नेपाल लाइभ
राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका एक नेता राजेन्द्र महतो गृहजिल्ला सर्लाही छाडेर धनुषा–३ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ चुनावी प्रतिस्पर्धा गर्दै छन्। उनले कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधि प्रतिस्पर्धा गरिरहेकै क्षेत्र रोजेका छन्। चुनावी अभियान र मधेस मुद्दामा केन्द्रित रहेर महतोसँग नेपाल लाइभका किशोर दहालले गरेको कुराकानी:
तपाईंहरुले लामो समय अहिलेको संविधानको विरोध गर्नुभयो। तर, अहिले त्यसैको कार्यान्वयनका लागि निर्वाचनमा जुटिरहनुभएको छ नि!
कार्यान्वयन होइन, संविधानमा आवश्यक सुधार र संशोधनका लागि जुटेको हो। यो संविधानमा केही कुरा ठीक र केही कुरा बेठीक छ। मधेसको सवालमा बेठीक छ। जनजातिको सवालमा बेठीक छ। दलितको सवालमा बेठीक छ। जहाँजहाँ बेठीक छ, त्यसलाई ठीक पार्नुपर्छ। यो निर्वाचन भनेको संसदीय लडाइँ हो। जुन कुराका लागि सडक संघर्ष गरिएको हो, हाम्रो त्यो आन्दोलन सकिएको छैन। आन्दोलनको रुप फेरिएको छ, अहिले सडक आन्दोलन स्थगित गरिएको छ। सडक आन्दोलन पनि संविधान संशोधनकै लागि हो। हामीले यो चुनावलाई पनि संघर्षकै रुपमा लिएका छौं र यसले संसदभित्रको आन्दोलनलाई बल पुर्याउँछ। त्यसैले हामीले संसदको आन्दोलनको तयारी गरिरहेका छौं।
यो बाटोबाट संविधान संशोधन हुन्छ होला?
नगरी सुखै छैन। संविधान संशोधन भएन भने यो मुलुक चल्दैन। मुलुक धेरै संकटमा पर्छ। द्वन्द्व धेरै बढ्छ। आफ्नै गोरुको बाह्रै टक्का भनेर हुँदैन। ‘सारा नेपाली पञ्च, सारा पञ्च नेपाली’ भन्ने जातिवादी व्यवस्था कहाँ गयो? त्यस्तै,९० प्रतिशतले बनाएको संविधान संशोधन हुनुपर्छ भन्ने पक्षमा झन्डै ६० प्रतिशत त आइसके नि! अब दुई तिहाईका लागि ६ प्रतिशत भए पुग्छ। त्यो पुग्छ। देश थोडी यसरी चल्छ! जनतालाई अधिकार दिएन भने सडकबाटै संविधान परिवर्तन हुन्छ, व्यवस्था परिवर्तन हुन्छ। त्यसैले अंकगणित देखाएर धेरै लामो समयसम्म टिक्न सक्दैन।
विमलेन्द्र निधिसँग चुनाव लड्नु तपाईंका निम्ति कति चुनौती र कति अवसर हो?
निधि यो देशको सबैभन्दा ठूलो पार्टीको मधेसका सबैभन्दा ठूलो नेता हुनुहुन्छ। जुन संविधानले दर्जनौं मधेसीको हत्या गर्यो, यो संविधान निर्माणमा उहाँको पनि ठूलो भूमिका छ। यहाँका जनता उहाँको नाम लिन चाहँदैनन्। संविधानमा हस्ताक्षर गरेर उहाँले मधेसी जनतालाई धोका दिनुभएको छ। यो निर्वाचन जनताको लागि एउटा प्रश्न हो, संविधान निर्माणका क्रममा हाम्रो हत्या गर्नेलाई दण्डित गर्ने कि पुरस्कृत गर्ने?
तपाईंको निम्ति चाहिँ उहाँसँग चुनाव लड्नु अवसर कि चुनौती भयो त?
केही चुनौती छैन। जनकपुरमा उहाँसँग चुनाव लड्नु जरुरी थियो। किनभने संकीर्ण मानसिकता बोकेका कांग्रेसका मधेसी नेता, पदलोलुपता, समर्पणवादी नीति र अडान नभएको नेताका रुपमा उहाँ प्रस्तुत भइदिँदा ठूलो नोक्सान भयो। त्यस्तो नेतालाई परास्त गर्नुपर्छ। निधिजी मधेसको निम्ति क्यान्सर रोग हो। क्यान्सरलाई फाल्नुपर्छ। त्यसैले उनीसँग चुनाव लड्नु अवसर र चुनौती दुवै हो।
तपाईंहरु दुवै नेता व्यक्तिगत आरोप–प्रत्यारोप र गालीगलौजको भाषा प्रयोग गरेर भाषणवाजी गरिरहनुभएको छ। नीतिमा बहस गरे हुँदैन?
