बिहानको ९ पनि नबज्दै विवेकशील साझा पार्टीका संयोजक एवं काठमाडौं १ का उम्मेदवार रवीन्द्र मिश्र मैतीदेवी चोकमा झुल्किए । उनका पछिपछि दुई दर्जनजति कार्यकर्ताको हूल थियो । मत माग्न हिँड्ने उम्मेदवारहरूको सनातनी शैलीमा मिश्र थिएनन् । न उनको घाँटीमा माला थियो न नारा लगाइरहेका कार्यकर्ताको भीड । न झन्डा, न चर्को भाषण ।
चोकैको एक किराना पसलमा छिरेका मिश्रले साहुजी राजेन्द्र महर्जनलाई नमस्कार गरे । आफ्नो परिचय दिए र आफ्नै शैलीमा भने, ‘यो बाटोको धूलो खाने तपाईं हामी जनताले हो । तर उपचारमा विदेश जाने त नेताहरू नै हुन् । मिश्रको कुरा सुनेर महर्जनले टाउको हल्लाए र भने, ‘हो नि । सुख पाउने नेताले, दु:ख पाउने जनताले ।’
https://www.facebook.com/rabindramishra.official/videos/1476183245797183/
बीबीसी नेपाली सेवाबाट लामो समय पत्रकारिता गरेकै कारण मिश्र सडकमा हिँड्ने धेरैका निम्ति परिचित देखिएका थिए । तर नयाँ राजनीतिक दल भएकै कारण मिश्रको दलको तराजु चुनाव चिह्न भने धेरैका निम्ति नयाँ थियो । मिश्र आफू अरू दलभन्दा फरक भएको र इमानसहितको राजनीतिका निम्ति आफूलाई मत दिन आग्रह गरिरहेका थिए ।
कपडा पसल गरेर बसेका सुमन श्रेष्ठ मिश्रलाई देख्नेबित्तिकै हुर्रिएर आए । ‘तपाईंको सबै कार्यक्रम सुन्ने गर्थें’ भन्दै सुमनले मिश्रलाई खादा लगाइदिए । मिश्रले तुरुन्तै त्यो खादा सुमनकै घाँटीमा लगाइदिन खोजे । उनले भने, ‘मतदाता पो ठूला मान्छे हुन् त । त्यसैले यो खादा म तपार्इंलाई नै लगाइदिन चाहन्छु ।’ तर सुमन तर्किएको तर्कियै गरेपछि मिश्रले खादा हातमा लिए । संक्षिप्त कुराकानीमा सुमनले शुभकामना मात्रै दिएनन्, देश बिग्रिन लागेको चिन्ता पनि व्यक्त गरे । कान्तिपुरसँग सुमनले भने, ‘हामीसँगैका देश कहाँ पुगिसके । हामी जहाँको त्यहीं छौं । राजनीति नसुधारेसम्म केही हुन्न ।’
आफूहरूको दल नयाँ भएको र केही गतिलो काम गर्न खोजेको भन्दै मतदातालाई बुझाउन मिश्रको धेरै समय खर्च भइरहेको थियो । उनले एक जना मतदाताको चित्त बुझाउने गरी भने, ‘सबैले हामीलाई यिनीहरू राम्रा छन् तर साना छन् भन्छन् । यसो भनेर त परिवर्तन हुँदैन नि । मत नदिई त कसरी हुन्छ ?’ मत मागिरहेका मिश्रले कसैसँग पनि विकासका ठूला कुरा र आश्वासनका भारीभरम शब्द खर्चेनन् । उनले सबैसँग एउटै कुरा भने, ‘हामी मान्छे हुनाले गल्ती त गरौंला तर बेइमानी गर्दैनौं ।’
इनु अर्यालले मिश्रका हातमा नरिवलको डल्लो दिँदै भनिन्, ‘यो सगुन भगवानको प्रसाद हो ।’ अर्यालले आफूहरूले पञ्चायतको विरोध गर्न नानीमैया दाहाललाई पनि जिताउन पछि नपरेको इतिहास सुनाउँदै भनिन्, ‘मतदाताहरू विवेक प्रयोग गर्न सक्ने भइसके ।’
बिहान ५ बजे उठेर घरदैलोमा हिँडेका मिश्र राति १० बजेतिर मात्रै घर पुग्छन् । पछिल्ला दस दिनयता बदलिएको दिनचर्याबारे सुनाउँदै मिश्रले भने, ‘मतदातासँग पर्याप्त संवादको खाँचो छ ।’ मतदातालाई नमस्ते गर्दै हिँडिरहेका मिश्रको हात पाका उमेरका शिवराम आचार्यले च्याप्प समातेर भने, ‘विस वि अल दि बेस्ट !’ मिश्रले दुई हात जोडेर नमस्ते गरे र मीठो स्वरमा भने, ‘तपाईंको आशीर्वाद लागोस् । मनैदेखि खुसी लाग्यो ।’ व्यंग्यको भावमा आचार्यले भने, ‘कस्तो खुसी मानसिक कि राजनीतिक ?’ मिश्र मुसुक्क मुस्काए मात्रै ।-कान्तिपुरबाट