बाबुरामले भने- गोरखालीले जनताले न्याय दिन्छन्
मंसिर, गोरखा । नयाँ शक्ति पार्टीका संयोजक एवं गोरखा २ का उम्मेदवार डा. बाबुराम भट्टराईले जनयुद्धकालीन घटनाको नैतिक जिम्मेवारी आफूले लिने बताएका छन् । साथै उनले आफ्ना चुनावी प्रतिपर्धी माओवादीका नेता नारायणकाजी श्रेष्ठ ‘नक्कली माओवादी’ र ‘टुरिष्ट’ भएको आरोप लगाएका छन् ।
पालुङटारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै डा. भट्टराईले जनयुद्धकालमा आफूले व्यक्तिगतरुपमा कसैलाई हानी नोक्सानी नपुर्याएको बताए । डा. भट्टराईले अघि भने, ‘जनयुद्धका अपि्रय घटनाको नैतिक जिम्मेवारी लिन्छु, सत्य निरुपण र वेपत्ता आयोगले जे फैसला गर्छ, त्यो मान्न म तयार छु ।’
तर, आफ्ना प्रतिस्पर्धी राजतन्त्रविरुद्ध विद्रोह गर्दा कहाँ हुनुहुन्थ्यो भनेर डा. भट्टराईले प्रश्न गरे । ‘आन्दोलनको औचित्य सकिएपछि महाक्रान्तिकारी भएर आउनुभएको छ । सही अर्थमा उहाँ माओवादी हो ?’ पूर्वसहकर्मी श्रेष्ठको नाम नलिई डा. भट्टराईले अघि थपे, ‘नक्कली माओवादी बनेर अहिले उक्साउन लागेका छन् ।’
कांग्रेसको समर्थनमा उम्मेदवारी दिएका भट्टराईले सम्बोधनका क्रममा कांग्रेस कार्यकर्तालाई पटक-पटक आश्वस्त पार्ने प्रयास गरे । विगतमा वीपीले पनि हतियार उठाएको स्मरण गर्दै उनले आफू इमान्दारितापूर्वक शान्ति प्रक्रियामा आएको र कांग्रेससँग दीर्घकालीन सहकार्य गर्न चाहेको बताए ।
भट्टराईले श्रेष्ठलाई टुरिष्ट उम्मेदवारको संज्ञा दिए । हरेक महिना जिल्ला आउने आफूलाई रोज्ने कि काठमाडौंमा बसेर बेलाबेला घुम्न आउने टुरिष्ट उम्मेदवारलाई जिताउने ? मतदाताले छान्नुपर्ने उनले बताए ।
डा. भट्टराईले अघि भने, ‘न्याय नपाए गोरखा जानु भन्छन्, मलाई विश्वास छ, गोरखालीले जनताले न्याय दिन्छन् ।’
डा. भट्टराईको चुनावी प्रचार अभियानलाई सहयोग पुर्याउन आयोजना गरिएको सभालाई सम्वोधन गर्न नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पनि पालुङटार पुगेका थिए ।
त्यसैगरी उद्योगपति विनोद चौधरीले पनि पालुङटारको सभालाई सम्वोधन गरेका थिए । नायिका करिष्मा मानान्धरले पनि सभालाई सम्बोधन गरेकी थिइन् । कार्यक्रममा स्थानीय मानिसहरुको उल्लेख्य सहभागिता थियो ।
तीन दिनअघि वाम गठबन्धनका तर्फबाट केपी ओली र प्रचण्डले गोरखामा सम्वोधन गरेपछि त्यसलाई काउन्टर गर्न नयाँशक्ति र नेपाली कांग्रेसले संयुक्त सभा गरेका थिए ।
उपेन्द्र देवकोटालाई एक टूक
सम्बोधनका क्रममा डा. भट्टराईले आफ्ना पूर्वसहकर्मी डा. उपेन्द्र देवकोटाको पनि आलोचना गरे । ‘तपाईको भलो होस्’ भन्दै उनले भने, ‘ज्ञानेन्द्रको पालामा झ्यालबाट मन्त्री बन्नुभयो, अहिले चोरबाट बाटोबाट वामपन्थी बन्न खोज्दै हुनुहुन्छ । मेरो एउटा सल्लाह छ, झ्यालबाट होइन, मूल बाटोबाट हिँड्नुस् ।’