एजेन्सी। अमेरिकाका विशेषज्ञहरुले उत्तर कोरियाले एकै झट्कामा ९० प्रतिशत अमेरिकीहरुलाई मार्न सक्ने अनुमान गरेका छन् । यो प्रक्षेपणपछि उत्तर कोरियाका नेता किम जोङ उनको डरले अहिले पूरै अमेरिका त्रसित छ । अमेरिकी सदनमा यसबारे भएको छलफलमा ९० प्रतिशत अमेरिकी नागरिक मारिन सक्ने चेतावनी दिइएको छ ।
अमेरिकी विशेषज्ञका अनुसार उत्तर कोरियाले अमेरिकाको इलेक्ट्रोनिक पावर ग्रिडलाई बर्बाद पार्न सक्छ । जसका कारण पूरै अमेरिका अँध्यारोमा डुब्नेछ । अमेरिकी कंग्रेसमा सुनुवाइको क्रममा विशेषज्ञहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पेन्टागन (अमेरिकी रक्षा मन्त्रालय)सँग देशको इलेक्ट्रोनिक पावर ग्रिडको सुरक्षाको लागि छिटो कदम उठाउन आग्रह गरेका छन् । उनीहरुका अनुसार उत्तर कोरिया अमेरिकाको लागि लगातार खतरा बनिरहेको छ र यसलाई तत्काल नरोक्ने हो भने भीषण विनाश मच्चिनेछ ।
उत्तर कोरियाले पटक पटक अमेरिकालाई बर्बाद गर्ने धम्की दिइसकेको छ । उसले प्रस्ट भनेको छ यदि अमेरिकाले आफूलाई उक्सायो भने परमाणु हमला गर्न सक्नेछ । उत्तर कोरियाले हालै गरेको मिसाइल परीक्षण इएमपी (इलेक्ट्रोम्याग्नेटिक पल्स) क्षमता बढाउनको लागि गरिएको आशंका गरिएको छ । विशेषज्ञहरुका अनुसार उत्तर कोरियासँग अमेरिकासम्म आक्रमण गर्न सक्ने क्षमताका मिसाइलहरु छन् । उसले खुल्ला रुपमा यसको घोषणा पनि गरेको छ ।
इएमपी हतियारको प्रयोग दुश्मनको संचार उपकरणलाई ध्वस्त पार्नको लागि गर्ने गरिन्छ । यदि उत्तर कोरियाले मिसाइल वा स्याटेलाइटको माध्यमबाट अमेरिकामा इएमपी आक्रमण गरिदियो भने अमेरिकाको इलेक्ट्रोनिक ग्रिड पूरै बर्बाद हुनेछ । आज अमेरिका पूर्ण रुपमा साइबर प्रविधिमा निर्भर छ । उत्तर कोरियाको यो कदमले अमेरिका पूर्ण रुपमा पंगु हुनेछ । हालै अमेरिकाको होमल्याण्ड सेक्युरिटी र इएमपी टास्क फोर्सका कार्यकारी निर्देशक पीटर विनसेंट प्राइले उत्तर कोरिया आफ्ना स्याटेलाइटलाई न्यूक्लियर हतियारमा रुपान्तरण गर्ने कोसिसमा रहेको बताएका थिए । उल्लेख्य कुरा के भने उत्तर कोरियाका स्याटेलाइट अमेरिकाको आकाशमा घुम्दैछन् ।
यदि अहिले अमेरिकाको संचार प्रणाली ध्वस्त भयो भने सम्पूर्ण अमेरिकाको राज्य संयन्त्र नै धरापमा पर्नेछ । जसका कारण अत्याधिक आवादी भएको देश अमेरिका पूरै अस्तव्यस्त हुनेछ । प्रविधिको भरमा चलिरहेको अमेरिकाको राज्य प्रणाली एकाएक बिग्रिँदा यहाँ ढुंगेयुगको झल्को दिन अवस्था आउन सक्ने विशेषज्ञको चेतावनी छ । संचार प्रणाली र विद्युतीय प्रणाली ध्वस्त हुनासाथ यसको लत बसिसकेका अमेरिकी नागरिकको जीवन यतिसम्म कष्टकर हुनेछ कि यहाँका नागरिक विभिन्न घटना, दुर्घटनामा परेर निरन्तर मारिनेछन् ।