एनआरएनए अध्यक्षमा भवन भट्ट बिजयी – अन्य को -कोले जिते ? (सम्पूर्ण नामावली सहित )

काठमाडौँ, ३१ असोज । गैरआवासीय नेपाली संघ (एनआरएन)को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् ।अध्यक्षकी प्रत्यासी जमुना गुरुङलाई हराउँदै भट्ट विजयी भएका हुन् । नेपालको गोरखा जिल्लामा जन्मिएका भट्ट जापानका सफल व्यवसायी हुन् । उनको दुई सय भन्दा बढी रेष्टुरेण्टमा लगानी रहेको बताइएको छ । अध्यक्षमा पराजित गुरुङ निवर्तमान अध्यक्ष शेष घलेकी पत्नी हुन् । यसअघि एनआरएन आइसीसी सदस्य रहेकी उनी पनि अष्ट्रेलियाको धनी महिलाको सूचीमा पर्छिन् ।

उपाध्यक्ष खुल्लातर्फ जर्मनीका कुमार पन्त र यूकेका कुल आचार्य विजयी भएका छन् । पन्त यसअघि पनि उपाध्यक्ष थिए भने आचार्य युरोप संयोजकबाट सिधै उपाध्यक्ष बनेका हुन् । यसैगरी, महिला उपाध्यक्षमा रसिया निवासी शपिला राजभण्डारी विजयी भएकी छिन् ।महासचिवमा रसियाका डा. बद्री केसी पुनः निर्वाचित भएका छन् । डा. केसीको महासचिवमा यो दोस्रो कार्यकाल हो ।सचिवमा ओमनका डीबी क्षेत्री र बेल्जियमकी जानकी गुरुङ विजयी भए । यसैगरी, कोषाध्यक्षमा हिक्मत थापा पुनः विजयी भएका छन् । सहकोषाध्यक्षमा सोमनाथ सापकोटा विजयी भएका छन् ।युवा संयोजकमा जापानका सुदन थापा विजयी भएका छन् । महिला संयोजकमा बेल्जियमकी रजनी प्रधान विजयी भएकी छिन् ।

यसैगरी, युरोप क्षेत्रीय संयोजकमा ६ जना उम्मेदवारमध्ये बेल्जियमका शिव बरुवाल विजयी भएका छन् । युरोप क्षेत्रीय उपसंयोजकमा गोविन्द गौतम र एकराज गिरी निर्वाचित भएका छन् । युरोप क्षेत्रीय महिला संयोजकमा बेलायतकी संगीता मरहठ्ठा विजयी भएकी छिन् ।

अमेरिका क्षेत्रीय संयोजकमा अमेरिकाका गौरीराज जोशी विजयी भएका छन् । अमेरिका क्षेत्रीय उपसंयोजकमा अमेरिकाकै नवीन शेरचन विजयी भएका छन् । यसैगरी, क्षेत्रीय महिला उपसंयोजकमा अमेरिकाकी संगीता लम्साल शिवाकोटी निर्विरोध निर्वाचित भएकी छिन् ।ओशिनिया क्षेत्रीय संयोजकमा अष्ट्रेलियाका धर्मराज अधिकारी विजयी भएका छन् । ओशिनिया क्षेत्रीय महिला उपसंयोजक प्रिती शर्मा विजयी भएकी छिन् ।मध्यपूर्व क्षेत्रीय संयोजकमा कतारका आरके शर्मा विजयी भएका छन् । मध्यपूर्व उपक्षेत्रीय उपसंयोजकमा गोपाल कँडेल र प्रवीण गुरुङ विजयी भएका छन् । क्षेत्रीय उपसंयोजक युवा राजकुमार बस्नेत विजयी भएका छन् ।एशिया प्रशान्त क्षेत्रीय संयोजकमा किरणविक्रम थापा विजयी भएका छन् । एशिया प्रशान्त क्षेत्रीय उपसंयोजकमा पारसमणि पोखरेल र विनोद कुँबर विजयी भएका छन् । यसैगरी, एशिया प्रशान्त क्षेत्रीय महिला उपसंयोजकमा दक्षिण कोरियाकी जुनु गुरुङ विजयी भएकी छिन् ।

अफ्रिकाको क्षेत्रीय संयोजकमा सुनिल कार्की निर्वाचित भएका छन् । उपसंयोजकमा डा भुवन ढकाल र शिव पौडेल निर्वाचित भएका छन् ।१८ सय ५४ मतमध्ये १७ सय ४४ मत खसेको थियो । विजयी हुनेमा अधिकांश भवन भट्ट समूहका छन् । जमुना गुरुङ समूहले पदाधिकारीमा एकजना सचिव बाहेक अरु जित्न सकेन । क्षेत्रीय संयोजक र उपसंयोजकमा विजयी हुने पनि भट्ट समूहकै हुन् ।

को हुन् भवन ?

अध्ययनका लागि २० वर्षअघि जापान पुगेका गोरखाका भवन भट्ट अहिले जापानमा सफल व्यवसायीका रुपमा स्थापित भएका हुनुहुन्छ । भट्टले अहिले जापानमा मात्रै २९० होटल तथा रेस्टुराँ सञ्चालन गरिरहनुभएको छ । रेस्टुराँमा अहिले पाँच हजार जापानी र २५० नेपालीले रोजगारी पाएका छन् । सन् १९९७ मा २१ वर्षको उमेरमा टोखाइ विश्वविद्यालयमा अध्ययनका लागि उहाँ जापान जानुभएको थियो । ती होटल तथा रेस्टुराँबाट वार्षिक रु ३२ अर्बको हाराहारीमा कारोबार हुने गरेको छ । यस्तै उहाले नेपालमा पनि टिबिआइ समूहको अध्यक्षका रुपमा सञ्चार, शिक्षा, पर्यटन, पूर्वाधार लगायतका क्षेत्रमा करिब रु दुई अर्ब लगानी गर्नुभएको छ भने हालै नेपाल एयरलायन्सको विमान खरिद गरेर बीबी एयरवेजमार्फत काठमाडौं दिल्ली उडान भर्ने तयारी भइरहेको छ ।

‘कारोबार’ दैनिक, युनाइटेड बु्रअरी, बिबी एअरवेज, धुलिखेल माउण्ट रिसोर्ट, कलेज, काठमाडौँ–हेटौँडा सुरुङमार्गलगायत २३ वटा नेपाली संस्थामा उहाको लगानी छ । सन् २००३ मा सम्पन्न भएको एनआरएनको पहिलो विश्व सम्मेलनदेखि नै यो संस्थामा सक्रिय भट्ट २००३–०४ मा जापान एनआरएनको तदर्थ समितिका सदस्यका रुपमा काम गर्नुभयो । एनआरएन जापानको अध्यक्ष, एनआरएनको आईसीसीको कोषाध्यक्ष र उपाध्यक्षको दोस्रो कार्यकालपछि भट्ट अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

 

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार