सभागृह ‘लाल सलाम’को मुद्रामा देखिएका बाबुराम वाम एकता प्रक्रियामा आउने खबरले चौतर्फी चर्चा बटुल्यो । तर दुर्भाग्य, यो चर्चा लगत्तै बाबुरामको असन्तुष्टिको विषयमा परिवर्तित भयो । नयाँ शक्ति नेपालले १५ सीटको दावी गरेको खबरसँगै बाबुराम बाहिरिए । एक हप्तापनि उनको धैर्यता वाम एकताको पक्षमा देखिएन ।
बाबुराम भट्टराईले यो अवधिमा नेपालमा अग्रगामी रुपान्तरण आवश्यक रहेको तर्क गर्दै नेपाली कांग्रेस पश्चगामी शक्ति भएको सार्वजनिक टिप्पणी गरे । उनले आफ्नो फेसबुक वालमा कांग्रेसलाई सिध्याउनु पर्ने आशयको समाचार सार्वजनिक समेत गरे । तर यता वाम तालमेलमा उनले भने अनुसारको महत्व र सीट नपाएपछि उनले गोरखामा जित्नका लागि नेपाली कांग्रेससँग वार्ता अघि बढाए ।र, अन्तमा, वाम एकता र चुनावी तालमेलबाट अत्तालिएको कांग्रेसले बाबुरामलाई साथ थियो । बाबुरामलाई गोरखाबाट कांग्रेसले समर्थन गर्यो । र, सँगसँगै दुई सीट समेत नयाँ शक्तिलाई दियो ।
बाबुरामका लागि नेपाली कांग्रेसको स्थानीय पार्टी कमिटिको बिरोधका बावजूद पनि गोरखामा नेपाली कांग्रेसले समर्थन गरेपनि उनका लागि अवस्थ भने त्यति सहज छैन । खासगरी संविधान निर्माणको क्रममा उनले देखाएको व्यवहार, पार्टी परित्याग, नयाँ शक्तिभित्रको निरन्तर गइरहेको पहिरो र गोरखाको वामपन्थी जनमतको अवस्था हेर्दा बाबुरामको शक्ति विजय नजिक पुग्ने हैसियत राख्ने देखिन्न ।
बाबुराम संसदका लागि चाहिने पात्र हुन, यसमा शंका छैन । उनको आफ्नो व्यक्तित्व समेत छ, त्यसमा पनि दुईमत छैन । तर यी दुई कुराले मात्रै उनले निर्वाचन जित्न सक्ने अवस्था भने छैन । उनको लोकप्रिय मत र नेपाली कांग्रेसको मतबाहेक उनले वामपन्थीहरुको मत गोरखाबाट पाउने अवस्था छैन । नारायणकाजी श्रेष्ठ गोरखामा बाबुराम जत्तिको लोकप्रिय नभए पनि राष्ट्रिय राजनीतिमा बाबुराम भन्दा बलियो भूमिकामा देखिएको कारण समेत उनले भोट पाउने आधार बढी देखिएको छ ।
बाबुरामको अहंकार र व्यक्तिवादी चरित्रका कारण उनले नयाँ शक्तिलाई जोगाउन सकेनन् । यतिसम्म कि बाबुरामले उम्मेदवारी घोषणा गरेपछि समेत नयाँ शक्ति नेपालका एक दर्जन बढी जिल्ला नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । अष्पुष्ट समाचार सूचनाहरुको भर पर्ने हो भने यस्ता स साना पहिरोहरु निर्वाचन अघि निकै जाने अवस्था गोरखामा विद्यमान छ ।
अर्कोतर्फ नेपाली कांग्रेसको जिल्ला नेतत्वले बाबुरामलाई नीतिगतरुपमा समर्थन गरेपनि कार्यकर्ताको तहमा सबै कांग्रेस कार्यकर्ता या समर्थकको भोट बाबुरामले पाउने अवस्था देखिन्न । वाम र प्रजातान्त्रिकबीच लामो तिक्तता रहेको जिल्ला हो गोरखा । चितवनमा पार्टी सभापति शेरबहादुर देउबा आफै उपस्थित भएर माओवादी केन्द्रका लागि भोट मागेको अवस्थामा समेत सबै नेपाली कांग्रेस समर्थकहरुले रेणु दाहाललाई भाेट नहालेकाे दृष्टान्त हाम्रा सामु छ । यो अवस्थामा बाबुरामले माओवादी छोडेपनि उनलाई कम्युनिष्ट नै भनेर हेर्ने अवस्था बाँकी रहेकोले कांग्रेसको सबै भोट उनले पाउन सक्दैनन् ।
गोरखाका कम्युनिष्ट समर्थकहरुमा बाबुराम एउटा वितृष्णाको नाम हो । एउटा असन्तुष्ट अवसरवादी, नाम लिने बित्तिकै तिक्तता पैदा हुने पात्रको नाम । उनको उज्यालो व्यक्तित्व उनको यो अँध्यारो पक्षले निलेको अवस्था त्यहाँ देखिन्छ ।
त्यसैले माओवादी केन्द्रको बलियो आधार, एमालेको समर्थन, नयाँ शक्तिबाट बारम्बार भइरहेको पलायन, नारायणकाजी श्रेष्ठको राष्ट्रिय व्यक्तित्व र कांग्रेसको अविश्वासी साथ जस्ता कारणहरुले गर्दा बाबुरामलाई गोरखामा जिति नै हाल्नु निकै गारो देखिन्छ ।र, यदि बाबुराम आफ्नै अवसरवादी चरित्रका कारण गोरखाबाट पराजित भएपनि यो उनको सक्रिय राजनीतिक जीवनको अवसान समेत हुने निश्चित छ । एभरेष्ट दैनिकबाट