काठमाडौं । अदालतबाट दोषी ठहर भएर कानुनी राज्यलाई चुनौती दिँदै फरार भएका हाइप्रोफाइल व्यक्तिहरु धेरै छन् । जसलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।
तीमध्ये एक हुन् नेपाल प्रहरीकै पूर्वआइजिपी रमेश चन्द ठकुरी । अदालतले उनलाई दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको ७ महिना भइसकेको छ, तर पनि प्रहरी भने मौननै छन् ।
आखिर कहाँ छन् त चन्द ?
उच्च प्रहरी स्रोतका अनुसार केहीअघि भारतमा आफन्तको घरमा रहेको खबर पाएपछि हामीले प्रक्रिया अगाडि बढाएका थिए । साथै भारतीय प्रहरीले पनि सहयोग गर्ने वचन दिएका थिए । तर, संगठनबाटै सूचना चुहिएपछि उनी त्यहाँबाट पनि भागेर पर्यटकका रुपमा थाइल्यान्ड गएर लुकेको अपुष्ट सूचना छ सार्वजनिक भएको छ ।
उनी दशैं–तिहारमा थाइल्यान्डबाट नेपाल आएका थिए । तर, चाड–पर्व र चुनावी चटारोका कारण प्रहरीले उनी आउन सक्ने सम्भावनातिर ध्यान नै दिएन। पर्व मनाएर उनी फेरि भारतीय भूमि हुँदै थाइल्यान्ड पुगेको सूचना प्रहरीसम्म आएको छ, जसको छानबिन हुँदैछ।’ प्रहरी स्रोतले बताउँछ ।
प्रहरीको सुडान मिसन घोटाला काण्डमा दोषी ठहर गर्दै चन्दलाई सर्वोच्च अदालतले गत १७ वैशाखमा १ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। अदालतको फैसलासँगै उनी फरार छन्।
सुडान घोटाला काण्डमा सर्वोच्चले तीन पूर्वआइजिपीलाई दोषी ठहर गरेको थियो।
सर्वोच्चले नेपाल प्रहरीका पूर्व आइजिपी ओमविक्रम राणालाई २ वर्ष कैद र ५० हजार जरिवाना, हेमबहादुर गुरुङलाई १ वर्ष कैद र ४० हजार जरिवाना र चन्दलाई १ वर्ष कैद र ४० हजार जरिवाना सुनाएको थियो। त्यस्तै पूर्वएआइजी श्यामसिंह थापा र दीपकसिंह थाङ्देङलाई १ वर्ष कैद र ४० हजार जरिवाना सुनाएको थियो। तत्कालीन डिआइजी दीपककुमार श्रेष्ठ र तत्कालीन एसएसपी रविप्रताप राणालाई पनि ६ महिना कैद र ३० हजार जरिवाना फैसला सुनाएको थियो। उनीहरु सबै आफैं अदालतमा उपस्थित भएर जेल चलान भएका छन्। तर, पूर्वआइजिपी चन्द भने फरार छन्।
प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलाशले नेपाल प्रहरीको सुडानस्थित राष्ट्रसंघीय शान्ति मिसनलाई आवश्यक बन्दोबस्तीको सामान खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै तत्कालीन प्रहरी अधिकारीलाई दोषी ठहर गरेको थियो।
अख्तियारले ३६ जनाविरुद्ध मुद्दा दायर गरेकोमा विशेष अदालतले तीन पूर्वआइजिपी र ठेकदारलाई मात्र दोषी ठहर गरेको थियो। सर्वोच्चले थप तीन तत्कालीन प्रहरी अधिकारीलाई समेत दोषी ठहर गरेको हो।
विगत ८ वर्षदेखि फरार रहेका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेल गत कात्तिक १४ गते पक्राउ परे । हाइप्रोफाइल फरार अभियुक्त पक्राउ गरेकोमा नेपाल प्रहरीको प्रशंसा भयो।