‘न्यूज ब्रेकर’ थिए प्रकाश, धेरै पत्रकारले प्रकाशको फेसबुक हेरेर समाचार बनाउथे

प्रकाश दाहाल सँधै मिडियाको नजरमा परे। उनी सँधै मिडियाबाट आलोचित भइरहे। विभिन्न विवादको घेरामा तानिएर कैयौंपटक उनी आफै समाचारको विषयपनि बने।

तर, प्रकाश दाहाल यस्ता पात्र थिए, जसले दुई वर्षयता मात्र केही महत्वपूर्ण न्यूज र तस्वीर ब्रेक गरे। सायद प्रचण्डका साथमा प्रकाश नहुँदा हुन् त, ती कतिपय घटना सार्वजनिक हुने थिएनन् वा ढिलोमात्र हुने थिए।

घटना १
भारतको दक्षिणी पर्यटकीय शहर गोवामा ब्रिक्स–बिमस्टेक राष्ट्रहरुको सम्मेलन भएको थियो, २०७३ असोज अन्तिम साता। बिमस्टेक राष्ट्रका सरकार प्रमुखको हैसियतमा प्रचण्डपनि त्यहाँ निम्त्याइएका थिए। २९ असोजका दिन प्रचण्डको चिनिया राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग औपचारिक भेटवार्ता भइसकेको थियो।

त्यसपछि प्रचण्ड आफू रहेको होटलको वेटिङ रुममा बसे। त्यसैबेला प्रचण्डको वेटिङ रुममा चिनिया राष्ट्रपति जिनपिङ छिरे। त्यहाँ दुई शीर्ष नेताबीच एकछिन कुराकानी भयो। कुराकानी चल्दै गर्दा भारतीय प्रधानमन्त्री मोदीपनि त्यो कक्षमा छिरे। अब तीन शीर्ष नेताबीच त्रिपक्षीय सम्बन्धका विषयमा कुराकानी भयो।

प्रधानमन्त्री प्रचण्डसँगै रहेका पुत्र प्रकाशले त्यो ऐतिहासिक क्षणको तस्वीरमात्र खिचेनन्, लगत्तै उनले त्यसलाई सामाजिक सञ्जालमार्फत् सार्वजनिक पनि गरे।

प्रकाशले मध्यराती फेशबुकमा राखेको त्यही सूचना र तस्वीरका आधारमा उनीसँग थप कुराकानी गरी नेपालखबरले तत्कालै ‘ब्रेकिङ न्यूज’ दिएको थियो। भोलीपल्ट आइतबार यो समाचारले नेपालमामात्र होइन अन्तर्राष्ट्रिय चर्चा पायो।

गोवामा दाहालले सँगै भेटे सी र मोदीलाई

गोवामा यसरी भयो अप्रत्याशित त्रिपक्षीय भेटवार्ता

त्यो अनौपचारिक भेटघाटको तस्वीर सार्वजनिक गरेकोमा प्रकाशले कतिसम्म आलोचना बेहोर्नुप¥यो भने, त्यसपछि उनले त्यसलाई आफ्नो फेसबुकबाट समेत हटाए।

घटना २
स्थानीय तह निर्वाचनताका कांग्रेस–माओवादी केन्द्रसहितको सरकार थियो। सरकारमा साझेदारीमात्र थिएन, नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चितवनको भरतपुर लगायत केही स्थानीय तहमा तालमेल भएको थियो। भरतपुरमा भएको तालमेलप्रति कांग्रेसका कतिपय स्थानीय कार्यकर्ता सन्तुष्ट थिएनन्।

त्यसैले, भरतपुरमा कांग्रेस–माओवादी केन्द्रकी साझा उम्मेदवार रेणु दाहालको पक्षमा माहोल सिर्जना गर्न कांग्रेस सभापति शेरबहादुर देउवाका साथ प्रचण्ड चितवन गए, २८ बैशाखमा । उनीहरु एउटै उडानबाट भरतपुर गएका थिए। देउवा र प्रचण्डका साथमा थिए प्रकाशपनि।

उडानमा यी दुई शीर्ष नेता एउटै सिटमा बसेका थिए भने प्रकाश चाहिँ देउवा र प्रचण्ड भन्दा अगाडिको सिटमा थिए। त्यो दुर्लभ क्षणलाई तस्वीरमा उतार्न प्रकाशले बाँकी राखेनन्। देउवा–प्रचण्डसँगै आफूसमेत आउने गरी उनले जहाजभित्रै सेल्फी खिचे। र, फेसबुकमा तत्काल पोष्टपनि गरे।

देउवा र प्रचण्डका साथमा अरु सहयोगी नभएका होइनन्। तर, प्रकाश नहुँदा हुन् त, त्यो रोचक र ऐतिहासिक तस्वीरपनि सम्भवतः सार्वजनिक हुने थिएन।

घटना ३
स्थानीय चुनावमा भएको भरतपुर प्रकरणका कारण एमाले–माओवादी केन्द्रबीचको सम्बन्ध झन नराम्रोसँग बिग्रियो। भरतपुरमा माओवादी केन्द्रबाट मेयरकी प्रत्यासी रेणु दाहालसँग प्रतिस्पर्धा गरेर पराजित बनेका एमाले उम्मेदवार देवी ज्ञवाली प्रचण्डसँग यति धेरै आक्रोसित थिए कि, लाग्थ्यो, प्रचण्ड–देवीबीच सुमधुर सम्बन्ध सायदै होला।

तर, ‘राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैनन्’ भन्ने भनाई प्रचण्ड–देवीबीचको सम्बन्धमा सार्थक हुन पुग्यो। त्यसको प्रस्थानविन्दू थियो, एमाले अध्यक्ष ओली निवासमा ८ कार्तिकमा दुईबीच भएको आकस्मिक भेट। चुनावका सम्बन्धमा कुराकानी गर्न बालकोट पुगेका प्रचण्ड र देवीबीच ओलीले परिचय गराएका थिए। उनीहरुबीच ५ मिनेट कुराकानीपनि भयो।

भेटघाटमा प्रकाश सँगै रहन त पाएनन्। तर, प्रचण्ड–देवीबीचको भेट अघि नै प्रकाशले ओली निवासबाहिर देवीसँग बसेर फोटो खिचिसकेका थिए। त्यसलाई उनले फेसबुकमा राखे। त्यसपछि ओली निवासमा प्रचण्ड–देवीबीच भेटघाट भएको सार्वजनिक हुन पुग्यो।

प्रकाश–देवी सँगै बसेको त्यो फोटो सार्वजनिक भएपछि ओलीसँगै प्रचण्ड–देवी रहेको फोटोपनि सार्वजनिक हुन पुग्यो, जुन ओलीका निजी सचिव अनिश दाहालले खिचेका थिए। यदि प्रकाशले देवीसँग बसेको फोटो सार्वजनिक नगरेको भए सम्भवतः प्रचण्ड–देवीबीच सुमधुर सम्बन्धको प्रस्थानविन्दू बनेको त्यो घटनापनि सम्भवत सार्वजनिक जानकारीमा आउन समय लाग्ने थियो।

प्रकाश अब हामीबीच छैनन्। तर, उनले ब्रेक गरेका यी घटना, तस्वीरहरुका कारण उनी सँधै सञ्चारकर्मीहरुका मनमस्तिष्कमा रहिरहनेछन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार