सिरहा : तीन दिनदेखि बेपत्ता सिरहा कर्जन्हा नगरपालिका–२ बन्दिपुरका एक बालकको घाँटी काटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ । स्थानीय कुसुमलाल यादवका १३ वर्षीय छोरा भबेश यादवको हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।
इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेन्द्र उपाध्यायका अनुसार भबेश कात्तिक ३ गतेदेखि वेपत्ता थिए । दिनभर खोज्दा पनि नभेटेपछि अभिभावकले कात्तिक ४ गते प्रहरी चौकी बन्दिपुरमा खबर गरेका थिए । प्रहरीले खोज्दै जाने क्रममा आइतबार साँझ बन्दिपुुरस्थित कला नदीको बाँधभन्दा पश्चिमको नर्सरीमा वेपत्ता भवेश शरीर फेला पार्यो । उनको टाउको भने प्रहरीले सोमबार बिहान फेला पार्यो ।
भबेश बन्दिपुरस्थित अक्सफोर्ड स्कूलको कक्षा ४ मा पढ्थे । उनका बाबु कुसुमलाल किसान हुन् भने उनका दाइ तीन महिना अगाडी मात्र वैदेशिक रोजगारबाट घर आएका छन् । अबोध भबेशबको हत्या कसले र किन गर्यो भन्ने विषयमा केही खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरी निरीक्षक उपाध्याय जनाएका छन् ।