काठमाडौँ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी तनहुँको भानु–१० नेपाल डाँडामा प्रेसर कुकुर बम प्रहार भएको छ ।
गोरखा जिल्लाको पालुङ्गटारको चुनावी सभालाई सम्बोधन गरी लम्जुङको वेशीशहरमा पार्टीद्वारा आयोजित आमसभालाई सम्बोधन गर्न जाने क्रममा करीब ३ः१५ बजे नेता रामचन्द्र पौडेल चढ्नु भएको सवारी साधनमाथि बम प्रहार भएको थियो ।
करिब ३ बजेको समयमा पौडेललाई लक्षित गरी बम प्रहार भएको हो । वमप्रहारबाट पौडेल सवार साधनको सिसा फुटेको छ ।
पौडेल र उनीसँग रहेका टोलीका सदस्यहरु भने सुरक्षित छन् । नेता पौडेलको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरु भने घाइते भएका छन् ।
पौडेलको नै हत्या गर्ने मनसाय
यता, नेपाली काँग्रेसले घटनाको विरोध गर्दै पार्टी र लोकतन्त्रप्रतिको उर्लदो अपार जनलहरबाट अतालिएर दिनानुदिन नेपाली कांग्रेसका नेताहरुलाई लक्षित गरी लोकतन्त्रलाई नै समाप्त पार्ने ढंगले आपराधिक मानसिकता बोकेका सुनियोजित समूहद्वारा बारम्बार यस प्रकारका घटनाहरु घटिरहनु अत्यन्त दुःखद विषय
भएको बताएको छ।
विज्ञप्ति जारी गर्दै पार्टीले भनेको छ, ‘जुनसुकै समूहले यस्ता आपराधिक घटना घटाएको भएता पनि नेपाली कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक, नेपाली कांग्रेसलाई अगाध माया गर्ने आम मतदाता यस घटनाबाट रत्तिभर विचलित हुनेछैनन् ।’
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको नै हत्या गर्ने मनसायले गरिएको पार्टीले आरोप लगाएको छ । ‘यस प्रकारको घृणित क्रियाकलाप र आक्रमणप्रति नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाले शान्तिपूर्ण एवं निर्वाध रुपमा निर्वाचनका कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अघिकार माथि ठाडो उल्लंघन गरेको छ र लोकतान्त्रिक संस्कार र संस्कृतिको उपहास गर्न खोजिएको छ ।’ यस प्रकारका आपराधिक घटनाहरु पुनः नदोहो¥याउन नेपाली कांग्रेसले चेतावनी दिएको छ । साथै, घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल खोजी गरी कडा भन्दा कडा कार्वाही गर्न र घाइतेहरुको उचित उपचारको प्रबन्ध गर्न नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ ।