पृथ्वीनारायणलाई क्रिश्चियन मिसनले खलनायक बनायो

नेपाल विभिन्न कालखण्डमा फरक-फरक स्वरुपमा रह्यो । परापूर्वकालमा कामाक्षदेखि पञ्जावसम्म नेपालको सिमाना थियो भन्ने भनाइ छ । उत्तर तिब्बतदेखि दक्षिण गंगाको किनारसम्म नेपाल पुगेको प्रमाणहरु पाइन्छन् । विभिन्न कहावतसमेतलाई जोड्दा नेपालको पाँच हजार वर्षसम्मको इतिहास छ । चार हजार वर्षको त लिखित इतिहास नै छ ।

 

पृथ्वीनारायण शाह राजा हुनुभन्दा अगाडि भने नेपाल सयौं भुरेटाकुरे राज्यहरुमा विभाजित थियो । राज्यपिच्छे नै कोट र थुमहरु थिए । कोट र थुम भनेका ती राज्यका राजधानी हुन् । त्यहाँ राजा रजौटाहरु बस्थे । यसरी टुक्रैटुक्रामा विभाजित भएर छिन्नभिन्न अवस्थामा रहेको नेपाललाई एकीकरण गर्ने कामको प्रारम्भ पृथ्वीनारायण शाहले गरे ।

पृथ्वीनारायण शाह केवल ५१ बर्ष बाँचे । उनको ३१ वर्ष लामो शासनअवधी पुरै राष्ट्र एकिकरणमा बितेको थियो । राज्यसञ्चालन त उनले गर्नै पाएनन् । राष्ट्रनिर्माणमै सारा ध्यान केन्दि्रत गरे । इतिहास हेर्दा उनले एक दिन पनि गद्दीमा आराम गरेर बसेको देखिदैन ।

अंग्रेज सेनालाई धपाए

राज्य एकीकरण खेलाची काम थिएन । यसमा पृथ्वीनारायण शाहले धेरै हण्डर र ठक्कर खानुपरेको छ । पटक-पटक उनका सेना पराजित भएका छन् । लडाईंमा वीर योद्धाहरु गुमाउनु परेको छ । खजाना रित्तिएको छ । यी सबैका बाबजुत उनी पछि हटेनन् ।

नुवाकोटलाई अधिनमा लिएर पृथ्वीनारायण शाहको एकीकरण अभियान सुरु भएको थियो । काठमाडौंलाई कब्जामा लिन उनले धेरै पसिना बगाए । किर्तिपुरको लडाईमा धेरै पटक हार्ने र जित्ने भएको छ । त्यसै अवधिमा उनीमाथि सबैभन्दा ठूलो षडयन्त्र जयप्रकाश मल्लको पालामा भयो । मल्लले एकिकरण अभियान रोक्न अंग्रेज सेनाको सहयोग मागे । दुईपटक अंग्रेज सेना आयो पनि । तर, उनीहरु हार खाएर फर्किनुपर्‍यो । पहिलोपटक सिन्धुलीगढीमा र दोस्रोपटक चिसापानीगढीमा गोर्खाली सेनाले अंग्रेज सेनालाई हराएको गौरव हाम्रोसामु छ ।

पृथ्वीनारायण शाहको एकिकरण अभियानमा दुई सेनापतिको महत्वपूर्ण भूमिका छ । पारथ भण्डारी र रामकृष्ण पन्त । लमजुंगेको राजाले पृथ्वीनारायण शाहको अभियानलाई सहयोग गर्न आफ्ना सेनापति पारथ भण्डारी उनलाई दिएका थिए । उनीहरु पूर्वतिरको एकिकरण अभियानमा रहँदा देवीघाटमा पृथ्वीनारायण शाहको देहावसान भएको थियो । यहाँ महत्वपूर्ण के छ भने राजा मर्दाखेरी पनि एकीकरण अभियान प्रभावित भएन । रामकृष्ण र पारथले यसलाई निरन्तर अघि बढाए । पृथ्वीनारायण शाहका देहावसानपछि लमजुङसित लडाई गर्नुपर्‍यो । सो लडाईमा पारथ भण्डारी मारिए ।

एकीकरणको निरन्तरता

वि. सं. १८३१ मा पृथ्वीनारायण शाहको मृत्यूपछि सात वर्ष उनका जेठा छोरा प्रतापसिंह शाह राजा भए । उनको कालखण्ड छोटो रह्यो र त्यतिबेला एकीकरणमा थप उपलब्धी हासिल भएन । प्रतापसिंहको मृत्युपछि २ वर्षका रणबहादुर शाहलाई राजा बनाइयो र प्रतापसिंहकी पत्नी राज्लक्ष्मीले राज्यको नायबी लिइन् । उनले कान्छा देवर बहादुर शाहसित मिलेर एकीकरणलाई अगाडी बढाइन् । रणबहादुर शाह दुई वर्षका थिए । पृथ्वीनारायण शाहले १८०० सालबाट सुरु गरेको एकीकरण अभियान १८५६ सम्म गयो निरन्तर । त्यो बीचमा ५५ वटा साना ठूला राज्य नेपालको भूगोलभित्र आए । त्यहि एकिकरण अभियानको दौरानमा नेपालको सिमाना पूर्वमा भुटानको किनारसम्म र काँगडासम्म पुगेको हो । दक्षिणमा बिनाजपुर मेदीनीसम्म र उत्तरमा अहिलेको सिगात्सेसम्म हामी पुगेका थियौं ।

एकिकरणभन्दा पहिले नेपालको पश्चिममा मल्लहरुले शासन गर्थे, काठमाडौंमा पनि मल्लहरुकै राज्य थिए । मधेसमा मिथिला राज्य थियो । पूर्वमा किराँतहरु थिए । बीचमा ठकुरी खसहरुको राज्य थिए । मेरो विचारमा पृथ्वीनारायण शाहले राष्ट्र एकीकरणको अवधारणा अंग्रेजबाट सिकेको हुनुपर्छ । सन् १७१० मा भारत पसेका अंग्रेजहरुले त्यहाँका ६ सय ६२ राज्यहरु एकीकरण गर्न सफल भएका थिए । नेपालमा पनि उनीहरुको आँखा लागेको थियो ।

पृथ्वीनारायण शाहलाई लाग्यो होला, ‘सात समुद्रपारीबाट आएका अंग्रेजले भारत एकीकरण गर्न सक्छन् मैले किन नेपाल एकीकरण गर्न सक्दिन ।’ त्यसमाथि उनलाई त्राश पनि थियो, कुनै पनि बेला अंग्रेजले नेपाल पसेर भुरे टाकुरे राज्यहरुलाई आफ्नो अधिनमा पार्न सक्छन् । मलाई लाग्दैन कि पृथ्वीनारायण शाहले एकीकरण नभएको भए नेपाललाई त्यतिबेलै अंग्रेजले भारतमा गाभिसकेका हुन्थे । र, नेपाल भन्ने राष्ट्रको अस्तित्व नै नरहन सक्थ्यो ।

पराक्रम र चतुरताको मिश्रण

पृथ्वीनारायण शाह कुनै जातविशेषका विरोधी थिएनन् । उनको राज्यका सिंगै जनता एकीकरण अभियानमा सामेल थिए, चाहे जुनसुकै जातका किन नहुन् । यसमा पृथ्वीनारायण शाहले आफ्नो सौर्य र पराक्रमका साथसाथै विवेक र चतुरता पनि प्रयोग गरेका छन् । त्यतिबेला शक्तिशाली अवस्थामा रहेको मकवानपुरलाई जित्न नसक्ने महसुस गरेर उनले मकवानपुरका राजाकी छोरी विहे गरे ।

