काठमाडौं । सिंहदरबारको दक्षिणी गेट नजिकै एउटा भव्य सरकारी कार्यालय छ । तर, यो कार्यलयको कुनै ‘बोर्ड छैन । राष्ट्रका लागि गोप्य सुचना संकलन गरिने यो निकायलाई राष्ट्रिय अनुसन्धान विभाग अर्थात गुप्तचर विभाग भनिन्छ । कतिपयले यसलाई ‘साउथ गेट’ समेत भन्ने गर्छन् । मुलुकमा प्रदेश तथा केन्द्रको निर्वाचनको माहोल नजिकिँदै गर्दा गुप्तचरले ‘एक्जिट’ पोलको भूमिका समेत निभाउने गरेको छ ।
हरेक जस्ता निर्वाचनमा निर्वाचन अगावै ‘एक्जिट पोल’ चुनावी सर्वेक्षणको गोप्य भूमिका निभाउने गरेको गुप्तचर विभागले आगामी निर्वाचनमा पनि चुनावी आंकलन गरेको छ ।
आगामी मंसिर १० र २१ मा हुने प्रदेश तथा केन्द्रको निर्वाचनमा काठमाडौंको आश्चर्यजनक नतिजा आउन सक्ने गुप्तचरले रिपोर्ट निकालेको छ ।
वाम गठबन्धनबाट उम्मेदवारी दिएका मध्ये माओवादी केन्द्रका उम्मेदवारहरु सबैभन्दा ठूलो जोखिममा रहेको उनीहरुको निष्कर्ष छ ।
काठमाडौं क्षेत्र नम्बर एकमा सबैभन्दा आश्चर्यजनक नतिजा आउने रिपोर्ट ‘साउथ गेटमा पुगेको बताइएको छ । ‘काठमाडौं क्षेत्र नम्बर एकमा नेपाली कांग्रेसका नेता तथा उम्मेदवार प्रकाशमान सिंह ठूलो जोखिममा छन् । पार्टी भित्रकै असन्तुष्टी र नयाँ चाहने काठमाडौंका मतदाताको प्रवृत्तिका कारण उनको जोखिम झन बढेको छ,’ रिपोर्ट उल्लेख गर्दै विभागमा कार्यरत एक अधिकारीले भने,‘वाम गठबन्धनले निकै कलिलो उम्मेदवार उठाएका कारण यहाँको मतदाताले बाध्यात्मक रुपमा रविन्द्र मिश्रलाई चुन्नु पर्ने अवस्था आउनसक्छ ।’
विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ मा प्रतिनिधी सभाको सदस्यका लागि उम्मेदवारी दिएका छन् । चुनावी कार्यक्रममा समृद्धिका सपना बाँढिरहेका मिश्रको लोकप्रीयता समेत बढ्दो छ । मिश्रको लोकप्रीयता बढेको देखेपछि कांग्रेस नेता प्रकाशमान सिंह झस्किएका छन् ।
उनले सामान्य फोरममा समेत मिश्रको आलोचना गर्न थालेका छन् । त्यस्तै रिपोर्टहरुमा जनाइए अनुसार माओवादीका उम्मेदवार अनिल शर्माले कार्यकर्ता तहको भोट मात्रै पाउने आंकलन गरिएको छ ।
वाम गठबन्धनले युवा अनुहारलाई उम्मेदवार बनाएपनि यहाँका मतदातासँग उनको ‘उठबस’ छैन । त्यसो त यहाँको जनमतले ‘सेलिब्रेटी अनुहार’लाई पत्याउने गरेको छ । यसअघिको स्थानिय निकायको निर्वाचनमा मेयरमा विवेकशीलकै रञ्जु दर्शनाले अत्याधिक भोट ल्याएकी थिइन् ।
‘कांग्रेसका असन्तुष्टले पनि मिश्रलाई भोट हाल्ने देखिन्छ । यता वाम गठबन्धनमा एमालेका कार्यकर्ता बाहेकका जनताले मत नदिने आंकलन गरिएको छ । कमजोर उम्मेदवार उठाएकै कारण वाम गठबन्धनको मत समेत मिश्रको पोल्टामा पर्न सक्ने आंकलन गुप्तचरले गरेको छ ।
त्यस्तै काठमाडौं क्षेत्र नम्बर ६ का वाम गठबन्धनका उम्मेदवार भक्कु सुवेदी तुलनात्मक हिसाबले बलियो देखिएका छन् । यद्धपी सत्ता रुढ दल नेपाली कांग्रेसका उम्मेदवार तथा रक्षा मन्त्री भिमसेनदास प्रधान उत्तिकै बलिया छन् । उनलाई सेनाको सहयोग रहने समेत स्रोतको दाबी छ ।
त्यस्तै काठमाडौं क्षेत्र नम्बर १० मा उम्मेदवार बनेका हितमान शाक्यलाई पनि एमाले कार्यकर्ताले गोप्य मतदानमा अन्याय गर्न सक्ने अधिकारीहरुको दाबी छ । ‘उहाँ काठमाडौं बाहिरको मान्छे हो । वाम गठबन्धन भित्रैबाट अन्तर्घात हुन सक्छ,’ ती अधिकारी भन्छन्,‘क्षेत्र नम्बर १० मा तिब्र प्रतिष्पर्धा हुने देखिन्छ । तर, कांग्रेसका उम्मेदवार तथा खेलकुद मन्त्री राजन केसीले निर्वाचन जित्नका लागि ‘अथाह’ पैसा खर्च गरिरहेको रिपोर्ट समेत छ ।’
माओवादी केन्द्रले काठमाडौं जिल्लामा ३ सिट पाएको छ । त्यस्तै एमालेका माधव कुमार नेपाल, कांग्रेसका गगन थापा, एमाले महासचिव इश्वर पोखरेल काठमाडौंमा निर्वाचित हुनसक्ने आँकलन गरिएको छ ।