा बढी त बाबुकै अभाव खट्किन्छ।
बाबु नन्दगोपाल माली, जो १४ वर्षअघि राज्यपक्षबाट बेपत्ता पारिए।
त्यतिबेला ३० वर्षका नन्दगोपाल धातुको मूर्तिमा बुट्टा कुँद्ने काम गर्थे। खेतबारीको काम पनि भ्याउँथे। ज्यान हट्टाकट्टा थियो। मिहिनेती देखेरै होला, उनी माओवादीका आँखामा परेका थिए। ठेँचो स्कुलमा पढ्दापढ्दै माओवादी सम्पर्कमा आए। आफूजस्तै गरिबको मुक्तिका सपना देख्न थाले।
२०६१ जेठ महिनाको एक रात।
मूर्ति बनाउने साहुकहाँ गएका नन्दगोपाल अबेरराति घर फर्के। साहुको छोरा सँगै थियो। उनले घरका लागि केही सामान ल्याइदिएका थिए।
सानीछोरीका लागि खेलौना। ठूली छोरी नगमाका लागि कापी–कलम। आमाका लागि घडी। बुबाका लागि छाता। र, केही लत्ताकपडा।
त्यो रात साहुको छोराले मासु किनेर ल्यायो। आमाले पकाइन्। सबै सँगै बसेर मासुभात खाए। खाँदाखाँदै नन्दगोपालले भने, ‘अब ठूलो मूर्ति बनाउनुछ, दुई–चार दिन आउँदिन।’
उनले त्यही रात घर छाडे। फर्कंदा साहुको छोरा सँगै थियो।
दुई–चार दिन बित्यो। नन्दगोपाल फर्केनन्।
दुई–चार साता बित्यो। नन्दगोपाल फर्केनन्।
दुई–चार महिना बित्यो। नन्दगोपाल फर्केनन्।
दुई–चार वर्ष बित्यो। नन्दगोपाल तै फर्केनन्।
घरनजिकै मेडिकल पसल थियो। सुरुसुरुमा त नन्दगोपाल दिन बिराएर त्यहाँ फोन गरिरहन्थे। आमा र छोरीहरूको सन्चो–बिसन्चो सोध्थे। एक्कासि फोन आउन ट्याप्पै बन्द भयो।
उनी बेपत्ता भए।
त्यही बेला गाउँका अरू दुई जना पनि बेपत्ता भएका थिए। कसैले भने, ‘भैरवनाथ गणमा राखिएको छ।’ उनीहरूले खुब सोधिखोजी गरे। फेला परेनन्। पर्दै परेनन्।
ठ्याक्कै तेह्र वर्ष बित्यो। नन्दगोपाल फर्केरै आएनन्।
‘आमा त सानैमा छाडेर गइसकेका थिए, बुबा पनि अलप हुनुभो,’ नगमा दाहिने खुट्टाको बूढीऔंलाले भुइँ कोतर्दै टोलाइरहिन्।
‘आमाबाबुको माया त सम्झँदा पनि सपनाजस्तै लाग्छ मलाई। आँखा चिम्लँदासम्म आनन्द आउने, आँखा खोले फ्याट्ट बिलाइजाने!’
यसो भन्दा उनको अनुहारको रङै उडेर गयो। यस्तो लाग्यो, मुटुको अमीलोले अनुहारको उज्यालो पखालेर लगेको छ।
नगमालाई बढी छटपटी बुबाकै यादले हुन्छ। आमाको त सम्झना पनि धूमिल भइसक्यो। जम्मा पाँच वर्षकी त थिइन् उनी, आमा बित्दा। सानी बहिनी जन्मेको त केही बेर मात्रै भएको थियो। यता दोस्रो छोरीको पहिलो रुवाइ फुटेको थियो, उता आमा सधैंका लागि शान्त भएकी थिइन्।
नगमालाई यत्ति सम्झना छ, उनकी आमा गलैंचा कारखानामा काम गर्थिन्। हाकुपटासी पनि बुन्थिन्। दिनभरि काममा जान्थिन्। नगमाको समय हजुरआमासँगै बित्थ्यो।
आमाको निधन भएको दिन उनी सानिमाको घर गएकी रहिछन्। दुई दिनसम्म कसैले केही भनेनन्। घर फिर्दा हजुरआमाका आँखा सुन्निएका थिए। बुबा र हजुरबा निन्याउरो मुख लगाएर घोप्टो परेका थिए। सानी नगमाले चारैतिर आँखा डुलाइन्। उनलाई अलि खल्लो–खल्लो लाग्यो। घरमा आमाको गन्ध त थियो, तर आमा थिइनन्।
र, आफ्नो सट्टामा छाडेर गएकी थिइन्, सानी बहिनी।
कसैले भने, ‘तेरी आमा मरिन् नानी!’