अर्ति भनेको घर्तिको पनि मान्नुपर्छ भन्ने उखान पृथ्वीनारायण शाहको हकमा ठ्याक्क लागू हुन्छ । एकीकरण अभियान सुरु गर्दा पृथ्वीनारायण शाह गद्दीमा बसेको दुई वर्ष मात्रै भएको थियो । त्यतिबेला उनको राज्य गोरखामा जम्माजम्मी १२ हजार घर थिए । एकीकरणका लागि लाग्ने खर्च राज्यसित थिएन । जोकोहि सित पनि अर्तिउपदेश लिन हिच्किचाउदैन थिए । चाहे जुनसुकै जातको होस, जुनसुकै उमेरको होस । यसै क्रममा उनी बिसे नगर्ची भन्ने दमैकहाँ पुगे । युद्ध लड्न कसरी खर्च जुटाउने त भन्दा उसले भित्र गएर एक मानो चामल र एक रुपैयाँ दाम बोकेर ल्यायो । उसले भन्यो, ‘यहि उपायले हुन्छ सरकार ।’ त्यसपछि पृथ्वीनारायणले घर-घरमा पुगेर १-१ रुपैयाँका दरले १२ हजार रुपैयाँ संकलन गरी कोष निर्माण गरेको बताइन्छ ।

अर्को एउटा घटना पनि छ, जहाँ पृथ्वीनारायण शाहले सर्वसाधारणसित रायसल्लाह लिएका छन् । काठमाडौंको लडाईमा पराजित भएर फर्किदा उनी एक बुढी आमाकहाँ बास बसेका थिए, आफू राजा हुँ भन्ने थाहा नदिइकन । बुढीआमाले उनलाई भुटेका मकै खुवाइन् । गफ गर्ने क्रममा उनले लडाईका प्रसंग झिके । त्यसपछि बुढी आमाले भनिन्, ‘लडाई भनेको माझबाट होइन छेउबाट सुरु गर्नुपर्छ । मेरो यो सन्देश राजाकहाँ पुर्‍याइदेउ है बाबु ।’

राज्यविस्तारमा केन्दि्रत रहनुपरेकाले राज्य सञ्चालनमा पृथ्वीनारायण शाहको योग्यता र क्षमता परिक्षण हुन पाएन । यद्यपि, राजनीति, कुटनीति र अर्थनीति तीनै पक्षमा उनी पारंगत थिए भन्ने पृथ्वीनारायण शाहको दिव्योपदेश पढ्दा थाहा हुन्छ । लडाईकै कालखण्डमा राति सुत्ने बेलामा उनले सैनिकहरुसित व्यक्त गरेका धारणाहरुको संक्षेपिकरण आज हामीले दिव्योपदेशका रुपमा पढ्न पाएका छौं । उनले त्यतिबेलै भनेका हुन् दक्षिणको छिमेकी महाचतुर छ, उसित सतर्क रहनु । उत्तरको छिमेकीको भर पर्नु पनि भनेका छन् । नेपाललाई दुई ढुंगाबीचको तरुलको संज्ञा दिएका छन् । यी कुराहरु आजपर्यन्त सान्दर्भिक छन् । घुस दिने र खाने दुवै देशका सत्रु हुन् भन्ने भनाईमा उनको भ्रष्टाचारविरोधी छवी झल्किन्छ । यस्तै गरी स्वदेशी उद्योगलाई प्रोत्साहन दिनुपर्ने र विदेशी महाजनलाई घरभित्र पस्न दिन नहुने कुरा गरेका छन् ।

खलनायक बनाउने क्रिस्चियन मिसन

नेपालमा गणतन्त्र आएपछि पृथ्वीनारायण शाहको छवी धुमिल बनाउने प्रयास हुँदै आएको छ । उनीविरुद्ध विभिन्न भ्रम सिर्जना गरेर एउटा जातीय समुहलाई उचाल्ने कामहरु पनि भइरहेका छन् । गिरिजाप्रसाले २०६३ सालमा एकता दिवस खारेज गर्दै पुस २७ गते सार्वजनिक विदाको प्रचलन तोडे । गिरिजाप्रसाद कोइरालाका अनगिन्ती अराष्ट्रिय कर्तुतहरुमध्येको यो एउटा हो ।
पृथ्वीनारायण शाहको चरित्र हत्या गर्ने मूल मिसन भनेको पश्चिमाहरुको हो । यो क्रिस्चियन मिसन हो । जो-जो यतिबेला पृथ्वीनारायण शाहलाई दुत्कारिरहेका छन्, उनीहरु क्रिस्चियन मिसनका सारथीहरु हुन् । क्रिस्चियनहरुले पृथ्वीनारायण शाहलाई बदनाम तुल्याउन खोज्नुको ऐतिहासिक कारण छ ।

