गोरखा : मनाङमा प्रदेशसभातर्फ (ख)मा उम्मेदवार बनेकी एमालेकी खन्डा लामाले उम्मेदवारी फिर्ता लिएकी छन् ।एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका दीपक मनाङेलाई समर्थन गरेको लामाले बताइन् । मुख्य निर्वाचन अधिकृत दीपक ढकालले एमाले उम्मेदवार लामाले उम्मेदवारी फिर्ता लिएको जानकारी दिए ।
एमालेले प्रदेशसभाका लागि मनाङेलाई उम्मेदवार बनाउने तयारी गरे पनि आलोचना भएपछि अन्तिम समयमा लामालाई अघि सारेको थियो । जिल्लाबाट सर्वसम्मत सिफारिस भएका मनाङेको आलोचना भएपछि केन्द्रले उनको नाम काटेको थियो ।
टिकट नपाएका मनाङेले प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । एमाले ४ नम्बर प्रदेश कमिटी सदस्यसमेत रहेका मनाङका नेता पाल्देङ गुरुङले मनाङे नै एमालेको उम्मेदवार भएको पुष्टि गरे ।
यससँगै उक्त क्षेत्रमा कांग्रेस उम्मेदवार कर्मा गुरुङ र मनाङेबीच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन क्षेत्र (क) मा एमालेबाट दोर्जे डन्डुल गुरुङ र कांग्रेसबाट चिन्ताबहादुर घले उम्मेदवार छन् । प्रतिनिधिसभाका लागि कांग्रेसका टेकबहादुर गुरुङ र एमालेका पाल्देन गुरुङबीच मुख्य प्रतिस्पर्धा हुँदै छ ।