त्यतिबेला उनलाई ‘मर्नु’ को अर्थ थाहा थिएन। जति बुझ्दै गइन्, बल्ल थाहा पाइन्, मर्नु भनेको त कपडाबाट कपुरको बासना बिलाएजस्तो घरबाट आमाको बासना पनि हराउँदै जाने नियति पो रहेछ!
एकदिन घरबाट आमाको बचेको गन्ध पनि पूरै हरायो।
त्यस दिन नगमा पहिलोचोटि दुःखी भइन्।
दोस्रो चोट त्यतिबेला लाग्यो, जब उनले देखिन्, आमाले आफ्नो सट्टामा छाडेर गएको चिनो सबैको अपहेलनाको शिकार हुँदैछ। मामाघरतिरका आफन्तले धरि ती नाबालिग बहिनीलाई ‘आमा खाने छोरी’ भनेर सराप्दा नगमाको मुटु गाँठो परेर आउँथ्यो।
बादल लागेका ती दिनमा नगमा आफ्नो बुबाको अनुहार हेरेरै चित्त बुझाउँथिन्।
आखिर सानी बहिनीलाई खेलौना ल्याइदिने, उनलाई होमवर्क सिकाइदिने उनै बुबा त थिए।
उनलाई त्यस दिन आफू पूरै एक्लिएको अनुभूति भयो, जब आमासँगै बुबाको गन्ध पनि घरबाट बिलायो।
आमाबुबा दुवैले छाडेर गएपछि नगमा र उनकी बहिनीका सहारा भए बूढेसकाल लागेका हजुरबा र हजुरआमा।
हजुरबाले मजदुरी गरेर, हजुरआमाले सुकुल बुनेर घरखर्च टार्न थाले। हजुरबालाई आफ्नो छोरा माओवादीमा लागेको फिटिक्कै मन परेको थिएन। भित्र मनमा जे भए पनि बाहिरबाट निच मारेझैं गरे। तर, आमा त लाख गल्ती गरे पनि छोराको मायाका अगाडि मैन भइहाल्छिन्। राम्ररी नेपाली बोल्न नजाने पनि उनले कुनै ठाउँ छाडिनन् छोरालाई खोज्न। ब्यारेक पुगिन्। चौकी–चौकी चहारिन्। जुलुसमा हिँडिन्। ‘कि लास देऊ कि सास देऊ’ भन्दै नारा लगाइन्। अनसन बसिन्। भेटेजति माओवादी कार्यकर्तासँग छोराको सोधखोज गरिन्।
समयको घडीमा सेकेन्ड, मिनेट, घन्टा, दिन हुँदै वर्ष बित्यो। सशस्त्र युद्ध पनि सकियो। लोकतन्त्र बहालीपछिको सरकारबाट उनीहरूले ठूलै आस संगालेका थिए। त्यो पनि पूरा भएन।
बरु यसबीच घाँटीको क्यान्सरले नगमाका हजुरबालाई लग्यो।
‘छोरासँग रिसाउनुभएको हजुरबा जीवनको अन्तिम घडीमा छोरालाई खुब खोज्न थाल्नुभएको थियो,’ नगमाले भनिन्, ‘आखिरमा छोराको सन्चो–बिसन्चो थाहै नपाई बित्नुभयो।’
नगमाका बुबा रेडियो सुन्दै मूर्तिमा बुट्टा हान्थे। रोगले थला परेर बोल्न नसक्ने भएका हजुरबा खाट ठटाउँदै त्यही रेडियोमा छोराको खबर सुनाइमाग्थे। पछि गएर त उनले सुन्ने गरी रेडियो कहिल्यै बोलेन। करिब तीन वर्ष क्यान्सरसँग जुधेका उनी छोराको समाचार नसुन्दै स्वर्गे भए।
नगमाको अर्को साथ पनि छुट्यो।
यसै क्रममा पहिलो संविधानसभा निर्वाचन आयो। माओवादी तर्फबाट भोट माग्नेले नगमाको घर आएर भन्यो, ‘इँचाःमोचाः ले भोट तसा माओवादी ट्याई। अले छिमि तः पिँ क्या–म्ह्या जिम्सँ माला बि।’ (हँसिया–हथौडामा भोट दिनुभयो भने माओवादीले जित्छ। अनि हामी तपाईंका बेपत्ता सन्तान खोजिदिन्छौं।)
माओवादीले बहुमत ल्यायो। ललितपुर–३ बाट पम्फा भुषालले जितिन्। ठेँचोबाट बेपत्ता तीन नागरिकको घरअगाडि रंगोली बनाइयो। दीपप्रज्वलन गरियो। उनीहरूलाई आस मात्र होइन, विश्वास नै थियो, माओवादीले आफन्त खोजिदिन्छ! त्यसमाथि पम्फा भुषाल घरमै आएर ‘म हेर्छु’ भनेपछि त सबैको आडभर हलक्कै बढ्यो।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भए। बेपत्ता परिवारका आफन्त बाटो कुर्न थाले। नगमा पनि बुबाको झल्कोले बेलाबेला झसंग–झसंग हुन्थिन्।
तर, ती सबैका आस पानीका फोकाझैं बिलाए। जसको पछि लागेर मान्छे बेपत्ता भए, उनै शक्तिमा हुँदा पनि खोजबीन भएन।
नगमालाई लाग्न थाल्यो, यी सब मिथ्या रहेछन्!
उनले नदेखिएका बाबुसँग मनमनै गुनासो गरिन्, ‘तपाईं किन माओवादीमा जानुभएको बुबा?’
यसरी हरेस खाइसक्दा पनि नेताहरू भने आश्वासन दिन छाड्थेनन्। उनीहरू सधैं एउटै कुरा दोहोर्याउँथे, ‘पीर नगर नगमा, हामी छौं।’
‘यो कुरा त नेता आउँदा मात्र हुँदो रहेछ,’ नगमाले दुःखेसो पोखिन्, ‘ठूला नेता आउँदा घरभरि जुत्ता–चप्पलको चाङ लाग्थ्यो। कुनै भोजभतेर भइरहेजस्तो लाग्थ्यो। जब उनीहरू जान्थे घर चकमन्न हुन्थ्यो। खोजेको बेला कसैको साथ पाइँदैनथ्यो।’
एकपछि अर्को सहारा चुँडिएर होला, स्कुलमा पनि उनका मिल्ने साथी त्यति थिएनन्। कतै पिकनिक जाँदा होस् या साँस्कृतिक कार्यक्रममा, उनी एक्लिन्थिन्। एक्लोपनको प्रभाव उनको पढाइमा पर्यो।
‘बुबा बेपत्ता हुँदा म दुई कक्षा पढ्थेँ, पढाइ राम्रो थियो,’ भावुक हुँदै उनले भनिन्, ‘उहाँ बेपत्ता भएपछि पढाइ कमजोर हुँदै गयो।’
एकदिन अचम्मै भयो।
नगमा आठ कक्षा पढ्थिन्। स्कुलमा उनका बुबा आइपुगे, विज्ञान शिक्षक बनेर!
