अमेरीका (क्यालिफोर्निया)- अमेरीका क्यालिफोर्नियाको स्यान्टा रोजा शहर संगै त्यस वरपर फैलिएको भिषण डढेलोबाट प्रभावित नेपालीहरुले आफुहरुलाई नेपालीका लागी भनेर स्थापना गरिएका संघ संस्था संगै सरकारी निकायले बेवास्ता गरेको गुनासो गरेका छन् ।
डढेलो प्रभावित क्षेत्रमा ५ देखी ७ हजार नेपालीहरु र उनीहरुका दर्जनौं व्यवसाय संचालनमा रहेपनि एक सातादेखीको डढेलोका कारण प्रभावित नेपालीहरुलाई आधिकारीक निकायबाट सहानुभुती सम्म पनि व्यक्त नगरेकोमा उनीहरुको गुनासो छ ।
व्यक्तिगत रुपमा फोन मार्फत साथी भाइहरुको सहानुभुती व्यक्त भएको छ डढेलो प्रभावित क्षेत्रमा व्यवसाय गर्दै आएका नारायण सोम्नामेले गुनासो पोख्नुभयो- “नेपाली राजदुतावास, गैर आवासीय नेपाली संघ लगायत नेपालीहरुका लागी भनेर स्थापीत आधिकारिक कुनै निकायबाट एउटा सहानुभुती सहितको बिज्ञप्ती पनि आएन् ।”
डढेलो प्रभावित क्षेत्रको स्थानीय सरकार संगै अन्य निकायबाट उद्धार तथा राहतको काम जारी रहेपनि नेपालीहरुका लागी नेपाली संघ संस्थाबाट कुनै किसिमको सहानुभुती व्यक्त नहुंदा प्रभावित नेपालीहरुले दुख व्यक्त गरेको सोम्नामेले बताउनुभयो ।
डढेलो प्रभावित नेपालीहरु अहिले पनि स्थानीय सरकारले बनाएको शिबिरमा बसिरहेको तथा व्यवसाय समेत बन्द रहेको सोम्नामेले बताउनुभयो ।
हाम्रा व्यवसाय साता देखी बन्द छन् हामीलाई सबै सहयोग स्थानीय सरकारबाट भइरहेको छ उहांले थप्नुभयो- “डढेलोको समाचार अन्र्तराष्ट्रियस्तरको भइरहेपनि नेपालीहरुको आधिकारीक निकायको एउटा पनि सहानुभुति प्रकट भएन उद्धार र राहतको त कुरै छाडौं ।”
एक साता देखी फैलिएको डढेलोको कारण कम्तिमा पनि ४० जनाको मृत्यु भएको छ भने सयौं बेपत्ता छन् । डढेलो प्रभावित क्षेत्रमा हजारौं नेपालीहरु बसोबास गर्ने भएपनि अहिले सम्म कोही पनि हताहत नभएको बताइएको छ ।
यसैबिच प्रवासमा नेपालीहरुको आधिकारीक संस्था गैर आवासीय नेपाली संघ अमेरिकाकी कार्यबाहक अध्यक्ष एवम क्यालिफोर्निया निवासी उमा कार्की थापा संग डढेलो प्रभावित क्षेत्रका नेपालीहरुको गुनासो बारेमा गैर आवासिय नेपाली संघको प्रतिक्रिया लिने प्रयास सफल हुन सकेन् ।
यता क्यालिफोर्नियाका गभर्नरले “यो राज्यले बेहोरिरहेको ठूलो दुखान्तमध्ये एक हो” भनेका छन्। स्यान्टा रोजा शहरको वाइन उत्पादन क्षेत्र पनि नराम्ररी प्रभावित क्षेत्रमा पर्छ जहाँबाट शनिबार ३,००० मानिसहरुलाई अन्यत्र लगिएको थियो। उक्त शहर भ्रमणक्रममा गभर्नर जेरी ब्राउनले भने, “अविश्वसनीय विनाश भएको छ।”
दश हजारभन्दा बढी अग्नि नियन्त्रकहरुले बाँकी १६ वटा स्थलमा आगो निभाउने प्रयत्न गरिरहेका छन्। ७० किलोमिटर प्रतिघण्टा गतिमा चलिरहेको हावाले आगो फैलिन झन् मद्दत पुर्याएको छ।
इतिहासमै यो राज्यमा यति घातक आगलागी भएको यो पहिलोपटक भएको बताइएको छ। एक लाखभन्दा बढी मानिसहरु विस्थापित भएका छन् र ठूलो छरछिमेक खरानीमा परिणत भएको छ। ठूलो आगलागीले ५० माइल टाढा रहेको स्यान फ्र्यान्सिस्को शहरसम्म धुवाँ पुर्याइदिएको छ।
कम्तीमा नापा उपत्यका १३ वटा रक्सी उद्योगहरु ध्वस्त भएका छन्। दशौं लाख डलर मूल्यको वाइन पनि ध्वस्त भएको व्यापारीहरुले बताएका छन्।