‘दुई कारणले विस्फोट महत आफैले गराएका हुन् सक्छन्’
हितबहादुर तामाङको प्रतिवाद: मूलबाटो नहिँडी सहायक बाटोबाट जाने र त्यही बाटोमा विस्फोट हुने कसरी भयो?
हितबहादुर तामाङ
शुक्रबार विहान भएको बम विस्फोटनको घटना नुवाकोट–२ का कांग्रेस प्रत्यासी डा. रामशरण महतबाट नै भएको हुनसक्ने आशंका वामगठबन्धनका उम्मेदवार तथा माओवादी केन्द्रका नेता हितबहादुर तामाङले गरेका छन्।
विस्फोटको घटना भएलगत्तै कांग्रेस नेता महतले घटना वामगठबन्धनका उम्मेदवार तामाङले गराएको आरोप लगाएका थिए।
माओवादी केन्द्रका उम्मेदवार हत्याहिंसाको बाटोबाट आएको बताउँदै महतले भनेका थिए, ‘मैले चुनाव जित्न लागें भनेर एम्बुस राखिएको हुनसक्छ।’
घटनामा तामाङको हात रहेको आरोप महतले लगाएपछि त्यसको प्रतिवाद गर्दै तामाङले घटनामा महतकै संलग्नता रहेको आशंका गर्दै दुई कारण पेश गरे।
‘एक, कांग्रेसको सभा हुने भनिएको चतराले जाने जुन मूल बाटो हो, त्यो प्रयोग नगरी सहायक बाटोबाट महत गएका छन् र त्यही सहायक बाटोमा माइन बिस्फोट भएको छ’ तामाङले नेपालखबरसँग फोनमा भने, ‘दुई, घटनामा मलाई दोष लगाइनु र वामगठबन्धनविरुद्ध भौतिक आक्रमणमा उत्रनुले पनि महतले नै नियोजित रुपमा घटना गराएको देखिन्छ।’
घटनास्थलमा क्षतिग्रस्त गाडी
घटनास्थलमा क्षतिग्रस्त गाडी
तामाङका अनुसार, महत जुन बाटो प्रयोग गरी चतराले जाँदै थिए, त्यो भन्दा सजिलो बाटो रानीपौवा हुँदै जाने मुल सडक हो। ‘तर मूल सडक प्रयोग नगरी उहाँ किन सहायक सडकबाट जानुभयो?’ तामाङले प्रश्न गरे, ‘सँधै हिँड्ने बाटो नहिँडी महत अर्कै बाटोबाट हिँड्नु र त्यहीँ बिस्फोट हुनु, अनि घटना लगत्तै आफूमाथि प्रहार केन्द्रित गर्नुले पनि उनले नै घटना गराएको पुष्टि हुन्छ।’
महत र तामाङले विस्फोटको घटनामा एक–अर्कोको संलग्नता रहेको हुनसक्ने आरोप लगाएर आफ्ना चुनावी प्रतिद्वन्द्वीलाई कमजोर सावित गर्न खोजेका छन्।
तर प्रचारमा हिंडेका कार्यकर्तामाथि भएको यो आक्रमण गम्भिर छ, जुन चुनाव विथोल्ने उद्देश्यले भएको देखिन्छ। यस घटनामा अहिलेसम्म कसैले जिम्मेवारी नलिएपनि रुकुम, रोल्पा, भोजपुर र गोरखा घटनाकै श्रृंखलामा नुवाकोटमा यो घटना भएको देखिन्छ।
‘जसले गराएको भए पनि त्यो घटना निन्दनीय छ, म त्यसको घोर भत्र्सना गर्छु’ भन्दै तामाङले थपे, ‘तर, घटना भएपछि महतले मलाई आरोपित गर्ने मात्रै होइन, पुरै वामगठबन्धन विरुद्ध आफ्ना कार्यकर्तालाई परिचालित गर्नुभएको छ। यसबाट पनि पुष्टि हुन्छ कि, वामगठबन्धनका नेता–कार्यकर्तामाथि दमन बढाउने र आफ्नो पक्षमा सहानभूति बढाउन यो घटना गराइएको हो।’
उनले निर्वाचन भाँड्ने षडयन्त्रस्वरुप यो घटना गराइएको आरोपपनि लगाए। उनले भने, ‘यसपटक महतले चुनाव जित्दैनन्, त्यसैले अनेक षडयन्त्रमा सरिक भएका छन्। आजको घटना त्यसैको एउटा पाटो हो।’
रानीपौवा तनावग्रस्त
तामाङका अनुसार घटना लगत्तै रानीपौवा बजारमा कांग्रेस कार्यकर्ताहरुले व्यापक तोडफोड गरेका छन्। वामगठबन्धनको पक्षमा मत मागिरहेका नेता–कार्यकर्ताको मोटरसाइकल र कुर्सीहरु तोडफोड गरिएका छन्। उनले भने, ‘चुनाव हार्ने भएपछि परिस्थितिलाई अन्यत्रै मोड्न नियोजित रुपमा त्यो घटना गराइएको हो भन्नेमा अब शंका रहेन।’
विस्फोटको घटना भएपछि जिल्लाका कांग्रेसका कार्यकर्ताहरु रानीपौवा बजारमा भेला भएर तोडफोड सुरु गरेको ककनी गाउँपालिकका अध्यक्ष मानबहादुर तामाङले बताए।
‘वामगठबन्धनका कार्यकर्ताहरु रानीपौवा बजारमा तामाङको पक्षमा मत मागिरहेका थिए, एक्कासी आइपुगेको कांग्रेसको समूहले बजारमा रहेका मोटरसाइकल र पसलका कुर्सी–टेवल तोडफोड गर्ने काम ग¥यो’ अध्यक्ष तामाङले भने, ‘अहिले रानीपौवा बजार तनावग्रस्त छ।’
अध्यक्ष तामाङका अनुसार रानीपौवा बजारको सडकको एकभागमा वामगठबन्धनका कार्यकर्ता छन् भने अर्काे भागमा कांग्रेसका कार्यकर्ताहरु छन्। तामाङले थपे, ‘प्रहरी र सशस्त्र प्रहरीले दुवै पक्षलाई अर्काेतिर जानबाट रोकिरहेको छ।’