जिल्ला प्रशासन कार्यालय दाङले आजबाट देउसी भैलो खेल्न प्रतिवन्ध लगाएको छ । देउसी भैलो कार्यक्रममा खुकुरी हानाहान भएर एक ब्यक्तिको मृत्यु भएपछि प्रशासनले देउसी भैलो खेल्न रोक लगाएको हो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ साजखुट्टीमा भैलो खेल्ने क्रममा दुई पक्षबीच झडप भएको थियो । झडपमा चक्कु प्रहार हुँदा एक जनाको मृत्यु भएको थियो ।दाङ जिल्लाका कतिपय स्थानमा तिहारको भाइटीकाभन्दा दुई दिन पछिसम्म पनि देउसी भैलो खेल्ने प्रचलन छ ।
उच्छृङ्खल गतिविधि हुन थालेपछि जिल्ला प्रशासन कार्यालयले आजबाट देउसी भैलो खेल्न प्रतिवन्ध लगाएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।
‘रमाइलोको नाममा विकृति बढेको ब्यापक गुनासो आयो, भैलो खेल्ने क्रममा विवाद हुँदा मान्छे मारिए,’ प्रजिअ श्रेष्ठले भने, ‘त्यसैले आजबाट भैलो खेल्न प्रतिवन्ध लगाएका छौं ।’
जिल्ला प्रशासन कार्यालयको आदेश अनुसार अहिले देउखुरी क्षेत्रसहित दाङ जिल्लाभर प्रहरी व्यापक परिचालन गरिएको छ ।