काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालको आज बिहान निधन भएपछि परिवार शोकाकुल छन् । शुभचिन्तक स्तब्ध छन् । ३७ वर्षीय दाहाललाई आज बिहान ५:५० मा उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो । लगत्तै उनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।
चुनावी अभियानको क्रममा झापामा रहेका पुष्पकमल दाहाल काठमाडौं आइपुगेपछि प्रकाशको शव पेरिसडाँडास्थित माओवादी केन्द्र मुख्यालय लगिएको थियो । पेरिसडाँडामा श्रद्धाञ्जलीपछि आजै साँझ उनको अन्त्येष्टि गर्ने तयारी छ ।
प्रकाशको निधन भएलगत्तै उनका शुभचिन्तक, पार्टीका नेता तथा कार्यकर्ता अस्पताल पुगेका थिए । अन्य पार्टीका शीर्ष नेताहरु पनि दाहाल परिवारलाई समवेदना दिन अस्पताल पुगेका थिए ।
पति प्रकाश दाहालको आइतबार बिहान असामायीक निधन भएपछि पत्नी बिना मगर थापाथली स्थिति नर्भिक अस्पताल पुगेकी छिन् ।
भावविह्वल हुँदै अस्पताल पुगेकी उनलाई सम्हालन शुभचिन्तकहरुलाई समेत हम्मे हम्मे परेको थियो ।
हृदयघात भएपछि प्रकाश दाहाललाई पौने ६ बजे थापाथली स्थित नर्भिक पुर्याइएको थियो । उपचारको क्रममा उनको निधन भएको थियो ।
कञ्चनपुरमा प्रत्यक्ष तर्फकी उम्मेदवार रहेकी बिना चुनावी प्रचार प्रसारका क्रममा जिल्लामा नै रहेकी थिइन् ।