ती शिक्षक कक्षामा छिर्नेबित्तिकै नगमा खङरङ्गै भइन्। गोडा लगलग कामे। जिउभरि काँडा उम्रे। ज्यान मुटुसम्मै चिसो भयो।
शिक्षकले परिचय दिँदै भने, ‘मेरो नाम श्याम लामा।’
उनी फेरि भिरबाट खसेझैं भइन्। एकछिन त त्यसै टोहोलो परिरहिन्।
‘अनुहारदेखि, बोलिचाली, हिँडाइ सबै उस्तै! कसरी श्याम लामा हुन्छ? पक्कै बुबाले ढाँटेको हो,’ उनले सम्झिइन्, ‘त्यो दिनभरि सरले के पढाउनुभयो सुन्नै सकिनँ। भोलिपल्ट त होमवर्क पनि उल्टो–उल्टो लेखेछु।’
श्याम रमाइला शिक्षक थिए। कक्षाका विद्यार्थी हल्ला गर्दा कथा सुनाउँथे। आफू पोखरामा पढेको, बाबुआमाले साह्रै दुःख गरी पढाएको भन्थे। उनका कुरा सुनेर नगमालाई भने अचम्म लाग्थ्यो, खै बुबासँग घटना मिल्दैन त!
‘म सोच्थेँ, बुबा बेपत्ता हुनुभएको होइन रहेछ! पोखरा गएर पढेर आउनुभएको रहेछ! तर, किन ढाँटिरहनुभएको छ? किन मलाई चिन्नुहुन्न? किन मलाई बोलाउनुहुन्न? छोरी भनेर किन मलाई अंगालो मार्नुहुन्न बुबा?’ बालमनमा जागेको खुसी सुनाउँदा नगमाका आँखा उदास भए।
उनी श्याम सरको अनुहारलाई आफ्नो बुबासँग दाँज्न चाहन्थिन्। घर आइन्। फोटो खोजिन्। खानतलासी गर्दा केही नेगेटिभ भेट्टाइन्। त्यसैलाई धुलाइन्। फूपूसँग पनि फोटो मागिन्। त्यही आधारमा श्याम सरसँग दाँज्न थालिन्।
स्कुलमा श्याम सरको अनुहार र घर आएर बुबाको तस्बिर नियाल्नु उनको दैनिकीजस्तै बन्यो।
श्याम सर पेन्टिङ पनि सिकाउँथे। विद्यार्थी हल्ला गरिरहेका बेला बेन्चमा हात बजार्थे। यस्तो बेला उनका हातका नसा फुल्थे। नसा फुल्दा त नगमालाई ठ्याक्कै आफ्नो बुबाको जस्तै लाग्थ्यो। उनलाई सम्झना थियो, खेतमा काम गरिरहेका बेला होस् या मूर्तिमा बुट्टा कुँद्दा, उनका बुबाको हातका नसा उसैगरी भरिएर आउँथे।
उनले आफ्नो मनको तुलबुल एक जना साथीलाई सुनाइन्। साथीले श्याम सरलाई सुनाइदिछन्। श्याम सरले उनका बुबाको तस्बिर मागेछन्। भोलिपल्ट नगमाले तस्बिर ल्याएर दिइन्। तस्बिर हेर्दै श्याम सरले सोधेछन्, ‘यो मेरो पुरानो फोटो कहाँबाट आयो?’
त्यस दिनदेखि श्याम सरले नगमालाई ‘छोरी’ नै भन्न थाले। छोरीजस्तै माया दिन थाले। पढाइमा नगमाको ध्यान बढ्न थाल्यो।
तै नगमालाई श्याम सर आफ्नो बुबा हो कि होइन भन्ने दोधार बाँकी थियो।
एकदिन कथा हाल्ने क्रममा श्याम सरले आफ्नो प्रेमकथा सुनाए। त्यो कथामा उनले आफ्नी आमालाई खोजिन्। भेटिनन्।
त्यसपछि पक्का भयो, ‘श्याम सर मेरो बुबा होइन रहेछ!’
अहिले पनि जब–जब बुबाको याद आउँछ, श्याम सरको अनुहार नगमाको आँखाभरि नाच्न थाल्छ।
मनमनै सोच्छिन्, ‘किन मलाई ढाँटिरहनुभयो बुबा? किन मलाई चिन्नुभएन? किन मलाई बोलाउनुभएन? छोरी भनेर किन मलाई अंगालो मार्नुभएन बुबा?’
…
पाँच वर्ष भयो, नगमाकी हजुरआमालाई चौबीसै घन्टा अक्सिजनको पाइप नाकमा जोडेर राख्नुपरेको छ।
पन्ध्र किलो वजनका दुइटा सिलिन्डर दिनकै चाहिन्छ। दिनकै ६ सय रुपैयाँ खर्च हुन्छ। नगमा र उनकी बहिनीको पढाइका लागि आएको सहयोग हजुरआमाको उपचारमै सकिन्छ।
यस्तो बेला आफन्तले पनि मुख मोडेका छन्। हजुरबाको भागमा परेका जग्गासमेत दाजुभाइले हडपिदिएका छन्। अहिले उनीहरू बसिरहेको घर भुइँचालोले चर्किएको छ। त्यही पनि भत्काएर ‘बाटो चाहियो’ भन्दा रहेछन्।
यो पीडा पोख्ने कसलाई!
एकदिन उनले पम्फा भुषाललाई फोन गरिन्। उठेन। केही महिनापछि गाउँ आएका बेला भनिछन्, ‘तिमीले अस्ति मिस्कल गरेकी थियौ है?’
‘मलाई त मुखभरिको जवाफ दिन मन थियो, तर सम्हालिएँ,’ नगमाले भनिन्।
उनले पटक–पटक आफूलाई सम्हाल्दै आएकी छन्। फेसबुकमा भएभरका नेतालाई गाली गर्दै स्ट्याटस लेखुँलेखुँ लाग्छ रे। मन मारेर बस्छिन् रे।
एकचोटि त असह्य भएछ। लेखिन्, ‘फिलिङ अलोन।’
उनको हालत अहिले यस्तै छ– फिलिङ अलोन।
उनी जसरी पनि बुबाको खोजखबर गर्न चाहन्छिन्। यही रनाहामा थुप्रै पत्रकारसँग भेटिन्। पत्रकार सुन्दर खनालले ठूलै सहयोग गरेको उनी बताउँछिन्। पत्रकारसँग भेट भइरहँदा उनले बुझिन्, ‘यिनीहरूलाई त जहाँ जान पनि छुट हुँदो रहेछ। म पनि पत्रकार भएँ भने हराएका बुबा खोज्न सक्छु।’
यही मेसोमा अर्का पत्रकार भवसागर घिमिरेसँग भेट भयो। ‘के बन्ने’ भनेर घिमिरेले सोध्दा उनको मुखबाट फ्याट्ट निस्कियो, ‘पत्रकार।’
नभन्दै उनी प्लस टुमा पत्रकारिता लिएर भर्ना भइन्। अहिले स्नातकमा पत्रकारिता नै पढिरहेकी छन्।
बहिनीको पनि एउटै ध्याउन्न छ, बुबा खोज्ने। भन्छिन्, ‘म त आर्मी हुन्छु, आर्मी भएर ब्यारेक–ब्यारेक गएर बुबालाई खोज्छु।’
यी दिदी–बहिनीसँग दुईवटा मसिनो आशाको डोरी छ।
एकपटक छाउनी ब्यारेकमा एक जना आर्मीले हजुरआमासँग भनेका थिए रे, ‘म बालाजुमा ६ महिना नन्दगोपालसँगै थिएँ।’
‘उनले बुबाको बारेमा ठ्याकठ्याक कुरा मिलाएका थिए रे। बुबाले घरको बारेमा पनि भन्नुभएको थियो रे। त्यसैले मलाई बुबा जीवितै हुनुहुन्छ भन्ने आस छ,’ नगमाले भनिन्।
बहिनीले त घरिघरि सपना नै देखिसकिन्।
‘मैले कहिले पनि बुबाको बारेमा नराम्रो सपना देखेको छैन। खालि बुबा घर छिर्दै गरेको, मलाई होमवर्क सिकाएको देख्छु,’ उनले भनिन्।
कहिलेकाहीँ त सपनामा कोही आएर भन्दा रहेछन्, ‘तिम्रो बुबा बारामा हुनुहुन्छ।’
नगमालाई अर्को आशा पनि छ, आज मंगलबार मण्डला थिएटरमा आफ्नो यो जीवनकथामा आधारित नाटक मञ्चन भइरहँदा संयोगले कोही निस्कने पो हुन् कि, जसले उनको बुबालाई चिन्छन्!
त्यस्ता व्यक्ति भेटे उनी खबर पठाउने छिन्, ‘छोरी भनेर किन मलाई अंगालो मार्नुहुन्न बुबा?’