नीतिमै बहस हो। मैले जति कुरा भनेँ, सबै नीतिकै कुरा त हो नि! काम गर्ने त व्यक्तिले नै हो। व्यक्तिले गरेको कामलाई आकाश–पातालले गरेको भन्न मिल्दैन। संविधानमा हस्ताक्षर व्यक्तिले गरेको हो, गोली व्यक्तिको आदेशबाट चलेको हो। अनि व्यक्तिको नाउँ नलिईकन त हुँदै हुँदैन। त्यसैले व्यक्तिले गरेका गल्तीलाई त मानिसले प्वाइन्ट आउट त गर्छ नि!
घरदैलो अभियानमा व्यस्त हुुनुहुन्छ, जनताको अपेक्षा के छ?
जनताले परिवर्तन खोजेका छन्। जनताले मुक्ति खोजेका छन्। उनीहरुले २५ वर्षदेखि कांग्रेसलाई भोट दिँदै आएको हो। अघिल्लो पुस्तादेखि मत दिँदै आएको पार्टीले केही गरेन। मधेसीले अधिकार पाएनन्। बरु मधेसी जनताको विरुद्धमा काम गर्यो। विकास पनि भएन। हुँदाहुँदै मिथिलाको राजधानी जनकपुरलाई नरक बनाएर छोड्यो। नाक छोपेर हिँड्नुपर्ने अवस्था छ। भनेपछि, मधेसलाई कहाँ पुर्याएछ त? जनकपुरलाई कहाँ पुर्याएछ त? जनतामा वितृष्णा छ।
राजपा र संघीय समाजवादी फोरमका तपाईं ‘हेभीवेट’ नेताहरु सबै प्रदेश २ को पूर्वी क्षेत्रबाट चुनाव लड्दै हुनुहुन्छ, जनकपुरलाई प्रदेशको राजधानी बनाउने संकेत हो यो?
जनकपुर त राजधानी हुने नै भयो। यो त २ नम्बर प्रदेशको केन्द्र हो नि! सांस्कृतिक नगरी पनि हो। कोही नेता यहाँ आएकाले होइन, जनकपुरको हकै बन्छ त्यो त। दाबी गर्नै पर्दैन, स्वतः बन्छ।
लामो समयसम्म मधेसको अधिकारको निम्ति भनेर आन्दोलन गर्नुभयो। अहिले चुनावी घरदैलोका क्रममा जनताले अधिकार र विकासमध्ये कुन कुरालाई बढी प्राथमिकता दिइरहेका छन्?
भनिन्छ– ‘हिँडेपछि ठेस लाग्छ।’ मधेसी जनतालाई पनि ठेस लागेर बुद्धि बढेको छ। विगतको संविधानसभाको चुनावमा जुन प्रतिबद्धता गरेर चुनावमा मत लिए, त्यसको उल्टो संविधान बनाइदिए। आन्दोलन गर्ने मधेसीको हत्या गरिदिए। मधेसी जनताले अब त्यस्तो गल्ती गर्दैनौं भनिरहेका छन्। मंसिर २१ गते सबै हिसाबकिताब चुक्ता गर्ने भनिरहेका छन्। सबैको पहिलो प्राथमिकतामा अधिकार देखिन्छ। एक नम्बरमा अधिकार नै हो। अधिकार पाएपछि विकास त हामी गरिहाल्छौं।
तपाईंहरुले चुनाव जित्नुभयो भने मधेसले के पाउँछ?
जुन आन्दोलन र संघर्ष भइरहेको छ, त्यसले उपलब्धि पाउँछ। भनेको, मधेसी जनताले देशमा समानताको अधिकार पाउँछन्। विभेदको अन्त्य हुन्छ। जातिको नाममा, समुदायको नाममा कुनै जनताप्रति विभेद गर्नुहुँदैन भन्ने सिद्धान्तको पालना हुन्छ। मधेसका मधेसी, दलित, थारु, मुस्लिम, जनताति लगायतका जनताले लामो समयदेखि गर्दै आएको संघर्ष सफल भएपछि समानता पाउँछ, सम्मान पाउँछ, पहिचान पाउँछ, समावेशी र समानुपातिक अवसर पाउँछ। आफ्नो प्रदेश पाउँछ। भाषा, संस्कृति र भेषभुषाको मान्यता पाउँछ। आफ्नो विकास आफैं गर्न पाउने अवस्था आउँछ।