पृथ्वीनारायण शाह आउनुअघि नै नेपालमा यहुदी भित्रिसकेका थिए । उनीहरुमार्फत नै नेपालमा अंग्रेजहरुलाई भित्र्याउन खोजीएको थियो । पृथ्वीनारायणले यसलाई रोके । त्यसपछि काठमाडौंमा उनका बारेमा अनेक किसिमका अफवाहहरु फैलाउन थालियो ।

काठमाडौंलाई अधिनमा लिएपछि पृथ्वीनारायणले यस्ता अफवाहको स्रोत खोजी गरे । अनुसन्धान गर्दै जाँदा दुई पादरीहरु यस काममा संलग्न भेटिए । ती दुई पादरी र तीनका शिष्य गरी ४४ जना मान्छेलाई पृथ्वीनारायण शाहले तत्कालै देशनिकाला गरेका थिए ।

उतिबेला पृथ्वीनारायणले गरेको यो बेइज्यतीले क्रिश्चियनहरुलाई अहिलेसम्म पोलिरहेको छ । पृथ्वीनारायणले किर्तिपुरवासीको नाक काटेको कहावत फैलाउने पश्चिमाहरु नै हुन् । यसको ठोस प्रमाण उनीहरुसित छैन । आज एउटा जातीय समुहका बुद्धिजिवीहरु यहि मिथकलाई पृथ्वीनारायण शाहको तेजोवथ गर्ने प्रयासमा छन्, जून दुर्भाग्यपूर्ण कुरा हो ।

इतिहासमा गौरव गरौं

हरेक देशले आफ्नो इतिहासमा गर्व गर्छन् । इतिहासका निर्माणकर्तालाई सम्मान गर्छन् र खास दिनमा सम्झना गर्छन् । लेनिनले पनि रुसको एकीकरण गर्ने जारको सम्मान गरे । चिनियाँले तावरको सम्मान गर्छन् जसले चिनियाँ संस्कृतिको निर्माण गरे । हामीले चाहिँ किन पृथ्वीनारायणप्रति सम्मान गर्न हिच्किचाउने ?

म एक कम्युनिस्ट हुँ । कम्युनिष्टले राजा मान्दैनन् । तर, म निरन्तर भनिरहेको छु, पृथ्वीनारायण शाहको जन्मदिवस मनाउनुपर्छ । एउटा राजाका रुपमा होइन, नेपाल एकीकरणका योद्धाको रुपमा म उनलाई सम्मान गर्छु । मेरो प्रस्ताव छ यदी उनको जन्मदिनलाई एकता दिवस मान्न सकिदैन भने मंसिर १ लाई मानियोस्, जुन दिनबाट एकीकरण अभियान प्रारम्भ भएको थियो । यहाँ कुनै जातिविशेषले मान्ने एउटै नामको चाडका निम्ति ४-५ पटक सार्वजनिक विदा दिइन्छ । तर, राष्ट्र एकिकरणको नाममा एक दिन विदा दिन कन्जुस्याई गरिन्छ ।

पृथ्वीनारायण शाहले गर्दा नै आज हामी यो गौरव गर्न पाइरहेका छौं कि हामी कहिल्यै विदेशीको गूलाम भएनौं । हाम्रा छिमेकी भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, भुटान सबै कुनै समय अंग्रेजका गुलाम थिए । तर, हाम्रा पुर्खाले आफ्नो रगत बगाएर नेपालको स्वाधिनता जोगाइराखे । यो पृथ्वीनारायण शाहकै प्रेरणाले सम्भव भएको हो । उनले एकीकरण नगरेका हुन्थे भने नेपाल भन्ने देशको अस्तित्व इतिहासमै सिमित हुन्थ्यो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार