काठमाडौँ । बुधबार साँझ कमलपोखरी स्थित हेरिटेज प्लाजा रेष्टुरेन्ट आसपास गोली चलेको आवाज आयो । सुचना पाउनासाथ महानगरी प्रहरी बृत्त कमलपोखरीका डिएसपी कुलदीप चन्दको टोली ‘फलोअफ’ निस्कीयो । केहीसमयमा ५१ राउन्ड गोली सहित दुई भारतीय ‘सुटर’ पक्राउ परे ।
कमलपोखरी स्थित हेरिटेज प्लाजा रेष्टुरेन्टमा बसेका उनीहरुले होटल मालिकलाई भनेर यौन सम्पर्कका लागि दुई युवतीसमेत मगाएको खुलासा भयो । युवती नआउन्जेलसम्म उनीहरु मदिरा पिउँदै थिए । तर, युवती आएपछि भने आफूहरुलाई नचाहिने बताएपछि विवाद शुरु भयो । होटल सञ्चालकसँगको विवादपछि उनीहरुले आफूसँग भएको पेस्तोल तेस्र्याए र, ‘ट्रिगर’ दबाए ।
बन्दुक पढ्केको आवाजले कमलपोखरी क्षेत्रमा सन्त्रास फैलियो । गोली हान्ने दुई भारतीय भाग्दै गर्दा डिएसपी चन्दको नेतृत्वको टोलीले कमलादीको गणेश मन्दिरबाट पक्राउ गर्न सफल भयो ।
‘हामी सिआईबीका हौँ’
प्रहरीले पेस्तोल र ठूलो मात्रामा गोली गठ्ठासहित पक्राउ गरेको दुई जना भारतीय नागरिकसँग पन्जाब प्रहरीको परिचयपत्र भेटिएपछि घटनाले नयाँ मोड लिएको छ । अहिले नेपाल प्रहरीको डिआइजीको कमाण्डमा रहने विशेष व्युरोले घटनाको अनुसन्धान शुरु गरेको छ ।
प्रहरीले उनीबाट भारतीय रक्षा मन्त्रालयको राइफल फ्याक्ट्रीबाट उत्पादीत पेस्तोल बरामद गरेको छ भने ५१ राउण्ड गोली पनि बरामद गरेको छ । होटलमा प्रहरीले उनीहरुसँग पिबी १० एफएस ७४४९ नम्बरको कार समेत फेला पारेको थियो ।