म्यादी प्रहरीको परीक्षामा पास गराइदिने भन्दै घूस लिएको आरोपमा प्रहरीले तीन जनालाई रकमसहित पक्राउ गरेको छ ।
अगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि म्यादी प्रहरी छनौट भइरहेका छन् । पक्राउ पर्नेमा पर्साको बहोदरामाई नगरपालिका निवासी हरिनारायण राम, बिसुनदेवप्रसाद यादव र छठु महरा चमार रहेको प्रहरी उपरीक्षक गणेश रेग्मीले बताए । मंगलबार पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय पर्साले उनीहरुलाई बरामद सामानसहित सार्वजनिक गरेको छ ।
सोमबार साँझ जिल्ला प्रहरी कार्यालय भन्दा केही दूरीमा रहेको लाल बंगलाबाट तीनजनालाई विभिन्न आवेदकहरुको म्यादी प्रहरी प्रवेशपत्र संकलन गर्ने क्रममा पक्राउ गरिएको हो । म्यादी प्रहरी छनौटमा दलालहरु सक्रिय भएको सूचना पाउनासाथ प्रहरीले सर्तकता अप्नाएपछि तीनजना पक्राउ परेका हुन् । अन्य गिरोहको सक्रियता सम्बन्धमा समेत अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । म्यादी छनौटमा प्रहरीले पारदर्शिता कायम गरे पनि दलालले निश्चित रकम दिए पास गराइदिने भन्दै आवेदकबाट रकम असुलेका थिए ।
पक्राउ परेकाबाट म्यादी प्रहरीको ४२ थान प्रवेश पत्र बरामद भएको छ । अग्रीम घूसको रुपमा असुल गरिएको ३७ हजार एक सय रुपैयाँ र स्वास्थ्य परीक्षण रिर्पोट पनि बरामद भएको छ । गाउँका सोझा आवेदकलाई विश्वासमा लिन गिरोहले म्यादी प्रहरीका लागि स्वास्थ्य परीक्षण रिर्पोट समेत तयार पारेका थिए ।
एसपी रेग्मीका अनुसार दरखास्त दिने सोझा व्यक्तिसँग गिरोहले पास गराइदिने भन्दै रकम असुलेका थिए । ‘परीक्षामा अनुत्तीर्ण हुँदा रकम फिर्ता गरिदिने र पास भएकालाई हामीले पास गराएको भन्दै रकम राख्ने गरेका रहेछन्,’ एसपी रेग्मीले भने, ‘एक आवेदकबाट तीनदेखि पाँच हजार रुपैयाँसम्म लिएका रहेछन् । हालसम्म छनौट भएकाहरु आफ्ना क्षमताले पास भएका हुन् । कसैले पास हुनका लागि पैसा दिएको हो भने प्रहरीमा आएर उजुरी दिएमा हामी कारबाही गर्छौ ।’
आगामी प्रतिनिधिसभा र प्रदेशसभाका लागि जिल्लामा एक हजार आठ सय १६ म्यादी प्रहरी आवश्यक छन् । त्यसका लागि १० हजार एक सय ४१ जनाले दरखास्त फारम भरेका थिए । म्यादी छनौटका लागि विभिन्न शक्ति केन्द्रबाट नाम लिस्ट सहितको सिफारिस आएको प्रहरी स्रोतले जनाएको छ ।कान्तिपुरमा समाचार छ।