काठमाडौँ । वर्षको एकदिनमात्र खुला रहने काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दीरमा ठूलो घुइचो छ । आफना दाजुभाइ तथा दिदीबहिनी नहुनेहरुले काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा गएर टीका लगाउने भएकाले साईतमा टीका लगाउन मन्दिर परिसरमा भीड लागेको हो ।
बालगोपालश्वर महादेवको मन्दिर सर्वसाधारणका लागि वर्षमा एकपटक भाइटीकाको दिन मात्रै खुल्ला गरिन्छ । आज भाइटीकाको दिन बालगोपालेश्वरमा गएर टीका लगाउनेहरुको चहलपहल देख्न सकिन्छ । २०७२ वैशाख १२ गतेको भूकम्पले मन्दिर क्षतिग्रस्त भएकाले मन्दिर बाहिर तस्वीर राखेर पूजा एवम् दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।
यस दिन यमलेश्वर नाम रहने धार्मिक विशेषताले भरिपूर्ण बालगोपालेश्वरको पुनर्निर्माण अझै पुरा हुन सकेको छैन । यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी नहुने दाजुभाइले पूजा एवम् दर्शन गरी टीका लगाउने प्रचलन रहेका छ । अहिले पनि खञ्जनेश्वरमा भाइटीकाका दिन भक्तजनको भीड लाग्ने गर्दछ । २०३५ पछि नियमित रुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो ।